लिभरपुलको उपाधि यात्रा थप सहज बन्दै, लियो १६ अंकको अग्रता

लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जित्ने यात्रा लगभग पक्का गरेको छ । पछिल्लो ३० वर्षमा लिगको उपाधि जित्न नसकेको लिभरपुललाई यो सिजन इंग्लिस च्याम्पियन बन्नबाट कसैले रोक्न सक्ने अवस्था देखिएको छैन ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेपछि लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी १६ बनाएको छ ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गरेको हो । पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गरेको हो ।

उसका लागि १४ औँ मिनेटमा भर्जिल भान डिजेकले गोल गर्दै सुरुवाति अग्रता दिलाए । यस्तै इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा मोहम्मद सालहले गोल गरेपछि लिभरपुल २–० विजयी भयो।

जितपछि उसको २२ खेलबाट ६४ अंक भएको छ । एक खेल बढी खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४८ अंक छ । लिभरपुलसँग पराजित भएको म्यानचेस्टर युनाइटेड भने २३ खेलबाट ३४ अंकसहित पाँचौँ स्थानमा छ ।

यस्तै दोस्रो स्थानको होडमा आफूलाई प्रस्तुत गर्दै आएको लेस्टर सिटी आइतबार राति नै भएको खेलमा पराजित भयो । अवे मैदानमा भएको खेलमा लेस्टर सिटी बर्नलीसँग २–१ ले पराजित भएको हो ।

३३ औँ मिनेटमा बार्नेसको गोलबाट लिएको अग्रता लेस्टर सिटीले जोगाउन सकेन । पछि परेको बर्नलीका लागि ५६ औँ मिनेटमा वुड तथा ७९ औँ मिनेटमा वेष्टवुडले गोल गरेका हुन् ।

पराजित भएको लेस्टरले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । तेस्रो स्थानको लेस्टरको २३ खेलबाट ४५ अंक छ । २७ अंक जोडेको बर्नली १४ औँ स्थानमा उक्लिएको छ ।

माघ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्