मधेश आन्दोलनको १३ वर्ष

किन कमजोर बन्दैछ मधेस आन्दोलनको विरासत?

जनकपुरधाम-पहिलो मधेश आन्दोलन भएको आज १३ वर्ष पूरा भएको छ। आजभन्दा १३ वर्ष पहिले मधेशी जनता तथा मधेशवादी दलहरुले ‘स्वायत्त मधेश एक प्रदेश’ र अधिकार प्राप्तिका लागि आन्दोलनको शुरुवात गरेका थिए।

उक्त आन्दोलन १९ दिनसम्म चलेको थियो। मधेशमा अधिकार प्राप्तिका लागि तीन पटक आन्दोलन भयो जसमा १ सय १७ जना शहीद भएको तथ्यांक छ। २०६३/०६४ मा ५४ जना, २०७२/०७३ मा ५६ जना, २०७३ मा ५ जना (सप्तरी) र २०७४ मा २ जनाले शहादत प्राप्त गरेका छन्।

यद्यपि आन्दोलन जति पुरानो हुँदै गएको छ, आन्दोलनको विरासत पनि निक्कै कमजोर हुँदै भइरहेको छ। त्यहीपनि मधेश आन्दोलनको सम्झनालाई ताजा राख्नका लागि प्रत्येक वर्ष यो दिनलाई बलिदानी दिवसको रुपमा मनाइदै आएको छ।

प्रदेश सरकारले गत वर्ष देखि औपचारिक रुपमा माघ ५ को दिनलाई बलिदानी दिवस मनाउने निर्णय गरेको थियो। यसपटक प्रदेश सरकारले बलिदानी दिवस वीरगंजमा मनाएको छ भने यसको अवसरमा सार्वजनिक विदा समेत दिएको छ।

प्रदेश सरकारले बलिदानी दिवस मनाए पनि मधेश आन्दोलनको शुरुवात भएको दिनमा समेत मधेशवादी दलमा त्यस्तो उर्जा देखिएको छैन। अहिलेको अवस्था हेर्दा लाग्छ मधेशमा आन्दोलन नै भएको थिएन।

गत निर्वाचनमा मधेवादी दलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मधेश आन्दोलनको मुद्दा तथा शहिदहरुको नामको फाइदा उठाउन कुनै कसर छाडेन र त्यसले केही न केही काम पनि गर्‍यो। तत्कालीन संघीय समाजवादी फोरम र राजपा नेपालले राम्रो जित पनि निकाल्यो।

मधेश आन्दोलनबाट मधेशले धेरै कुरा पायो भने धेरै थोक गुमायो पनि।

प्रदेश दुईका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले मधेश आन्दोलनबाट मधेशले के गुमायो त्यस विषयमा जानकारी नरहे पनि देशले संघीय गणतन्त्र पाएको बताए।

मधेश आन्दोलनले देशमा संघीयता, पहिचान, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक मुद्दा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र लाभ बताउँछन्।देशमा संघीयता मधेश आन्दोलनको दृष्टिकोणले उपलब्धिपूर्ण रहेको विश्लेषक लाभको भनाइ छ।

मधेश आन्दोलनकै कारण अहिले नागरिकताको विषय राष्ट्रिय मुद्दा बनेको लाभले बताए। मधेश आन्दोलनबाट धेरै कुरा पाए पनि मधेशवादी दलले आजको दिनको महत्व विर्सदै गएको आरोप समेत लागेको छ।

‘मधेश आन्दोलनकै बलमा देशमा संघीयता तथा समावेशिता स्थापित भयो’ लाभले भने, ‘मधेश आन्दोलनकै बलमा मधेशी जनताको पहिचान पनि स्थापित भएको छ।’ काठमाडौँमा बसेकाहरुको मनोविज्ञानमा समेत परिवर्तन भएको र मधेशी जनता अब आफूलाई मधेशी कहलाउनमा गर्व गरिरहेको विश्लेषक लाभ भन्छन्।

मधेश मामिलाका जानकारहरु मधेशवादी दलले मधेश आन्दोलनलाई भजाएर खाने गरेको आरोप समेत लगाउँदै आइरहेका छन्। प्रदेशमा अहिले मधेशवादी दलको सरकार भएतापनि शासन गर्ने प्रवृति पुरानै शोलीको रहेको आरोप समेत लाग्दै आएको छ।

मधेशी जनताले चाहेका कुराहरु अहिले सम्म पुरा हुन नसक्नु, मधेशमा चाहेको जस्तो विकासको अनुभूति हुन नसक्नु यो सबै मधेशी जनताले गमाएको राजनीतिक विश्लेषक लाभले बताए। मधेशी जनता काठमाडौँका शासकहरुभन्दा पृथक शासन सोचेका थिए तर सो शासनभन्दा केही पृथक अनुभूति मधेशी जनताले गर्न नसकेको लाभले बताए।

यता, राजपा नेपालका केन्द्रीय प्रवक्ता कृष्णा सिंहले मधेश र मधेशी जनताले आन्दोलनबाट केही नगुमाएको बरु मधेशी नेताहरुले विश्वास गुमाएको स्वीकार गरे। मधेशका मुद्दाहरु पूर्ण रुपमा पूरा नभएसम्म सत्ता समीकरणबाट मधेशवादी दलहरुलाई बच्न उनले सुझाव दिए।

मधेशवादी दलहरु पटक पटक सम्झौता गरेर सरकारमा गए तर जुन उद्देश्यका साथ उनीहरु सरकारमा गए, त्यसको उपलब्धि प्राप्त गर्न नसकेको सिंहको भनाइ छ।

यता मधेश आन्दोलनमा आफ्नो छोरा र ससुरा गुमाएका प्रदेशसभा सदस्य वविता चौधरीले नेताहरुलाई शहिद परिवारलाई भेटन सम्मको फुर्सद नरहेको आरोप लगाइन् । प्रदेश सरकारले औपचारिक रुपमा बलिदानी दिवस मनाइरहे पनि शहिद परिवारलाई यसको जानकारी समेत नगराएको चौधरीले बताइन्।

उनले भनिन्, ‘मलाई प्रदेशसभा सदस्यको नाताले बलिदानी दिवसको बारेमा म्यासेज आएपनि शहिद परिवारको नाताले कुनै प्रकारको जानकारी आएको छैन्।’

शहिद परिवारसँग भेट्ने समय समेत नरहेका मधेशवादी दलका नेता तथा मन्त्रीहरुले शहिद परिवारको लागि कुनै प्रकारको व्यवस्था नगरेको भन्दै उनले भनिन्, ‘मधेश आन्दोलनको क्रममा सहादत दिएका परिवारजनलाई कम्तिमा रोजगारी पनि दिनुपर्ने थियो तर अहिले सम्म यस्तो कुनै व्यवस्था भएको छैन।’

उनले विभिन्न निजी विद्यालयमा शहिद परिवारका बच्चलाई निशुल्क शिक्षा दिने व्यवस्था गरिएको भनिए पनि त्यो लागू नभएको बताइन्। मधेश आन्दोलनको क्रममा शहिद भएका केही शहिदहरुको स्मारकको निर्माण गरेपनि त्यो नामको लागि मात्र रहेको उनले बताइन्।

मधेशवादी दलले शहिदको नाममा भजाउने काम मात्र गरेको उनले बताइन्। तेस्रो मधेश आन्दोलनको क्रममा महोत्तरी जिल्लाबाट राजपा नेपालको समानुपातिक सांसद रहेकी चौधरीका छोरा रोहन चौधरी र ससुरा गणेश चौधरीले मधेस आन्दोलनका क्रममा आफ्नो ज्यान गुमाएका थिए।

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्