मण्डला थिएटरमा दलित उत्पीडनको कथा

कर्मले जितेर, जन्मले हारेको कथा हो ‘झिम्के मामा’

पूर्वी पहाडको एउटा गाउँ, गाउँनजिकै देउराली छ। देउरालीको छेउछाउमा सातवटा गाउँ छन्, जहाँ ब्राह्मण-क्षेत्रीलगायत जातजातिको बसोवास छ।

देउराली नजिकै मन्दिर र चौतारी पनि छ। त्यही चौतारीमा त्यस गाउँका मानिसहरु गाउका विकासे कामहरु बारे छलफल र बहस गर्छन् अनि निर्णय गरेर कामको योजना बनाउँछन्।

झिम्के पनि त्यही गाउँमा दिदी भेनाकोमा आफ्नो जात लुकाएर बस्दै आएका छन् । उनको साथमा जहिले पनि एउटा झोला, झोलामा बाँसुरी र शीरमा ढाका टपी रहेको हुन्छ। उनी बाँसुरी निक्कै सुरिलो बजाउँछन्। गाउँ समाजमा कुनै भोज वा जन्ती मलामी जानुपर्‍यो भने झिम्के नभई हुँदैन।

गाउँमा कुलो बनाउनेदेखि समाजका जन्तीदेखि मलामीसम्‍मको काममा अगुवाइ गरिरहेका हुन्छन् झिम्‍के। निक्कै मिलनसार स्वभावका झिम्‍के गाउँमा केही घटना घट्यो भने झिम्के बेगर त्यो समस्याको समाधान नै हुँदैन। झिम्के त्यो समाजमा बडो सम्‍मानित भएर बाचिरहेका छन् अनि दिदीभेनाको घरमा बस्दै आएका छन्।

नाटकको दृश्‍य सुरु हुन्छ साना बालबालिकाको सम्वादबाट। राहुल र उसको भाई घरको पिँढीमा बसेर खेलिरहेका छन्।

घरभित्रबाट आमाले बोलाउँछिन्, ‘राहुल, ए राहुल स्कुल जान ढिला भइसक्यो। किन ड्रेस नलगाएको?’ तर राहुल स्कुल जान मानिरहेका छैनन्। ऊ भने स्कुल नजाने मनस्थितिमा आमासँग जिद्दी गरिरहेका छन्। आमा रिसाएर स्कूल पठाउने तयारी गिरहँदा त्यहाँ उसको मामा अर्थात नाटको प्रमुख पात्र झिम्के आइपुग्छन् र भान्जालाई फकाउन थाल्छन्।

झिम्‍के आफनो दिदीलाई सम्झाउँदै भन्छन्, ‘ दिदी बालबालिका हुन। यिनीहरुलाई कुटेर तर्साएर होइन। फकाएर स्कुल पठाउनु पर्छ। उनीहरु स्वत: मान्छन्।’ त्यसपछि झिम्के भान्जालाई फकाउँदै भन्छन्,

मेरो भान्जा ज्ञानी 

अब स्कुल जानी

यसरी झिम्‍केले भान्जालाई प्रत्‍येक दिन फकाउँदै स्कुल पठाइरहेका हुन्छन् नयाँ नयाँ योजना सुनाएर । कहिले कराँते खेल्न सिकाएर त कहिले चकलेट दिन्छु भनेर। झिम्केले बालबालिकामा हुने मनोवैज्ञानिक विश्‍लेषण गर्दै त्यतिबेलाको समाजको भाषालाई टपक्क टिपेर गाउँले भाषामा भन्जालाई भनिरहेका हुन्छन्, ‘ भान्जा बाबु तपाइ के पढ्ने ?  डाक्टर बन्नु पर्छ है। तर साइन्स पढ्नु हुन्‍न। धेरै पैसा लाग्छ। म पछि बुढो भए भने मलाई सुई तिघ्रामा होइन काँधमा हालेर निको पार्नुपर्छ है।’

समाजमा त्यतिबेला मामाको भान्जाप्रतिको आश, बुवा आमाको छोराछोरी प्रतिको आशलाई यो नाटकमा दर्साइएको छ। यसका साथै गाउँमा भइरहने युवायुवतीको प्रेम सम्बन्धको चर्चा पनि नाटक झिम्‍केमा देखाइएको छ। जसमा भावना, मन मिले पनि उनीहरुले विवाह गर्न पाउँदैनन्। झन तल्लो जात परेमा उनीहरु गाउँबाटै निकाला हुनुपर्छ र समाजको अगाडि मुखै देखाउन नपाइने त्यतिबेलाको पण्डितहरुको हुकुमी शासनलाई नजिकबाट नियालेर देखाइएको छ।

‘झिम्के’ले गरेको कामको प्रशंसा त छदैछ तर उसको बारेमा गाउँका केटाहरु एक दिन चौतारीमा काका पर्नेकी छोरीसँग कुराकानी गरेको देख्छन्। त्यही बाहानामा उसको कमजोरी र खेदो सुरु गर्छन्। पछि तल्लो जात भनेर थाहा पाएपछि उसलाई गाउँ निकाला गरिन्छ। पानी पनि खान र मुख धुन समेत दिँदैनन्। यसपछि झिम्केको मन तहसनहस हुन्छ। ऊ अन्‍त्यमा त्यही देउरालीको मन्दिर अगाडि आत्महत्या गर्न बाध्‍य हुन्छ।

अनामनगरस्थित मण्डला थिएटरमा माघ ३ गतेबाट मञ्‍चन सुरु भएको नाटक ‘झिम्के मामा’ प्रदीप कुमार चौधरीको निर्देशनमा बनेको हो। नाटकले छुवाछुत र यससँग जोडिएको अन्धविश्वासले समाजमा ल्याउने समस्या र मानवतालाई समेटिएको सामाजिक यथार्थमा कथा हो झिम्‍के मामा।

नाटक झिम्के नाम गरेका एक पात्र वरीपरी घुम्छ जसलाई समाजमा एक इमानदार र सोझो युवाको रूपमा चिनिएको हुन्छ। तर उसले समाजका लागि पुर्‍याएको योगदान र इमानदारीताको धज्जी उडाइन्छ जब ऊ कथित र तल्लो जातको भएको कुरा समाजले थाहा पाउँछ।

‘झिम्के मामा’ सामाजिक यथार्थवादी नाटक भएको नाटक लेखन तथा निर्देशन गरेका प्रदीप चौधरीले बताउँछन्। उनी भन्छन्, ‘नाटकमा समाजको संस्कारलाई पात्रहरूका माध्यमबाट चित्रण गर्ने प्रयास गरेका छौँ।’

उनका अनुसार काममा उत्तम, कर्मले जितेको र जन्मले हारेकाको कथा हो ‘झिम्के मामा’। उनले यस कथाका परिकल्पनाकार दुर्गा पाण्डेलाई झिम्के पात्रले निक्कै छोइरहेको त्यसबारे आफूलाई बताएपछि यसलाई नाटकमा उतारेको बताए।

उनी भन्छन्, ‘मानवतालाई समाजले कसरी पतन गरिरहेको छ भन्ने नाटकमा चित्रण गरिएको छ, समाजमा झिम्केको जस्तो पात्रले राम्रो काम गरे पनि त्यही समाजमा अट्न नसकेको पात्रको एउटा रूप हो। हामी यसलाई शहरमा गाउँको कथावस्तुलाई पस्किरहेका छौ छुवाछुत विरुद्धको चेतनाका लागि।’

‘शिवहरि आचार्य नामक ब्राह्मणको घरमा पाँच वर्षदेखि बस्दै आएको झिम्के जब ‘सार्की’ हो भन्ने थाहा हुन्छ, त्यसपछि कथाले नयाँ मोड लिन्छ,’ निर्देशक चौधरीले भने, ‘दलित भएका कारण झिम्के मामाले भोगेको दारुणिक कथा नाटकमा छ,जो हाम्रो समाजको यथार्थ पनि हो।’

नाटकको प्रमुख पात्रको भूमिका अंकित खड्काले गरेका छन् भने नाटकमा अनुप न्यौपाने, संयोग गुरागाईं, सागर खाती(कामी), रिता श्रेष्ठ, युनिस श्रेष्ठ, काव्या बराल आदिको अभिनय रहेको छ।

सुशील पाण्डे, विकास पन्त, मोहन थापा, उषाकिरण काफ्ले, क्रिजन महत, रक्षा थापा, अर्विन्द अमात्यले पनि नाटकमा अभिनय गरेका छन्।

‘झिम्के मामा’ नाटक माघ २ देखि २६ सम्म अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन हुनेछ।

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्