निर्भयाः नाबालिग दोषीको नाम पनि लिन चाहन्नन् गाउँले, आमाले भनिन्, ‘उसका लागि मेरो घरमा ठाउँ छैन’

फाइल तस्बिर

निर्भया बलात्कार घटनाका चार दोषीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको छ । तर उनीहरुसँगै यो दुष्कर्ममा संलग्न नाबालिग दोषी तीन वर्षको सजाय काटेर रिहा भइसकेका छन् ।

उनी डिसेम्बर २०१५ मा बाल सुधार गृहबाट निस्केपछि आफ्नो गाउँमा पुगेका छैनन् । परिवारले पनि उनलाई कुनै सम्पर्क गर्ने प्रयास गरेका छैनन् । बदायूं जिल्ला मुख्यालयबाट करिब ५४ किलोमिटरको दूरीमा ती नाबालिगको गाउँ छ ।

बिहानको झण्डै ११ बजिरहेको छ । बदायूं–सम्भल हाईवेको दुवैतिर तोरी फूलेको छ । गाउँमा प्रवेश गर्ने बित्तिकै मन्दिर देखिन्छ । दाहिनेतिर प्राइमरी स्कूलबाट बालबालिकाले पढिरहेको आवाज सुनिन्छ । मन्दिरको बाहिर केही मानिसहरु उभिएका छन् ।

हामीले उनीहरुसँग निर्भयाका नाबालिग दोषीका बारेमा कुरा गर्ने प्रयास गर्दा सबैको अनुहारको भाव बदलियो । केही त मुख बिगारेर त्यहाँबाट हिँडे । भिडमा रहेका एक व्यक्तिले भने, ‘हामीलाई समाजमा उसका कारण मुख छोपेर हिँड्नुपरेको छ, हामी उसको नाम लिन पनि चाहदैनौँ।’

गाउँका एक व्यक्तिलाई हामीले निर्भयाका नाबालिग दोषीको घरको ठेगाना सोध्यौँ तर उनी रिसाए । हामीले आफ्नो परिचय दिएपछि उनले ठेगाना बताए । मन्दिरबाट पश्चिम दिशातर्फ रहेको उसको गाउँमा जाँदा त्यहाँको स्थिति ठिक थियो । पक्की सडक र नाली थिए । यही बाटो हुँदै हामी अगाडिपट्टी एक कच्ची घरमा पुग्यौँ । त्यसभन्दा अगाडि घरहरु थिएनन् । घरको बाहिर दोषीकी आमा बसिरहेकी थिइन् ।

रुन थालिन् हामा

हामीले नाबालिग दोषीका बारेमा चर्चा सुरु गर्ने बित्तिकै उकी आमा मुख छोपेर रुन थालिन् । रुँदै उनले भनिन् ‘ उहाँ (पति) मानसिक रूपले कमजोर हुनुहुन्छ । केही काम गर्न सक्नुहुन्न । म कहिले कसैको खेतमा काम गर्छु भने कहिले कसैका जनावरको हेरचाह गर्छु । यही काम गरेर आएको पैसाले घरखर्च चलाइरहेकी छु ।’

छोराको बारेमा सोधिएको प्रश्नमा उनले भनिन् ‘उसलाई (नाबालिग दोषी) कमाएर घर खर्च जुटाओस् भनेर दिल्ली पठाएका थियौँ तर गलत संगतमा लागेर उसले यस्तो दुष्कर्म गरेछ, हामी कसैको अगाडि मुख देखाउन लायक रहेनौँ ।’

छुटेपछि छोरालाई साथमा नराखेकोबारे उनले भनिन्, ‘उसले जे गरेको छ त्यसपछि मेरो घरमा उसका लागि कुनै ठाउँ छैन ।’

दोषीकी आमाले अगाडि भनिन्, ‘कुनै पनि व्यक्ति बाहिरबाट आएमा छोराका बारेमा मात्रै सोध्छन् । बाहिरका मान्छे गाउँमा आएमा गाउँका मान्छेहरु पनि रिसाउछन् । हाम्रो र गाउँको बेइज्जत हुन्छ । तर गाउँमा मान्छेहरुले मलाई सहयोग पनि गरेका छन् । म उनीहरुकै खेतमा काम गरेर पेट पालिरहेकी छु । ’

बदायूंका पत्रकार चितरंजन सिंहले तयार पारेको सामग्री भारतीय पत्रिका दैनिक भाष्करबाट साभार गरिएको हो ।

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू