रोनाल्डो लगातार गोल यात्रामा

क्रिष्टियानो रोनाल्डोले लगातार गोल गर्ने क्रम जारी राखेका छन् । रोनाल्डोले इटालियन सिरी ए फुटबलका पछिल्ला सात खेलमा लगातार गोल गर्दै आएका छन् ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसले पार्मालाई २–१ ले पराजित गरेको छ । त्यसक्रममा युभेन्टसका लागि दुवै गोल रोनाल्डोले गरेका हुन् ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा एक गोल गरेका रोनाल्डोले दोस्रो हाफमा व्यक्तिगत दोस्रो गोल गरेका हुन् । रोनाल्डोले ४३ र ५८ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै पार्माका लागि आन्द्रेआस कोर्नेइउसले ५५ औँ मिनेटमा एक गोल फर्काए ।

रोनाल्डो सन् २००५ यता युभेन्टसका लागि सिरी ए मा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी हुन् । सन् २००५ मा डेविड ट्रेजेगुएतले लगातार ९ खेलमा गोल गरेका थिए ।

जितपछि शीर्ष स्थानको युभेन्टसको २० खेलबाट ५१ अंक भएको छ । उ दोस्रो स्थानको इन्टर मिलान भन्दा चार अंकले अघि रहेको छ । आइतबार राति नै भएको खेलमा इन्टर मिलान लिचेसँग १–१ को बराबरीमा रोकियो ।

अरु खेलमा एसी मिलानले युडिनेसलाई ३–२ तथा रोमाले जेनोआलाई ३–१ ले पराजित गरेको छ । यस्तै बोलोग्ना र हेलास भेरोनाले १–१ तथा काग्लिएरी र ब्रेसियाले २–२ को बराबरी खेलेका छन् ।

माघ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्