सुदूरपश्चिममा महिला र बालबालिकामाथि हिंसा बढ्यो

धनगढी– सुदूरपश्चिम प्रदेशमा महिला र बालबालिकामाथि हुने विभेद तथा हिंसाका घटनामा बृद्धि भइरहेको तथ्यांकले देखाएको छ।

प्रदेशमा सन् २०१८ मा गैरराज्य पक्षबाट चार सय १० घटनामा चार सय ११ महिला पीडित भएका थिए। त्यस्तै सन् २०१९ मा पाँच सय ७४ वटा घटनामा पाँच सय ८१ महिला पीडित भएको धनगढीस्थित अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अभिलेखमा उल्लेख छ।

सन् २०१९ मा ७३ जना महिला बलात्कारको सिकार भएका थिए भने १७ जना महिलामाथि बलात्कारको प्रयास भएको थियो। इन्सेकका अनुसार यो अवधिमा पाँच महिला र दुई बालिका गरी सात जनाको परिवारका सदस्यबाटै हत्या भएको थियो।

त्यस्तै, एक वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशमा दुई जना महिलाको छाउगोठभित्र निस्सासिएर मृत्यु भएको थियो। यस अवधिमा सुदूरपश्चिम प्रदेशमा नौ जना महिला बहुविवाहबाट पीडित भएको इन्सेक अभिलेखमा उल्लेख छ।

त्यस्तै, यो अवधिमा १२ महिलामाथि बेचविखनको प्रयास भएकाे थियाे भने घरेलु हिंसाबाट चार सय ६१ जना महिला पीडित भएका थिए। इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीका अनुसार अधिकांश घरेलु हिंसाका घटनाहरू मिलापत्रबाटै टुंगिएको पाइएको छ।

त्यस्तै, सन् २०१८ मा बाल अधिकार हनन् का ४८ घटनामा ५० जना बालिका पीडित भएका थिए भने सन् २०१९ मा एक सय १६ घटनामा एक सय १८ बालिका पीडित भएका थिए।

त्यस्तै, सन् २०१९ मा ५१ बालिका बलात्कारको शिकार भएकी थिइन् भने ५१ जना बालिका यौन दुर्व्यवहारबाट पीडित भएका थिए। त्यस्तै, दुई बालिकाको परिवारबाटै हत्या भएको थियो। एक बालिकाको बलात्कारपछि हत्या भएको थियो। इन्सेकका प्रदेश संयोजक जोशीका अनुसार सन् २००९ मा तीन वर्षीया बालिका समेत बलात्कारको शिकार भएका छिन्।

त्यस्तै, एक बालिकालाई विद्यालयका शिक्षकहरूले कुटपिट गर्दा उपचारका क्रममा मृत्यु भएको थियो भने विद्यालयको सेफ्टी ट्यांकी भत्किँदा चार जना बालबालिकाको मृत्यु भएको थियो।

प्रदेशमा जातीय विभेदको घटनामा पनि बृद्धि भएको इन्सेक अभिलेखमा उल्लेख छ। सन् २०१८ मा सुदूरपश्चिम प्रदेशमा जातीय विभेदका पाँच वटा घटना भएकोमा सन् २०१९ मा जातीय विभेदबाट नौ जना पीडित भएका थिए।

समग्रमा सुदूरपश्चिम प्रदेशमा सन् २०१९ मा मानवअधिकार उल्लङ्घनका घटनामा बृद्धि भएको देखिएको छ। इन्सेकले सार्वजनिक गरेको तथ्यांक अनुसार सन २०१८ को तुलनामा सन् २०१९ मा मानवअधिकार उल्लङ्घनका घटनामा बृद्धि भएको हो।

जसमा सन् २०१९ मा दुई सय ९९ वटा मानवअधिकार उल्लङ्घनका घटना बढी भएका छन् । इन्सेकले सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा सन् २०१८ मा राज्य पक्षबाट १४ र गैरराज्य पक्षबाट पाँच सय १५ मानवअधिकार उल्लंघनका घटना भएका थिए भने सन् २०१९ मा राज्य पक्षबाट ५२ र गैरराज्य पक्षबाट सात सय ७६ घटना भएका छन्।

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्