एमसीसी संसदबाट अनुमोदन गराउन सहयोग गर्ने प्रचण्डको बाचा

अल्पमतमा पर्ने डरले सभामुखको अडानबाट पछि हटे ओली

फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आफ्नै बफादारलाई सभामुख बनाउनु पर्ने अडानबाट करिव ४ महिना टसमस भएनन्।

तर, अन्तिममा आएर आइतबार पूर्व एमाले पृष्ठभूमिका सुवास नेम्वाङलाई नै सभामुख बनाउनु पर्ने आफ्नो अडानबाट ओली किन पछि हटे त?

पार्टीका नेताहरुबाट मात्रै नभई नागरिकस्तरबाट समेत एकपछि अर्को मुद्दामा घेराबन्दी परेका ओलीले पूर्व सहमति अनुसार पूर्व माओवादीलाई सभामुख नदिने अडान राख्दा यो विवाद बहुमतबाट टुंगो लगाउने धम्की पार्टीभित्रकै प्रभावशाली नेताहरुले दिएका थिए, केही दिन अघि।

सभामुखका मामिलामा भोटिङ हुँदा आफू पराजित हुने देखेपछि मात्रै ओली आफ्नो अडानबाट पछि हटेका हुन्।

स्रोतका अनुसार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेता वामदेव गौतमको निवासमा भएको बैठक बसेपछि ओली सबैभन्दा धेरै झस्किएका थिए।

त्यसलगत्तै उक्त बैठकमा सामेल नेता नारायणकाजी श्रेष्ठलाई बोलाएर त्यसबारे विवरण माग गर्दै आफूलाई कसैले पनि एक्लो पार्न नसक्ने चेतावनी दिएपनि अन्तत : ओली आफू अल्पमतमा पर्ने सम्भावना बढी देखेपछि पूर्व माआवादीबाट अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउन तयार भएका हुन्।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल,झलनाथ खनाल, नेता गौतम लगायतले खुलेर नेतृत्व तहले सभामुख टुंगो लगाउन नसके केन्द्रीय कमिटी बैठकबाटै निर्णय गराउनु पर्ने मत राखेपछि ओली आफ्नो अडानबाट पछि हटेका हुन्।

स्रोतका अनुसार दाहालले पनि पार्टी एकताका बेला भएको सहमति अनुसार सभामुख आफूले पाएमा ओलीको चाहना अनुसार अमेरिकन मिलिनियम च्यालेञ्ज कर्पोरेशन एमीसी सम्झौता सम्बन्धी विधेयक संसदबाट पारित गराउन सहयोग गर्ने प्रतिवद्धता ओलीसमक्ष जनाएका छन्।

यसअघि दाहाल एमसीसी विधेयक विद्यमान अवस्थामा संसदबाट पारित गर्न नहुने पक्षमा उभिएका थिए। एमसीसी संसदबाट पारित गराउनका लागि भएपनि ओली आफ्ना बफादारलाई सभामुख बनाउनु पर्ने अडानमा थिए।

‘पछिल्ला घटनाक्रमले आफू अल्पमतमा पर्ने डर ओलीलाई भयो। जसरी पनि सभामुख पूर्व माओवादीलाई पार्नु पर्ने रणनीतिमा दाहाल हुनुहुन्थ्यो। अन्तत : ओलीले एमसीसी विधेयक संसदबाट पारित गराउने सर्तमा पूर्व माओवादीको भागमा सभामुख पार्नु भएको हो । त्यसमा दाहालले नाइँ नभन्ने कुरै भएन,’ दाहाल निकट स्रोतले देशसञ्चारसँग भन्यो।

नेकपाभित्र भीम रावल, देव गुरुङ लगायत दर्जनौँ पूर्व एमाले र माओवादीका नेताहरुले विद्यमान अवस्थामा एमसीसी विधेयक संसदबाट पारित गर्न नहुने पक्षमा छन्।

अमेरिकी सन्यै रणनीतिभित्र राखिएका एमसीसी लागू गर्दा नेपालका राष्ट्रियतामाथि घात हुने उनीहरुको तर्क छ ।

तर दाहाल भने सभामुखका लागि एमसीसीमा लिँदै आएको अडानबाट पछि हट्न तयार भएका हुन्।

बलात्कारको अभियोग लागेपछि पूर्व माओवादी पृष्ठभूमिका कृष्ण बहादुर महराले गत असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।

त्यसपछि ओली र दाहालले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयलाई लिएर पटकपटक छलफल गरेपनि उनीहरु निष्कर्षमा पुग्न सकेका थिएनन्।

यो बीचमा शिवमाया तुम्हाङफेलाई उपसभामुख पदबाट राजीनामा दिन ओली र दाहालले दिएको निर्देशन उनले ठाडै अस्वीकार गरेकी थिइन्।

पछिल्लो पटक उपसभामुखसमक्ष भोली अर्थात माघ ६ गतेसम्मका लागि संसद बैठक स्थगित गर्न र त्यतिञ्जेल आफूहरुले सभामुखको उम्मेदवार चयन गर्ने बाचा ओली र दाहालले शिवमायासँग गरेका थिए।

शिवमायाले पनि सभामुखको उम्मेदवर चयन गर्न दल सफल भएपछि मात्रै आफूले राजीनामा दिने बताएकी थिइन्।

अव एमीसीसी विधेयक संसदबाट पारित हुने

एमसीसी सम्झौता सम्बन्धी विधेयक पारित गर्ने सर्तमा ओली पूर्वमाओवादीलाई सभामुख बनाउन राजी भएकाले अव त्यो संसदबाट अनुमोदनका लागि बाटो खुलेको छ।

दाहालले पनि ओलीलाई एमसीसी पारित गराउन सहयोग गर्ने बाचा गरेकाले आफ्नो पूर्व पार्टीको भागमा सभामुख पारेका छन्।

स्रोतका अनुसार पार्टीका अधिकांश नेताहरुले एमसीसी सम्झौता सम्बन्धी विधेयक विद्यमान अवस्थामा पारित गर्न नहुने अडान लिएपनि ओली र दाहालकै सहमति कार्यान्वयन हुने छ।

‘अव संसदबाट एमसीसी पारित हुने छ । विरोधको कुनै अर्थ रहने छैन ओली र दाहाल मिलेपछि,’ स्रोतले भन्यो।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता शेरवहादुर देउवाले पनि आइतबार नै एमसीसी नेपालको हितमा रहेको भन्दै त्यो पारित हुने बताएका छन्।

देउवाले दाङ पुगेर भनेका छन्,‘ एमसीसी नेपालको हितमा छ । संसदबाट यो छिट्टै पारित हुन्छ र त्यो वातावरण बन्दै छ।’

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू