मिङ्गमा ग्याबु (डेभिड) शेर्पा

‘जो हिमाल पनि चढ्छन्, रेस्क्यू पनि गर्छन्’

‘जो हिमाल पनि चढ्छन्, रेस्क्यू पनि गर्छन्’

कीर्तिमान आरोही निर्मल पूर्जाले अति आदर र स्नेहले नाम लिने सारथी मिङ्गमा ग्याबु (डेभिड) शेर्पा । पूर्जाले ८ हजारभन्दा माथिका विश्वका सबै हिमाल सात महिनाभन्दा कम समयमा चढेर बनाएको कीर्तिमानमा सबैभन्दा बढी साथ दिएका हुन् उनलाई मिङ्गमा डेभिड शेर्पाले ।

उनी आफै पनि कीर्तिमान पर्वतरोही हुन्। पेशाले पर्वतारोहण गाइडका रुपमा कार्यरत मिग्माको आफ्नै नाममा कीर्तिमान छ र उनी नेपालका उत्कृष्ट आरोहीका संख्यामा गनिन्छन् ।

मिग्मा आरोहण मात्र गर्दैनन् । उनी हिमाली मार्गमा असजिलो परेकाहरुको उद्धार गर्ने काममा पनि निकै अगाडि छन्। मिग्मा डेकिट समुदायमा चिनिनुको पछाडि एउटै कारण छ त्यो हो–‘पर्वतारोहण’। सन् २०१० बाट पर्वतारोहण गर्न थालेका डेभिडले माउन्टेन क्लाइमिङ, रेस्क्यू जस्ता एडभेन्चरमुलक गतिविधिहरुलाई निरन्तरता दिइरहे । उनी आफूलाई यही कामले समुदायमा चिनाएको बताउँछन् ।

सामान्यतया हिमाल चढ्ने कुरामा सबैले राम्रै प्रतिक्रिया दिन्छन् । धेरैको चाहना पनि हुन्छ हिमाल चढ्ने र धेरैले कल्पना पनि गरेका हुन्छन् । तर डेबिटलाई कहिल्यै त्यस्तो सोच आएन । झनै हिमाल चढ्ने त उनको कल्पना नै थिएन ।

१३ वर्षअघि डेभिड घुम्नका लागि काठमाडौँ प्रवेश गरेको थिए । त्यो बेला लामो समयसम्म तराइ बन्द भयो । बन्दमा काठमाडौँ आइपुगेका उनले पोर्टरका रुपमा ट्रेकिङ सुरु गरे । २००८ र २००९ मा उनी पोर्टरकै माध्यबाट अन्नपूर्ण ट्रेकिङ गरे ।

केही समय त्यही काम गरेपछि यो भन्दा माथि के काम गर्ने भन्ने बारे उनीले सोच्न थाले । गाइड बने र बिस्तारै माउन्टेन क्लाइम गर्नेतिर उनको सोच जान थाल्यो ।

परीक्षा छोडेर पर्वतारोहण


विभिन्न सोच आउन थाल्यो उनको मानसपटलमा । केही प्रोगेस गर्नुपर्छ भन्ने लाग्थ्यो उनलाई । उनले सन् २०१० मा क्लाइमिङ गर्ने मौका पाए पहिलोपटक । माउन्ट एभेरेष्टमा २० वर्षको उमेरमा पर्वतारोहण गरे ।

ती दिनहरु सम्झिँदै डेबिट भन्छन्, ‘पढ्दापढ्दै गाउँ छोडेर आएँ, तराई बन्दले पढाइ प्रभावित बन्न पुग्यो पढ्नै छोडिसकेको थिएँ ।’

काठमाडौँ बसाइसँगै उनलाई एसएलसी दिने रहर जाग्यो । त्यसकारण उनले प्राइभेटबाट एसएलसी दिने सोच बनए । परीक्षाको समय थियो २०१० मा तर उनी ४ वटा विषयको परीक्षा नै नदिई सगरमाथा चढ्न पुगे ।सफल भए ।

त्यो घटना


सन् २०१० मा उनी मामाको प्रस्तावमा सगरमाथा आरोहण गर्न गएका हुन् । जाने क्रममा उनले बाटोमा बिरामी भएका मनिसहरु, मरेका शरीर देखे । लगातार तीनवर्षसम्म उत्तरतर्फबाट क्लाइमिङ गरिरहे उनले।

त्यस्तै २०१३ मा नेपालतर्फबाट आरोहण गरे । त्यतिखेर एकजना ताइवानका नागरिकसँग लोत्से हिमाल चढे ।

पछिल्लो समय सगरमाथाका बारेमा आउनुपर्ने कुराहरु बाहिर नआएको उनी बताउँछन् । ‘अपाङ्गता, दृष्टीविहीन मानिसहरु हिमाल चढे भनेर बाहिर आइदिन्छ’ उनले भने, ‘तिनीहरु हिमाल चढ्नुको पछाडि के ब्याकअप थियो त ? कति जनाको समूह थियो त भन्ने कुरा बाहिर आउँदैन ।’

विश्वव्यापी जलवायु परिवर्तनका कारण खुम्बुमा आइसफल मुभमेन्ट हुने र ठूला दुर्घटना हुने गरेका छन् । २०१४ मा त्यस्तै एउटा ठूलो दुर्घटना भयो । त्यसमा १४ जना नेपाली गाइडहरुको एकै ठाउँमा मृत्यु भयो ।

मृत्यु हुनेमा मिग्मालाई प्रस्ताव गरेर लैजाने (मामा) पनि परे । त्यससँगै उनलाई चुनौती थपियो । ‘आफैँलाई क्लाइमिङ गर्न लैजाने व्यक्तिकै दुर्घटनामा मृत्यु भयो’, डेबिट भन्छन्, ‘अब फेरि क्लाइमिङ गर्ने कि नगर्ने भन्ने सोच आयो।’

चुनौतीकै बाबजुद पनि डेविडले आफ्नो पेशालाई झनै बलियो बनाएर काम गर्ने सोच बनाए । त्यसका लागि उनले विभिन्न देशका फिल्म मेकरहरुसँग भेट गरे । ट्राभल च्यानलहरुलाई सो बनाइदिने र फन्डिङ गराउने भन्ने हिसाबले प्रोजेक्ट सुरु गरे ।

सन् २०१६ तिर अमेरिकी ट्राभल च्यानलले ६ वटा प्रसङ्ग बनाएर प्रसारण समेत गरिदियो । त्यसमा टीम लिडर डेविट थिए । एभरेष्ट, खुम्बु भ्यालीमा १० प्रतिशत स्थानीय गाउँमा र ९० प्रतिशत विभिन्न हिमालमा रेस्क्यु गरेका थिए ।

नेपालको पर्यटकीय क्षेत्रमा तहसनहस नै भएको समय पनि हो त्यो । सोही बेला डेविडले रेस्क्युको सो गर्ने योजना बनाए । २०१९ सम्म आउँदा उनले विश्वमा ८ हजार भन्दा अग्लो उचाइ भएको १४ वटा हिमाल सक्ने मौका पाए ।

कीर्तिमान र रेस्क्यू


जहाँ हेलिकप्टर ल्यान्डिङ गर्न सकिँदैन, त्यहाँ रेस्क्युको टीम पुग्ने गथ्र्यो । २०१३ मा डेविडले डोरीको सहायताले धौलागिरी हिमालमा रेस्क्यूका लागि काम गरेका थिए । सो अनुभव सुनाउँदै उनले भने, ‘७ हजार ४ मिटरसम्म डोरीको सहायताले अहिलेसम्मकै हाइअल्टिच्यूडमा भएको विश्वकै उच्चतम रेस्क्यू पनि हो ।’

हेलिकप्टरले गरेको रेक्यूमा पनि नयाँ कीर्तिमानी थियो । त्यो उनका लागि मात्र नभइ सम्पूर्ण टीमको लागि अभिलेख थियो ।

३ वर्ल्ड रेकर्ड


सगरमाथामा ६ पटक आरोहण गरेका उनले मनास्लु ४ पटक, पाकिस्तानको के टू दुईपटक र ८ हजार मिटर माथिका बाँकी हिमाल एक–एक पटक आरोहण गरेका छन् ।

८ हजारमिटर भन्दा माथिका विश्वका सबै १४ वटा हिमाल चढ्ने विश्वकै कान्छो आरोही हुन् डेविड ।

‘त्यस्तै ६१ दिनमा सगरमाथा गरेको थिएँ, त्यसबाट गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएँ’ प्रफुल्ल हुँदै उनले थपे, ‘दोस्रो चाहिँ के टु सन् १९९४ मा अष्ट्रियन नागरिकको नाममा गिनिज वल्र्ड रेकर्ड थियो त्यो रकेर्ड २०१८ मा मैले पाएको हुँ ।’

पहिले र अहिलेमा परिवर्तन


पछिल्लो समय प्रशस्त मात्रामा ग्लोबल वार्मिङ हुना थालेको छ । डेविडका अनुसार २०१० बाट हालसम्म आइपुग्दा आएसको मुभमेन्टहरु बढी देखिन थालेका छन् । यो साल भएको मुभमेन्टहरु अर्को साल नहुने साधरणभन्दा बढी मेल्ट हुने देख्न सकिने उनले बताए ।

‘ग्लोबल वार्मिङ सम्बन्धी चेतना दिएनौं भने कतै हाम्रो हिमालहरु हिउँ बिनाको त हुने होइन भन्ने कुरा साझै अड्कल गर्न सकिन्छ’ कुराकानीका क्रममा डेबीटले भने, ‘किनभने २०१० बाट २०१९ सम्म आइपुग्दा आएसको मुभमेन्टहरु निरन्तर बढिहेको छ त्यो हिसाबले पनि बिना आएसको हिमाल पाउन लामो समय कुर्न पर्ने स्थिती छैन तर हामीलाई कसरी सुरक्षित गर्न सकिन्छ त ? यो बारे सचेतना फैलाउन आवश्यक छ ।’

उनका अनुसार हिमालमा हुने ट्राफिक जाम र फोहोरलाई नीतिमा परिवर्तन गर्न सकेमा सधैँका लागि हटाउन सकिन्छ ।

‘३ हजार डलर गार्भेज डिपोजिट राख्नुको साटो एकजना बराबर केही क्लीनिङ फन्टमा जाने र फिर्ता नहुने गरी प्रोजेक्ट चलाउनु पर्छ’ उनले भने, ‘त्यो गरेमा फोहोरलाई पैसाम बदल्न सक्ने विकल्प त छ नि हामीसँग ।’ फोहोरलाई पनि म्यानेज गर्न सकेमा प्रदुषण नहुने उनको भनाई छ।

अपाङ्गता भएकाहरु कसरी पुग्छन् हिमाल ?


डेविटले सन् २०१७ मा दुवै खुट्टा नभएका व्यक्तिलाई मेरापिकमा गाइडिङ गरेका थिए । ६ हजार ४ सयको अल्टिचिउटमा । टीममा ५ जना गाइड पनि थिए भने रेस्क्यु, विभिन्न प्रविधि, स्लाटहरु लगेका थिए ।

अपाङ्ग भएका व्यक्तिहरु जो हिमाल चढ्ने इच्छा राख्छन् र त्यससम्बन्धी थुप्रै अनुसन्धान गर्छन् । उनीहरुको दृढइच्छा गाइडहरुले पूरा गरिदिन्छन् । ‘इच्छा भयो भने उपाय जति पनि हुन सक्छ’ उनी भन्छन्, ‘दुवै खुट्टा नभएको व्यक्तिलाई पनि हामी समूह मिलेर गाइड गरेर हिमाल चढाएका छौँ ।’

झण्डा बोकेर शिखर पुग्दाको त्यो क्षण !


देशको झण्डा फरफराउँदै हिमालको टुप्पोमा पुग्नु र तस्वीर खिच्नु गर्वको कुरा हो । नेपालमा ८ हजारमिटरका हिमाल छन् ।

‘सोलुखुम्बुको सगरमाथा चढ्दा त्यो शिखरबाट ताप्लेजुङको कञ्चनजङ्घा अगाडि देखिन्छ’ शिखरमा पुग्दाको दृश्य स्मरण गर्दै उनी सुनाउँछन्, ‘एकदमै एचिभमेन्ट पोइन्टमा पुगेको महशुस हुन्छ ।’

आगामी दिनमा माउन्टेनेरिङ बनेर क्लामिङ गरेर किर्तीमान कायम गर्ने भन्दा पनि अब अरुलाई एडभाइज गरेर अघि बढाउन चाहन्छन् उनी ।
डेबिटको पर्वतारोहण यात्रा यसरी सुरु भयो

पर्वतारोहण क्षेत्रमा निरन्तर लागि परेका डेविड वि.स. २०४६ सालमा ताप्लेजुङको लेलेपमा जन्मिए । कक्षा ९ मा पढ्दापढ्दै राजधानी काठमाडौँ घुम्न आएका थिए उनी । मधेसमा चर्को आन्दोलन चलेको थियो । त्यो बेलाको आन्दोलनले उनको पढाईमा असर पुर्‍यायो । उनी घर फर्किन पाएनन् ।

काठमाडौँमा घुम्न आएका डेभिड दिदीसँग बस्थे । उनकी दिदी चाहन्थिन् भाइ परदेश जाओस् । २००९ मा यूएई जानका लागि पासपोर्ट बनाए उनले । तर ट्रेकिङको मोहले उनलाई परदेश नजाने नजाने सोच बनायो ।

अवसरको खोजी हिँड्थे । पर्वतारोहणका क्षेत्रमा ‘एचिभमेन्ट’ गर्ने व्यक्तिको खोजीमा थिए डेबीट । यसैक्रममा उनी एकदिन डायरी पल्टाइहेका थिए । सोही क्रममा उनले मामा पर्ने एक व्यक्तिको नाम फेला पारे जसले तीनपटक माउन्ट एभरेष्ट चढिसकेका थिए ।

उनले तत्कालै फोन गरे र भने मामा म सगरमाथा चढ्न चाहन्छु । फोनको वार्तापछि उनले मामालाई भेटे र सोही पेशामा निरन्तर लागे ।

डेभिड पर्यटन क्षेत्रमा सक्रिय भएर अघि बढ्ने अठोटका साथ अघि बढे । सुरुमा उनी पर्यटन, त्यसमा पनि पर्वतीय पर्यटनमा लागे । सुरुमा पोटर अर्थात भरियाका रुपमा । त्यसपछि उनले सपनाहरु पूरा गर्न मेहनत गर्दै गएर क्रमशः गाइड हुँदै सफल पर्वतारोही बने । सच्चा मनधारी उद्धारक पनि ।

हिमाल आरोहणमा सफलताको स्वाद राम्रोसँग लिएका उनले जीवनमा असफलताको नमिठो पल पनि भोगेका छन् । उनले माध्यामिक तहको पढाई पूरा गर्न सकेनन् । तर पढाई बिचमै छोडेर सुरु गरेको हिमालतिरको यात्राले उनको कद उच्च बनाएको छ ।

इच्छाशक्ति भएमा काम गर्न सकिन्छ । ‘अवसरले हामीलाई खोज्दै आउँदैन हामीले अवसर खोज्दै हिड्नुपर्छ’ उनी भन्छन्, ‘परिवारले युएई पठाउन खोज्दा आफूलाई परिवर्तन गर्न सकिनँ तर जब आफैले पर्वतारोहरणका क्षेत्रमा केही गर्नुपर्छ भनेर अघि बढे र त सफलता हासिल गरेँ।’

दिदी लगायतका उनका परिवारले डेबीट स्वदेशमै बसेर काम गरेको निकै खुशी छन् । जब उनी निरन्तर काम गर्न थाले । कतिपय क्षेत्रमा उनले असफलता पनि हाँसिल गरे तर त्यसलाई सफलतामा बदल्न उनी निरन्तर लागि परे ।

अबको योजना


पर्वतारोहणको क्षेत्रमा लामो समयदेखि निरन्तर रुपमा क्रियाशील रहेका डेबिटको चाहना नयाँ पुस्तालाई यस क्षेत्रमा ल्याइ कीर्तिमान राख्न सहयोग गर्नु छ ।

साथै पर्यटकीय क्षेत्रमा मुलुकले कसरी लाभ लिन सक्छ र पर्वतारोहीहरुलाई सहजताका साथ आरोहरण गराउन सकिन्छ भन्ने तर्फ योजनाबद्ध ढंगले अघि बढ्ने उनको सोच छ ।

वर्षैभरि देशभित्र वा बाहिरका हिमालहरुको आरोहण या त्यसको तयारीमा रहने डेविड अहिले हिमालयन रेन्ज भन्दा बाहिरको अग्लो हिमाल अकुङ्गकाङ्गुवा आरोहणको तयारीमा छन् । दक्षिण अमेरिकाको सबैभन्दा अग्लो हिमाल, जुन अर्जेन्टिनामा रहेको छ । ६ हजार ९६२ मिटर अग्लो हिमाल आरोहणका लागि तयारीमा रहेका छन् ।

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू