प्रदेश-१मा ‘हरियाली र सौन्दर्य’ अभियान

काठमाडौं-विद्युतको खम्बामा रहेको ‘सुवर्ण अवसर’, ‘कामको खोजी’ तथा ‘भर्ना खुल्यो’ भन्ने विज्ञापनमाथि नै फूलसहित गमला राखेर महानगरपालिकाले नगर सौन्दर्यता झल्काउने कार्य अघि बढाएको छ।

आइतबार रोटरी क्लब अफ विराटनगर डाउनटाउन र महान्गरपालिकाको संयुक्त आयोजनामा महानगर भवन अघि रहेका तीनवटा सिमेन्टेड विद्युतका खम्बामा फुलसहित गमला राखेर महानगरका मेयर भीम पराजुलीले योजनाको उद्घाटन गरेका हुन्।

तथापी, सौन्दर्यताको लागि अघि सारिएको अभियानमा विद्युतका खम्बामा विभिन्न संस्थाका फ्लेक्स, विद्यालयका फाटेको पोष्टरमाथि नै फुलसहित गमला झुण्डाइएको छ।

नगरलाई सफा र हरियाली बनाउने उद्देश्यसहित अघि बढेको योजनामा पहिलोचरणमा तीनपैनी चौकबाट ट्राफिक चौकसम्म करिब १ सय वटा खम्बामा फुलसहित गमला र फोहरको डस्टविन राखिने महानगरका प्रमुख प्रशासकीय अघिकृत एकदेव अधिकारीले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले कार्यक्रमको मुख्य आयोजक रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बाँकी लगाउने खम्बामा रङरोगन गर्दै सफा गरेर फुलसहित गमला राख्ने बताए।

उनले भने, ‘खम्बामा हाल देखिएका कागजहरु हटाएर हरियोले पेन्टिङ गरेर राख्नेछन्। आज उद्घाटन मात्र गरिएको हुनाले त्यसो देखिएको हो। अब बाँकीमा राख्दा इन्टरनेटका तारहरुको ब्यवस्थापन गर्दै खम्बा सफा बनाएर कार्यक्रम अघि बढ्नेछ।’

तथापी, महानगरका एक कर्मचारीले सफा नगरिएको खम्बा तथा अरु नै विज्ञापनमाथि नै कार्यक्रम गरिदाँ सुरुआत फिक्का भएको गुनासो गरे। उनले भने, ‘वातावरण शाखा अन्र्तगत रोटरीले संयुक्त रुपमा कार्यक्रम अघि सारेको हो। तर खम्बा सफा नहुदाँ, सिमीत फुलगमला पनि विज्ञापनमाथिनै राखिदाँ अन्योल भयौं।’

अर्कोतर्फ, रोटरी डाउनटाउनकी अध्यक्ष अर्चना तापडियाले विराटनगरलाई सुन्दर बनाउने अभियान अन्तर्गत महानगरसँग सहकार्य गरिएको जानकारी दिइन्। सोही क्रममा रोटरीका गभर्नर किरणराज श्रेष्ठले स्थानीय सरकारसँगको सहकार्यमा रोटरीले सामाजिक कामलाई तीव्र बनाइएको प्रस्टाए।

महानगर र रोटरी क्लब अफ डाउनटाउन विराटनगरले संयुक्त रुपमा २ लाख ५० हजार रुपैयाको बजेटमा कार्यक्रम अघि बढाएका हुन्। सो क्रममा एउटा खम्बामा दुइ वटा गमला र डस्टविन रहनेछ।

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्