केदारनाथ प्रमुखद्वारा नेपालका विभिन्न तीर्थ भ्रमण, पूर्वराजासँग भेटघाट

केदारनाथका जगतगुरु भीमाशंकरलिंगले पूर्व राजालाई चन्दन लगाइदिँदै।

काठमाडौँ– हिन्दुहरुको पवित्र तिर्थ केदारनाथका जगतगुरु भीमाशंकर लिंगले नेपाल हिन्दु राष्ट्र नै रहेको तथ्यलाई कसैले नकार्न नमिल्ने बताएका छन्।

माघे संक्रान्तिको अवसर पारेर नेपाल आएका भीमाशंकरले आफ्नो चारदिनको नेपाल यात्रामा पशुपतिनाथ र केदारनाथको शीर मानिने डोलेश्वर महादेव मन्दिरमा पूजा अर्चना, देवघाट र कालीगण्डकीमा स्नानसँगै पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका थिए।

शंकराचार्य परम्परामा उच्च हैसियत तथा प्रभाव राख्ने भीमाशंकरको यो यात्रा र अभिव्यक्तिलाई नेपाललाई पुनः हिन्दुराष्ट्रको हैसियत औपचारिक रुपमा दिलाउने अभियानको संकेतका रुपमा हेरिएको छ।

पुस २९ मा डोलेश्वर महादेवमा पूजा अर्चना र त्यही राति निर्मल निवासमा पूर्वराजासँगको भेटघाट र माघे संक्रान्तिको बिहान पशपतिमा विशेष पूजा गरी भीमाशंकर देवघाट प्रस्थान गरेका थिए।

नवलपरासीस्थित मध्यविन्दुका करिब ५ हजार आदिबासिलाई रुद्राक्षको माला लगाइदिएर विदेशीहरुद्वारा भइरहेको धर्म परिवर्तन अभियानलाई प्रतिकार तथा अस्वीकार गर्न उनले आग्रह गरेका थिए। साथै उनले त्यहाँ संस्कृत महाविद्यालय खोली सबै जातजातीका व्यक्तिहरुका लागि ज्ञानको श्रोतमा पहुँच सुनिश्चित गर्न आफू सक्रिय रहेको बताएका थिए।

चार दिनको भ्रमणपछि भीमाशंकर शनिबार गोरखपुरस्थित गोरखनाथ मठ पुगेका थिए। जहाँ मठका प्रमुख महन्थ तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उनको स्वागत गरेका थिए।

निर्मल निवासमा भीमाशंकर तथा पूर्वराजाबीच के वार्ता भयो त्यसबारे पूर्वराजा सचिवालयले केही भन्न चाहेन। तर भीमाशंकरले उनलाई हिन्दु राष्ट्र प्रमुखका रुपमा केदारनाथको प्रसाद र आशीर्वाद दिएको स्रोतले बतायो।

त्यस्तै नेपाल र भारतबीचको साँस्कृतिक, धार्मिक र ऐतिहासिक सम्बन्धलाई प्रगाढ बनाउनु पर्ने धारणा पनि भीमाशंकरले राखेको बुझिएको छ।

‘दुवै देशबीच अटुट सम्बन्ध छ, दुबै एउटै संस्कृतिको मालामा बाँधिका छन् नेपाल अहिले पनि हिन्दु राष्ट्र नै हो’, निर्मल निवासमा उनले दिएकाे अभिव्यक्तिबारे जानकारी दिँदै स्रोतले देश सञ्चारलाई भन्यो।

केही भारतीय सञ्चारमाध्यमले यो भेटघाटलाई अत्यन्त महत्व दिएका छन्। केदारनाथ प्रमुखले नेपालको राज संस्थाको प्रतिनिधि भेटेको यो पहिलो अवसर हो।

उनले आफ्नो यात्राका क्रममा भारतको बम्बेस्थित परमहंस स्वामी अडगडानन्द महाराज ट्रष्टद्वारा प्रदान गरिने एक लाख गीता पनि वितरण गरे। नेपालीमा अनुवादित श्रीमद्भागवत गीताका तीन लाख प्रति वितरण गरिने पनि उनको यात्राका आयोजकहरुले बताए।

यसअघि भीमाशंकरले भुकम्पबाट क्षतिग्रस्त नेपालका प्रभावितहरुका लागि राहत र अन्य सहयो वितरण गरेका थिए।

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्