गरिबीलाई जितेको मेहनत

नायब सुब्बा बनेका छोरालाई आमाको फोनः ‘छोरा अब जागिर नछोडेस् है!’

काठमाडौँ – संसारमा कुनै पनि व्यक्ति एकैपटक सबैथोक बनेको उदहारण छैन । डाक्टर, इन्जिनियर अथवा पाइलट बन्ने चाहना एकै पटक राखियो भने त्यहाँ सफलता हात लाग्दैन ।  ‘आफ्नो लक्ष्य के हो त्यसमा प्रष्ट भएर लाग्नुपर्छ, सफलताका पहाडहरु चुम्न बेर लाग्दैन’, कुराकानीको अन्त्यमा उनी भन्दै थिए ।

यही सोचका साथ अघि बढेका बझाङका हेम विष्ट (२४) अहिले नायब सुब्बा बनेका छन् । तर नायब सुब्बासम्मको उनको यात्रा सानो संघर्षले तय भएको होइन ।

हिमाली जिल्ला बझाङको बिकट थलारा गाउँपालिकामा –९ मा जन्मिएका हेमले स्कुले जीवनमै बुवा गुमाए । कक्षा ९ मा पढ्दै गर्दा उनले पिताको वियोग सहनु पर्‍यो । पाँच सन्तान हुर्काउने जिम्मेवारी आमाको काँधमा आइपर्‍यो । बुवाको निधनपछि सन्तानलाई हुर्काउन आमाले गरेको संघर्ष हेम नियालिरहन्थे । कसरी आमालाई सहयोग गर्ने सोचिरहन्थे ।

घरमुली (बुवा) को निधन भएको केही समयमै विष्ट परिवारमा फेरि अर्काे बज्रपात भयो । हेमकी कान्छी बहिनीको १० वर्षको उमेरमा निधन भयो । परिवारका दुई सदस्यको मृत्युको पीडा अनि घर खर्चको जोहोका लागि आर्थिक कठिनाई, विष्ट परिवार झनझन थलिँदै गयो । जसोतसो आमाले सन्तान हुर्काएकी थिइन् । पाँच मध्ये बचेका चार सन्तानको लालन पालन र पढाई खर्च आमाले जुटाइ नै रहेकी थिइन् ।

हेम अब ठूलो हुँदै गए । गाउँकै चक्रेश्वर माध्यामिक विद्यालयबाट एसएलसी उत्तिर्ण भएपछि उनलाई धन कमाउन भारत जानका लागि परिवार र समाजबाट दबाब आयो । हेमले यो स्वीकारेनन् किनभने समाजमा उनले देखेका थिए भारतमा धन कमाउन जानेहरुको हबिगत ।

आमा र भाइका साथ हेम

एसएलीपछि गाउँका धेरै युवाहरु (हेमकै साथी) ले भारतको यात्रा सुरु गरे । एउटै बस चढेर साथीहरुसँगै पहाडबाट झरेका हेम भने कैलालीमा रोकिए, जागिर पनि गर्ने र पढाई पनि अघि बढाउने सोचका साथ ।

अत्तरियामा डेरा गरी बस्ने हेम प्लसटुको अध्ययन गर्दै थिए । केही समयपछि उनले एउटा बोर्डिङ स्कुलमा निजी शिक्षकका रुपमा काम थाले । महिनाको चार हजार कमाईले हेमलाई जसोतसो आफ्नो पढाईसहित दैनिक खर्च जुटाउन पुग्थ्यो । उनका ठूलोबुवा हिरालाल विष्ट धनगढीको हुलाक कार्यालयमा जागिरे थिए ।

हेमसँग भेट हुँदा उनले सधैँ सरकारी जागिर खानुपर्छ, लोकसेवाको तयारी गर्नुपर्छ भन्ने सल्लाह दिन्थे । हरेक पटकको भेटमा ठूलोबुवाले दिने गरेको सल्लाहपछि हेमलाई सरकारी जागिर खाने हुटहुटी बढ्न थाल्यो । उनले बोर्डिङ स्कुलबाट कमाएको एक महिनाको तलबले लोकसेवा तयारीका किताबहरु किने । किताब त किने तर उनलाई पढ्न समय भएन ।

बिहान कलेज, दिनभरी बोर्डिङ स्कुलको जागिर, साँझ लखतरान भएर कोठामा पुग्ने हेमले लोक सेवाको तयारीका किताब खोल्नै पाएनन् । दिनहरु त्यसै बितिरहे।

एकदिन गाउँबाट आमाको फोन आयो । ‘माइली दिदी सिकिस्त बिरामी छन्’ । खबर सुने लगत्तै हेम घर (बझाङ) गए । दिदीलाई धनगढी ल्याए । धेरै अस्पतालमा जाँच भयो तर रोग पत्ता लागेन । भारतको पलियामा पनि लगे । धनगढी र पलियाका अस्पतालमा धेरै दिनको जाँच र अनेक परीक्षणपछि पत्ता लाग्यो दिदीलाई त फोक्सोको क्यान्सर भएको रहेछ ।

हेम छाँगाबाट खसेजस्तै भए । दिदीलाई कसरी बचाउने सोच्न थाले, आफ्नो पढाइको वास्तै गरेनन् । ऋण खोजेर उपचारका लागि चितवनस्थित क्यान्सर अस्पतालमा लगेर गए । ऋणको रकमले नपुगेपछि जग्गा पनि बेचियो ।

तर…


चितवनको बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालले हेमको दिदीलाई उपचार सम्भव नरहेको भन्दै घर लैजान सल्लाह दियो । हेमको परिवारका तेस्रो सदस्यको ज्यान जाँदै थियो, परिवारमा रोइकराइ सुरु भयो । हेमले चितवन अस्पतालले दिएका सबै रिपोर्टहरु लुकाए ।

कतै ज्यान बची पो हाल्छ कि भन्ने आशा बोकेर उनले दिदीलाई चितवनबाट लगेर फेरि धनगढीको सेती अञ्चल अस्पतालको इमरजेन्सीमा भर्ना गरे । त्यहाँका डाक्टरले केही दिनको उपचारपछि काठमाडौँ लैजान सल्लाह दिएको हेम बताउँछन् ।

सहयोगी हातहरुको सहयोग लिएर हेमले दिदीलाई काठमाडौँको वीर अस्पतालमा भर्ना गरे । डाक्टर संजिव श्रेष्ठको नेतृत्वको टिमले उपचार सुरु गर्‍यो । अन्ततः ३७ दिन आइसियूमा राखिए पनि दिदीको ज्यान बचाउन चिकित्सक सफल भएनन् ।

पहिले बुवा, त्यसपछि बहिनी र अनि दिदीको निधनले हेम विक्षिप्त बने । आफ्नै मन सम्हाल्न नसक्ने अवस्थामा रहेका उनले आमालाई सम्झाए, जेठो दिदी र भाइलाई पनि सम्झाउने प्रयास गरे ।

दिदीको पनि निधनपछि शोकाकुल बनेको परिवार छाडेर हेम पढाईलाई निरन्तरता दिन फेरि कैलाली झरे । तर नियमित पढाईमा समय दिन नपाएका हेमको परीक्षा बिग्रियो । प्लसटुमा ‘ब्याक’ लाग्यो । उनले हरेश खाएनन् बिग्रेको विषयको परीक्षा फेरि दिए । उत्तिर्ण भए ।

प्लसटु ब्याक लागेपछि उनले खरिदारको तयारी गरेका थिए । खरिदारको पहिलो पेपरमा नाम निकालेका हेम दोस्रो पेपरमा सफल भएनन् । तर पहिलो पेपरमा नाम निस्केपछि उनको हौसला बढ्दै गएको थियो । थप मेहनत गरे सफल भइहालिन्छ भन्ने भयो, मनोबल बढ्यो ।

खेत बेचेर सुब्बाको तयारी …


प्लसटु पास भइसकेका हेमले अब खरिदारसँगै नायबसुब्बाको पनि तयारी थाले । तर वोर्डिङ स्कुलको जागिरले लोकसेवा तयारीका लागि पर्याप्त समय भएन । उनले दोस्रो पटक जागिर छोडे । पहाडमा भएको अलिकति जग्गा एक लाखमा बेचे । त्यो रकमले एक वर्ष उनको लोकसेवा तयारीका लागि पुग्यो ।

यो एक वर्ष उनले दैनिक १५–१६ घण्टाका दरले लोकसेवाको तयारी गरे । परीक्षा दिए । खरिदारको पहिलो पेपरमा नाम निस्क्यो तर सुब्बाको न्यायतर्फ पनि परीक्षा दिएका उनको नाम निस्केन । खरिदारको दोस्रो पेपरमा पनि असफलता मात्रै हात लाग्यो ।

हेमको दिमाग अब शून्यतामा घुम्न थाल्यो । यति धेरै मेहनत गर्दा पनि सफल भएन भन्दै हरेश खान थाले । लाखमा बेचेको खेतको सम्झना आउन थाल्यो । घरमा आमालाई केही भन्न सकिरहेका थिएनन् । आमाले फोनमा फेरि भन्न थालिन् ‘बाबु भारत जा, केही कमाई गर ।’

हेमले के गर्ने, कसो गर्ने सोच्न सकिरहेका थिएनन् । जग्गा बेचेको रकम रित्तिसकेको थियो । कञ्चनपुरको कृष्णपुरमा दिदीको घर (फुपुको छोरी) मा बस्न थालेका उनले फेरि त्यही नजिकको निजी विद्यालयमा पढाउने जागिर गर्न थाले ।

युट्युबमा हेरेको एक भिडियो…


निराश बनेका हेमले जागिर सुरु गरे पनि लोकसेवाको तयारीमा भने ध्यान लागिरहेको थिएन । तर युट्युबमा भेटिएको एक भिडियोले उनको ध्यान खिच्यो । लेखक तथा प्रशिक्षक बद्रिप्रसाद कार्कीको भिडियो थियो ।

उक्त भिडियोमा लोकसेवा तयारीका लागि आवश्यक टिप्सहरु समेटिएको थियो । उक्त भिडियो हेरेपछि हेमको मनमा ‘म सक्छु’ भन्ने भावना बलियो बन्यो ।‘भिडियो हेरेपछि बद्रि सरसँग थप कुराकानी गर्ने चाहना भयो नम्बर पत्ता लगाएर उहाँलाई फोन गरेँ’, हेम भन्छन् ‘बद्रि सरले धेरै सहयोग गर्नुभो । उहाँको सल्लाह र नोट बनाउने प्याटन अनुसार मैले तयारी गर्न थालेको थिएँ ।’

लोकसेवाको तयारीकै क्रममा कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायसँग पनि हेमको भेट हुन्छ । उनी आफ्नो सबै वास्तविकता र चाहना उपाध्ययसँग राख्छन् र आवश्यक सल्लाहको आशा व्यक्त गर्छन् ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायसँग हेम

पहिलो भेटमै सहायक प्रजिअ उपाध्यायले हेमलाई १० वटा प्रश्न दिन्छन् र उत्तर लेखेर ल्याउन आग्रह गर्छन् । दोस्रो दिन हेमले ती सबै प्रश्न हल गरेर उपाध्याय समक्ष पेश गरे । हेमको लेख्ने शैलीमा केही सुधारका सुझावहरु दिए । हरेक प्रश्नको सकारात्मक ढंगको जवाफ लेख्नुपर्ने मुख्य सुझाव थियो । तयारी कक्षाहरु लिन पनि उनले सुझाव दिए ।

तर लोक सेवाको तयारी कक्षा लिन हेमसँग रकम थिएन । उनले आफ्नो विपन्नता उपाध्यायलाई सुनाए । जमिन बेचेको  रकम पनि लोकसेवा तयारीकै क्रममा सकिएको सुनाए । लोक सेवाप्रतिको हेमको लगाव र मेहनतले मोहित भएका उपाध्यायले धनगढीको एडुपल नेपालमा निशुल्क कक्षाका लागि सञ्चालक टेक पन्तसँग कुरा गरिदिए ।

बद्रि सरसँगको त्यो भेट…


निशुल्क तयारी कक्षाको कुरा भएपछि हेम एडुपल नेपालमा कक्षा लिन थाले । संयोग कस्तो भने युट्युब भिडियो र पछि फोनमा कुराकानी भएका बद्रि सरसँग उनको भेट एडुपलमा भयो । एडुपलले तयारी कक्षाका लागि बद्रि कार्कीलाई बोलाएको रहेछ । हेमले आफ्नो आदर्श मानेका बद्रिसरसँग प्रत्यक्ष चिनजान गरे ।

‘बद्रि सरले धेरै सहयोग गर्नुभो, क्लास सकिएपछि म उहाँ बसेको होटलमा पनि आवश्यक सल्लाहका लागि जान्थे’, हेम भन्छन्, ‘एक महिनासम्म बद्रि सरको कक्षा लिएपछि मेरो मनोबल उच्च भयो ।’

लेखक तथा प्रशिक्षक बद्रि कार्कीसँग हेम

एडुपलमा एक महिना कक्षा लिएपछि हेमले नायब सुब्बा र खरिदारको परीक्षा दिए । ‘मैले नसके कसले सक्ने, म सक्छु’ भन्ने उच्च मनोबलका साथ परीक्षा दिएका हेमको नाम खरिदार र नायबसुब्बा दुवैमा निस्क्यो ।

नायबसुब्बाको अन्तर्वार्तामा पनि पास भएर सिफारिस भएका हेम नियमानुसार खरिदारको अन्तर्वार्तामा सहभागी भएनन् । हाल उनी कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत छन् ।

चुनौतीका पहाडहरु छिचोल्दै नायबसुब्बाको गन्तव्य चुमेका हेम रोकिएका छैनन्, सपना अझै माथि उक्लने छ ।  ‘नेपाल सरकारको सचिव बन्ने सपना छ’, उनी भन्छन् ‘हेरौँ कहाँसम्म पुगिन्छ ।’ उनले लोक सेवाको तयारीमा रहेका आफूजस्तै विपन्न व्यक्तिहरुलाई सहयोग गर्ने भावी योजना रहेको पनि सुनाए ।

सपनाका कुरा गरेका उनले जुन तहमा पुगे पनि जीवनभर नभुल्ने प्रशंग सुनाए । नायबसुब्बामा सफल भएपछि सोही दिन राती सबै सहयोगी हातहरुलाई फोन गरेर खुशीयाली बाँडेका थिए । नेटवर्क समस्याले आमालाई फोन लागेन ।

दोस्रो दिन मात्रै टेलिफोनमा सम्पर्क भएपछि आमासँग भएको संवाद सम्झँदा हेमको मन अहिले पनि रोमाञ्चक बन्छ । पटक–पटक निजी विद्यालयको जागिर छोडेका उनलाई आमाले भनेकी थिइन् ‘छोरा अब चाहीँ जागिर नछोडेस् है !’

माघ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्