रिपोर्टर डायरी

रोहिँग्या शरणार्थी बालकले भने, ‘आन्टी मेरो फोटो खिचिदिनुस् न!’

आश्रयको खोजी गर्दै बर्मा (म्यानमार) को रखाइनबाट आएका अल्पसंख्यक रोहिंग्या मुसलमानहरुको बस्ती अर्थात शरणार्थी शिविर काठमाडौँमै छ भन्ने थाहा नहुने अझै पनि धेरै छन्।

हाल ३८० जना भन्दा बढी रोहिंग्या शरणार्थीहरु काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–११ राममन्दिर र लसुनेटारमा शिविर बनाएर बसेका छन्। यसबारे नेपालसरकारले औपचारिक रुपमा थाहा पाएको धेरै भएको छैन।

गएको कात्तिक अन्तिम हप्ता गठन भएको कार्यदलले १५ दिन लगाएर गरेको अध्ययन प्रतिवेदन प्राप्त गरेपछि मात्रै रोहिंग्याहरु रहेको र उनीहरुको संख्याका बारेमा औपचारिक रुपमा सरकारलाई थाहा भएको गृह मन्त्रालयका प्रवक्ताले देश सञ्चारसँग भनेका थिए। तर, सुरक्षा निकायसहितको निगरानी भने विगत दुई वर्षदेखि नै परेको हो रोहिंग्याहरुमाथि।

रोहिंग्याहरु नेपाल पसेको भने ८ वर्ष नाघ्यो। सन् २०१२ को सुरुवातमा केहीको संख्यामा आएका रोहिंग्याहरु अहिले केही सयको संख्यामा पुगेका छन्। बर्माबाट बंगलादेश त्यसपछि भारत हुँदै सहज गन्तव्यको खोजीको क्रममा उनीहरु नेपाल आइपुगेका हुन्।

सरकारले थाहा पाउन यतिका वर्ष लगाएको भए पनि सञ्चार जगतले भने रोहिंग्या शरणार्थीका बारेमा बेलाबेला समाचार सम्प्रेषण गर्ने गरेका छन्। सन् २०१७ मा बर्मामा हिंसाले उग्र रुप लियो। रोहिंग्या पलायन हुने क्रम सघन बन्यो। त्यसपछि चासो बढ्यो नेपालमा पनि। सोही चासोको क्रममा म पनि रोहिंग्याहरुको शिविर खोज्दै झण्डै तीन वर्ष पहिले कपन भएर लसुनेटार क्षेत्रमा पुगेकी थिएँ।

त्यो बेला राममन्दिर र लसुनेटार शिविरमा रोहिंग्याहरु बसिरहेका थिए भने त्यहाँबाट केही तल लसुनेटारमै टहराहरु बनाईँदै थिए। अर्थात रोहिंग्याहरु थपिएका थिए र थप टहराको खाँचो परेको थियो। त्यो बेलाको स्मरण मलाई अझै पनि ताजै  । रोहिंग्याहरुसँग कुरा गर्न निकै कठिन भएको थियो। उनीहरु मसँग कुरा गर्न हिच्किचाएका थिए। उनीहरु केही भयभित वा आशंकित वा डरको अवस्थामा देखिन्थे।

केही रोहिंग्या पुरुषहरुसँग लामो प्रयासपछि कुरा गर्न सकेकी थिएँ। त्यसपछि केही तस्बिर लिएँ। रोहिंग्या शिविरमा पहिलो पटक पुगेको केही महिनापछि फेरि अर्का एक फोटो पत्रकार साथीसँग म दोस्रो पटक पुगेँ। यो बेला केही सहज भएको थियो उनीहरुसँग कुरा गर्न, उनीहरु मसँग अघिल्लोपटक भन्दा सहज महसुस गरेका जस्ता देखिन्थे। मसँगका अर्का फोटो पत्रकार साथीसँग भने उनीहरु त्यति खुल्न सकेनन्।

हामीहरुले फोटो खिच्नका लागि क्यामरा निकाल्दा धेरै प्रश्न पनि गरे। तर म पहिला पनि गएकोले केही सहज पनि भयो।

तेस्रो पटक हामी १५ महिना पहिले रोहिंग्या शरणार्थीको अवस्था र सरकारी तथा सम्बद्ध निकायको यस विषयमा रहेको जानकारी वा धारणाबारे खोज्ने क्रममा देश सञ्चारमार्फत रोहिंग्या शिविर पुग्यौँ।

यसअघि पनि गएको हुनाले केही सजिलो भयो। तर कुराकानी गर्न जानकारी लिन भने दिनभर नै त्यहीँ बिताउनु परेको थियो। बिहान ८ बज्दा नबज्दै पुगेका हामी साँझ झम्मकै परेपछि फर्किएका थियौँ त्यो बेला।

लगातारको प्रयासका बाबजुद यसअघि मैले रोहिंग्या महिलाको तस्बिर खिच्न पाएकी थिइनँ। तर यो पटक भने एक महिला आफ्नो सन्तानसहित तस्बिर खिच्न राजी भइन्। उनको स्वीकृतिमा मैले पहिलोपटक रोहिंग्या शरणार्थी महिलाको तस्बिर लिएँ।

रोहिंग्याहरुका सम्बन्धमा लगातार चासो लिने भएकाले हामी गएकाे म‌ंसिर मध्यमा फेरि त्यहाँ पुगेका थियौँ। यो पटक पुग्दा लसुनेटारको शिविर नम्बर ३ का टहरा भत्काइएका थिए। अरु शिविर भने छन्।

यो पटकको यात्रा मेरा लागि व्यक्तिगत रुपमा अति भावनात्मक बन्यो। हामी शिविर नम्बर ३ को भग्नावशेष पार गरेर शिविर नम्बर २ मा पुगेका थियौँ। लगभग सुनसान जस्तै रहेको शिविरको बिचमा रहेको आँगनमा केही बालबालिका खेल्दै थिए। त्यसमध्येको एक बालक अति चञ्चल देखिन्थ्यो । खैरो रंगको टिसर्ट लगाएको ती बालक कुदिरहेका थिए।

शिविरमा पस्यौँ । केही व्यक्तिहरुसँग कुराकानी गर्दै थियौँ। यत्तिकैमा एक बालकले मलाई भने, ‘आन्टी मेरो फोटो खिचिदिनुस् न।’ यसो भन्ने त्यही बालक थियो, खैरो रंगको टि सर्ट लगाउने । नाम मुजुर रहमान, वर्ष चार।

मैले उनको फोटो खिचेँ। उनलाई हेर्न मन लागेछ, देखाइदिएँ। सबै सामान्य नै थियो। तर उनले मेरो हातको क्यामरा ताने। अनि मलाई क्यामराको भ्युफाइन्डरबाट हेर्ने खोजे। यो घटनाले मलाई मेरो बाल्यकालमा लग्यो, मैले उनमा भविष्यको एउटा राम्रो क्यामरा पर्सन देखेँ।

नेपाल आएपछि जन्मिएका मुजुर त्यहाँ रहेका अन्य बालक भन्दा अलि फरक थिए। उनी राम्रोसँग नेपाली बोल्ने मात्र होइन बुझ्थे पनि। उनले क्यामराको भ्युफाइन्डरबाट जब आफ्नो बाबुलाई हेरे, उनी निकै खुशी भएका थिए।

धेरै बेरसम्म मुजुर हामीसँग बसे। बेलाबेला आमाले उनलाई काम लगाउँथिन्। उनी आमाले भनेको काम सकेर फेरि हामी माझ पुग्थे। उनले दिनभरि हामी त्यहाँ बस्दा दिएको साथ अनि क्यामरासँग देखाएको लगाबले मेरो मन छोएकै थियो।

तस्बिर खिच्ने प्रयासमा रोहिंग्या बालक मुजुर रहमान।

तर मनमा भावनाहरुका ज्वारभाटा भन्ने बेलुका बिदा हुने बेलामा छुट्यो। हामी त्यहाँबाट फर्कने बेलामा उनले रुन्चे अनुहार लगाए। उनले बाइबाइ भने। मेरो मनमा भने गाँठो पर्‍यो।

थाहा छैन् भविष्यमा उनी कुन पेशामा रहलान्। वा कुनै पेशामा सामेल हुन पाउलान् या नपाउलान् किनकी शरणार्थी भएकाले उनको जीवन अरुको जस्तो निश्चित छैन। क्यामरा मार्फत हेर्दा देखिए जस्तै स्पष्ट उनको भविष्य बनोस् भन्ने कामना मुजुर रहमानका लागि मेरो तर्फबाट।

माघ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्