मेस्सीको गोलमा बार्सिलोनमा नयाँ प्रशिक्षको विजयी सुरुवात, रियल मड्रिड पछि पर्‍यो

बार्सिलोना पुनः स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा फर्किएको छ । एर्नेस्तो भाल्भेर्देलाई बर्खास्त गरेपछि प्रशिक्षकको जिम्मेवारीमा आएका किके शतिएनको पहिलो खेलमा बार्सिलोना विजयी भयो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई ग्रानाडामाथि जित निकाल्न निकै संघर्ष गर्नु परेको हो । ६९ औँ मिनेटमा जर्मन सान्चेज दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ग्रानाडा १० खेलाडीमा सीमित भयो ।

त्यसपछि मात्रै बार्सिलोनाले गोल गरेको हो । बार्सिलोनाका लागि लियोनल मेस्सीले ७६ औँ मिनेटमा गरेको गोल नै टिमको जितका लागि निर्णायक बन्यो । जितपछि शीर्ष स्थानमा फर्किएको बार्सिलोनाको २० खेलबाट ४३ अंक भएको छ ।

दोस्रो स्थानमा झरेको रियल मड्रिडको पनि समान खेलबाट समान अंक नै छ । बार्सिलोना गोल अन्तरका आधारमा अघि बढेको हो । २७ अंकसहित ग्रानाडा १० औँ स्थानमा छ ।

ला लिगा अन्तर्गत आइतबार राति नै भएका अरु खेलमा मालोर्काले भ्यालेन्सियालाई ४–१, रियल बेटिसले रियल सोसिडाडलाई ३–० तथा स्पानियोलले भिल्लारियललाई २–१ ले पराजित गरेको छन् । यस्तै एथ्लेटिको बिल्बाओ र सेल्टा डी भिगोले १–१ को बराबरी खेलेका छन् ।

माघ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू