कार दुर्घटनामा घाइते बलिउड अभिनेत्री शबाना आजमीको स्वास्थ्य स्थिर, चालकविरुद्ध जाहेरी

एजेन्सी– शनिबार भएको कार दुर्घटनामा बलिउड अभिनेत्री शबाना आजमी घाइते भइन्। मुम्बईदेखि करिब ६० किलोमिटर टाढा खलापुर नजिकै मुम्बई–पूणे हाइवेमा शबाना सवार कार दुर्घटना भएको थियो।

उक्त कार ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हाे। प्रहरीका अनुसार ट्रकलाई ओभरटेक गर्न खोज्दा कार दुर्घटनामा परेको थियाे।

कारमा शबानाका साथै उनका श्रीमान् लेखक तथा गीतकार जावेद अख्तर पनि थिए। जावेदलाई सामान्य चोट लागेको बताइएको छ।

दुर्घटनापछि ट्रकका चालकले शबाना आजमीका कार चालक अमलेश कामतविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। उजुरीमा चालक अमलेशले तीब्र गतिमा कार चलाएका कारण दुर्घटना भएको उल्लेख छ।

दुर्घटनामा परेर शबानाको टाउको, अनुहार र हातमा चोट लागेको छ।

दुर्घटना लगत्तै उनलाई उपचारका लागि मुम्बईको एमजीएम अस्पतालमा भर्ना गरिएको थियो। तर ब्रेनबाट रक्तस्राव नरोकिएपछि उनलाई मुम्बईकै कोकिलाबेन अस्पताल भर्ना गरिएको छ।

हाल शबानाको स्वास्थ्य अवस्था स्थिर रहेको र उनीमाथि निरन्तर निगरानी गरिरहेको अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष शेट्टीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनको अवस्थाबारे जानकारी लिन शनिबार साँझ अनिल अम्बानी, टीना अम्बानी, अनिल कपूर, सतीश कौशिक, सलमा आगा, तब्बु लगायतका व्यक्तहरु अस्पताल पुगेका थिए।

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्