छोपाखोर लेकमा रहेको टावरमा खराबी, हुम्ला सञ्चार सम्पर्कबिहीन

सिमकोट – सिमकोट गाउँपालिका छोपाखोर (किरिने) लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएपछि तीन दिनदेखि हुम्ला जिल्ला सञ्चार सम्पर्क बिहीन भएको छ । हिमपातका कारण उक्त लेकमा रहेको टावरमा खराबी आएको हो ।

शुक्रबार दिउँसोदेखि हुम्लामा सिडिएमए र जिएसएम मोबाइल सेवा र वर्ल्डलिंकको इन्टरनेट सेवा अबरुद्ध भएको छ । नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका इन्जिनियर सुशिम पोखरेलले समस्या अझै समाधान नभएको बताएका छन् ।

हुम्लाको मौसमका बारेमा कुनै जानकारी नआएको र नेपालगञ्जबाट मेशिनसहितको टोली टावर भएको स्थानमा गएर मर्मत नगर्दासम्म सञ्चार सेवा सुचारु नहुने उनले बताए ।

मंगलबारसम्म मेशिन लिएर टोली हुम्ला जाने तयारी भैरहेको छ । तर मौसम कस्तो रहने हो त्यसमा भर पर्ने उनले बताए ।

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्