ट्रम्पको कानूनी टिमः महाअभियोग प्रजातन्त्रमाथिको ‘खतरनाक आक्रमण’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कानूनी समूहले ट्रम्पमाथि लागेको महाअभियोगमा आफ्नो पहिलो औपचारिक प्रक्रिया दिएको छ र भनेको छ कि महाअभियोग ‘प्रजातन्त्रमाथिको खतरनाक आक्रमण’ हो ।
राष्ट्रपति ट्रम्पको कानूनी समूहले जारी गरेको ६ पृष्ठ लामो वक्तव्यमा महाअभियोग पत्रमा आरोप लगाइएका कुनै पनि अपराध पुष्टि गर्ने आधार नरहेको र महाअभियोग सन् २०२० को चुनावमा दखल गर्ने ‘निर्लज्ज’ प्रयास मात्रै रहेको उल्लेख छ ।
डेमोक्र्याटले महाअभियोग पत्रलाई सिनेटमा अघि बढाउने सम्बन्धमा आफ्नो तर्फबाट संक्षिप्त विवरण पेश गरेपछि त्यसको जवाफ स्वरुप ट्रम्पको कानूनी टिमको प्रतिक्रिया आएको हो ।
सिनेटमा महाअभियोगमाथि हुने बहस आउँदो हप्तादेखि सुरु हुनेछ । बहसको सुरुवाति सम्बोधनको क्रम आउँदो हप्ता नै सुरु हुनेछ ।
अमेरिकाको इतिहासमा महाअभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् । उनीमाथि शक्तिको दुरुपयोग र संसदको कार्यमा अवरोध गरेको आरोप छ ।
विपक्षी डेमोक्र्याटको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले गएको डिसेम्बरमा ट्रम्ममाथि औपचारिक रुपमा महाअभियोग लगाएको थियो । माथिल्लो सदनमा गएको महाअभियोगमाथि अब बहस सुरु हुँदैछ ।
सभामुख न्यान्सी पेलोसीले त्यसका लागि सातजना व्यवस्थापकको समूह बनाएकी छन् । सिनेटमा रिपब्लिकनको बहुमत छ र अब सिनेटमा हुने बहसले ट्रम्पलाई दोषी ठहर गरेर बर्खास्त गर्ने या नगर्ने भन्ने बारे निर्णय गर्ने छ ।
डेमोक्र्याटले शनिबार ट्रम्पलाई किन बर्खास्त गरिनु पर्छ भन्ने तर्कसहितको ब्रिफिङ्ग पेश गरेका छन् । त्यसको जवाफमा ट्रम्पको कानूनी टिमले महाअभियोग प्रस्ताव आफ्नो राष्ट्रपति स्वतन्त्र रुपमा चुन्न पाउने अमेरिकी नागरिकको अधिकारमाथिको गम्भीर र खतरनाक आक्रमण रहेको आरोप लगाएको हो ।