अदालतबाट सफाइ पाएपछि रवि लामिछानेले भने, ‘न्याय मरेकाे छैन भन्ने प्रमाणित भयाे’

फाइल तस्बिर

काठमाडौँ– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछानेले सफाइ पाएका छन्। अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पनि सफाइ दिएको हाे।

चितवन जिल्ला अदालतबाट आइतबार सफाइ पाएपछि पत्रकार लामिछानेले अदालतको फैसलाले नेपालमा अझै न्याय मरेको छैन भन्ने प्रमाणित भएको बताएका छन्।

चितवन जिल्ला अदालत बाहिर पत्रकारहरु सँग बोल्दै लामिछानेले भने, ‘अदालतबाट जुन फैसला भएको छ, त्यसले न्याय मरेको छैन भन्ने कुराको अर्को एउटा दृष्टान्त बनेको छ।’

उनले आफूले चितवनमा पाएको माया कहिल्यै नबिर्सिने बताए। उनले भने, ‘मैले जीवनमा यति धेरै साथ, यति धेरै माया र यति धेरै सद्भाव पाउँछु भन्ने कल्पना गरेको थिइनँ। तर मलाई थाहा थियो, सत्कर्म खेर जाँदैन भनेर।’

त्यस क्रममा उनले आफ्नो कामलाई विश्वास गर्नेहरुको विश्वास डगमगाउन नदिने बताए।

माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको शव गत साउन २० गते चितवनको कंगारु होटेलमा फेला परेको थियो।

पत्रकार पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियाेगमा गत साउन ३० गते प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो। लामिछाने पक्राउको विरोधमा उनका समर्थकले चितवनमा व्यापक प्रदर्शन गरेका थिए।

पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भनेको भिडियोमा रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीले आफूलाई मर्न बाध्य बनाएको आरोप लगाइएको थियो। त्यसैका आधारमा प्रहरीले लामिछाने, कँडेल र कार्कीलाई पक्राउ गरेको थियो।

न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधाकुरा जनतासँग’ कार्यक्रमका प्रस्तोतासमेत रहेका लामिछानेलाई प्रहरीले टेलिभिजनको कार्यालयबाटै नियन्त्रणमा लिएकाे थियाे।

थुनछेक बहसपछि भदौ ९ गते जिल्ला अदालत चितवनले उनलाई धरौटिमा छोड्न आदेश दिएको थियो। रवि लामिछाने पाँच लाख र युवराज कँडेल तीन लाख धरौटी बुझाएर छुटेका थिए।

पत्रकार पुडासैनीकी प्रेमिका भनिएकी अस्मिता कार्कीलाई भने अदालतले साधारण तारेखमा छाडेको थियो।

 

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्