संकटमा १२२ वर्ष इतिहास बोकेको दाङको '५५ झ्‍याले दरबार'

राणासँग टक्कर दिँदै ‘शान-सौगात’ जोगाउन थारु अगुवाले बनाएका थिए ‘५५ झ्‍याले दरवार’

राणासँग टक्कर दिँदै ‘शान-सौगात’ जोगाउन थारु अगुवाले बनाएका थिए ‘५५ झ्‍याले दरवार’

एक सय २२ बर्षअघि थारु अगुवाले दाङमा बनाएको ५५ झ्याले दरबार जीर्ण अवस्थामा। तस्बिर-दशरथ घिमिरे/देश सञ्‍चार

आगनको एक छेउँमा बालुवाको थुप्रो छ। भित्ता चर्किएर दरार परेको छ। दरार पुर्न बाँसको टेकासो लगाइएको छ। एक छेउँबाट अर्को छेउसम्म बाँसको लस्करै टेकासो लगाएर ‘दरबार’मर्मतको तयारी शुरु भएको संकेत दिन्छ। तर, दरबारको एक छेउँको भित्ता, छत र तल्ला सबै मक्‍कीसकेको छ।

गढवा गाउँपालिका वडा नं. ३ गोवरडिहामा एक सय २२ बर्षको इतिहाँस बोकेको ५५ झ्याले सिंहदरबारको अस्तित्व अहिले संकटमा छ। वि.सं. १९९० अघी दरबारको पुरै संरचना थियो। ५५ झ्याल पनि थियो।

            ५५ झ्याले दरबारको पुरानो तस्विर। दशरथ घिमिरे/देश सञ्‍चार

तर, त्यो भूकम्पले दरबारको एउटा तला भत्किएपछि अहिले ४३ झ्याल छन्।जोखनप्रसाद चौधरीले वि.सं. १९४७ बाट दरबार बनाउन थालेका हुन । दरबार वि.सं. १९५५ मा निर्माण सम्पन्‍न भयो।

काठमाण्डौं बाहिर पनि ५५ झ्याले सिंहदरबार बनाएर तत्कालीन शासक राणाहरुसँग टक्कर गरेको आरोपमा देवेन्द्र चौधरीका बाजे टंकनाथ चौधरीले मुद्दा खेपे। तर, त्यो मुद्दाले सताउने देखेपछि ‘अञ्जान‘मा सिंहको मूर्ति बनाउन पुगिएको जावफपछि मुद्दामा सफाइ पाए।

तत्कालीन राणाहरुले आफूहरुको अस्तित्वसँग टक्कर गर्न खोजेको आरोपमा सर्वश्व हरणसहित डाँडा कटाउने आशयको मुद्दा चलाएको स्मरण थारु संस्कृतविद अशोक थारु बताउँछन्।

उनी भन्छन्, ‘त्यतिबेला राणाको कुनै पनि काम देखासेखी गरेको थाहा पाएमा डाँडा कटाउने वा मुद्दा चलाउने चलन थियो।पछि राणाको नक्कल होइन भनेपछि सफाइ पाएका थिए उनीहरु।’

तस्बिरमा रहेका व्यक्ति जोखनप्रसाद चौधरी ( विचमा) हुन, उनका छेउँमा बसेका महिला उनका श्रीमती। जोखनप्रसादले दुईवटा श्रीमती विहे गरेका थिए। अगाडी बसेका साना बालबालिका मध्य एक जना पर्शुनारायण चौधरी रहेका छन्।

‘राणाकालमा त्यो भवन माथि दुई ओटा सिंहको मूर्ति बनाइयो।त्यो बनाइएपछि हामी राणाहरुसँग पैठोजोरी खेल्ने हिसावले तिमीहरुले आफ्नो अस्तित्व कायम गर्न खोजेको भनेर मुद्दा बोकाइएको हो’ थारुले भने-‘कालान्तरमा वकिलले सिंहको मूर्ति बनाउन नखोजिएको भन्‍ने जवाफ दिएएर सजाय मिनाह गर्न लगाएको मैले परशुनारायण जीबाट सुनेको हो।’

दरबार बनाउदा दुई ओटा ठूला सिंहको आकृति समेत बनाइएको थियो। यही सिंहको आकृतिले दरबारको चर्चा चारैतिर फैलियो। सिंहको आकृती भुई तलासँग जोडिएको आगनको दुई किनारमा थियो।

मुद्दा परेपछि त्यहाँको हटाएर छतमा सानो आकारको सिंहको आकृति बनाइएको हुन सक्ने टंकनाथका नाती देवेन्द्र चौधरीले बताए ।‘उ त्यही ठाउँमा सिंहको ठूला मूर्ति थिए। तर, पछि त्यहाँबाट हटाइएको बाजेले भनेर थाहा पायौं’ उनले भने–‘मुद्दा परेपछि त्यहाँबाट हटाएर माथि बनाइएको थियो रे।’

दरबारमा बाघको आकृति भएकाले सिंहदरबारको नक्कल गरेको भनेर तत्कालिन राणा प्रधानमंत्री मोहन समशेरको पालामा मुद्दा लागेको थियो। टंकनाथ चौधरी १५ दिनको यात्रापछि काठमाण्डौं तारिखमा गएका थिए।करीब २ वर्षसम्म मुद्दा चलेको थियो।

‘तारिख बोकना क्रममे एक दिन बाजे स्व.श्री टंकनाथ चौधरी काठमाण्डु रामशाह पथ हुइति जाइत रहिंत उहेबेला घोडवक काथीक (गद्दी) कौनो भाग टुटगइल तब एक घचिक लग सवारी रुक गइल, तुरुन्त मरम्मत कइना उपाय नै हुइ लागल तब बाजे सवारीक लघुच्येजाके विन्ती कइला सरकार मै मद्दत कै दिउँ। तै कसिक मरम्मत करे सेकबे तोर थेनते कुछ समान नै हो। सरकारसे जवाब पइला, तबबाजे गोझुमसे चक्कु निकारके देखैला ओ काथि मरम्मत करे लगला’

कृतिमा लेखिएको छ–‘कुछ घचिकमे काथी बन गइल प्रधानमंत्री बडा खुशी हूइँला तब बाजेसे काठमाण्डु अइलक यथार्थ बात पुँछला।तब बाजे यिहे महलके मुद्दा सम्बन्धी यथार्थ बात बतैला। तब जाके सरकारसे आश्वासन पइला तोरकाम हुजाई उहे समयसे बाजे हे काठमाण्डु तारिख मे नैजाइ परेलगलीन।’

यति ठूलो दरबार किन बनाइयो?


शान सौगत बढाउन एक सय २२ बर्षअघि ५५ झ्याले दरबार बनाएको  थियो।अहिलेसम्म सत्ताको मात्रै इतिहास लेखियो। जनताको इतिहास लेखिएन। एक हदसम्म यो दरबार जनताको इतिहास लेख्‍ने पाटोबाट अघि बढेको पाइन्छ।

सुगौली सन्धिको बेला दशगजा चुरे भन्दा वर आइरहेको थियो। तर, अहिले त पल्लो पट्टि छ। त्यो बेला पनि थारु समुदायमा माइनजन परम्परा थियो। त्यो माइनजनको पद राज्यले नै दिएको हो। त्यस्तो मानजनहरु देउखुरीमा त थुप्रै थिए। जस मध्य गोवरडिहा परिवारको कालाकाटे देखी राजपुरसम्म ‘राज्य’ जस्तै चलेको थियो।

कोइलावासदेखि पूर्वतर्फ ७ ओटा नाका थिए। कोइलावासदेखि पश्चिम पट्टी १७ ओटा नाका थिए। यी नाका सामान आयात निर्यात गर्ने थलोको रुपमा थिए। दरबार बनाउने जोखन प्रसाद चौधरी वि.सं. १९७५ देखि १९८५ सम्म माइनजन भएको इतिहास ‘गोवरडिहा सतगौंवा कुटुम्बके संक्षिप्त इतिहास’ प्रकाशन्मुख कृतिमा उल्लेख छ।

तर, मानजन हुनुभन्दा अघिबाटनै यो परिवारलाई राजश्व संकलनको अधिकार दिइएको सत्गौवा थारु समाजका जानकार खड्गप्रसाद चौधरी बताउँछन्।‘यो परिवारले आफ्नै धन सम्पत्ति खर्च गरेर दरबार बनाएको हो’ चौधरीले भने–‘ठूला-ठूला मौजा चर्चिएका थिए।राजश्व संकलनको अधिकार पनि थियो।’

गढवादेखि पश्चिम बाँके सम्मको कर उठाउने जिम्मेवारी मटेरीया परिवारलाई थियो। गढवा देखी पूर्वपट्टि ७ ओटा नाकाको कर उठाउने जिम्मेवारी गोवरडिहा परिवारलाई थियो।

कर उठाइ सकेपछि त्यसको ५० प्रतिशत राजश्वमा दाखिला गर्नुपर्ने र ५० प्रतिशत आफूखुसी विकासमा खर्च गर्नुपर्ने प्रावधान थियो।‘रस्ती रसाई, बस्ती बसाइर्, मौजा आवाद गुल्जार गर्नु’ भन्ने अख्तियारी हुन्थ्यो।

रैती नभएमा मुग्लानवाट रैत ल्याएर भएपनि मौजा आवाद गुल्जार गर्नु भन्‍ने थियो।त्यतिबेला जनसंख्या त कम थियो।त्यसपछि भारतबाट रैत ल्याएर भएपनि मौजा आवात गुल्जार गर्नू भन्‍ने अख्तियारी उनीहरुले पाएका थिए ।

‘त्यो अवस्थामा त आर्थिक अवस्था बलियो हुँदै गयो।त्यतिबेला त्यस्तो भवन शान सौतगत बढाउन, आफ्नो मान, मर्यादा, सामाजिक प्रतिष्ठा कायम गर्नको लागि बनाइन्थ्यो’ थारु संस्कृतविद अशोक थारुले भन्छन् –‘त्यही उद्देश्यले दरबारको स्वरुप दिएर भवन बनाइएको पाइन्छ। दरबार बनाउन भारतीय कालीगढ प्रयोग गरिएको थियो।’

ज्यालामा चाँदीको सिक्का लिएर कालीगढ लगाइएको बाउ-बाजेले भनेर थाहा पाएको देवेन्द्रले बताए ।‘दरबार बनाउनेहरुलाई चाँदीको सिक्का ज्यालाको रुपमा दिइएको थियो रे’उनले भने–‘दरबार तीन तल्लाको थियो। १९९० को भुकम्पले पहिलो तल्ला चर्किन पुग्यो र भत्काइयो।’

दरबारको इतिहासबारे खोजी गरिरहेका टंकनाथ चौधरीका नाती मनोज चौधरी।

वि.सं. १९९० को भुकम्प समेत यो दरबारले थेग्यो। २०७२ सालको भूकम्पले त यो दरबार टसमस समेत भएन। दरबार पक्कि ईटा, चुना, मसको चोकर, भेली, बेल, र सुर्खी प्रयोग गरेर निर्माण गरियो। सुर्खी पिस्न गोरुले दाई लागे जस्तै गरेर ढुंगाबाट बनाइएको ठूलो चाँखी प्रयोग गरिएको थियो।

अण्डरग्राउण्ड कोठासहित, विचमा खुल्ला ठाउँ र अट्याच बाथरुम सहितको कोठा बनाइएको थियो। यो दरबार ३९६ वर्ग मिटर, लम्बाई २२ मीटर, चौडाइ १८ मीटर क्षेत्रफलमा फैलिएको छ। तीन तल्ले दरबार थियो। उत्तरी मोहरा शुभ मानेर दरबारको मुख्य प्रवेशद्वार उत्तरी दिशामा बनाइएको छ।

दरबार नजिकै बनेको हंशेश्‍वर महादेवको मन्दिर।

दरबारमा ३० ओटा कोठा, ५५ ओटा झ्याल र ३६ ओटा ढोकाले सिंगारिएको थियो। दरबारको बीचभाग तलदेखि माथिसम्म खुल्ला ठाउँ छ। माथिल्लो तलामा जान भित्री रुपमा उत्तर र दक्षिणतिर काठको भर्‍याङ्ग छ।

दरबार संगै हंशेश्वर महादेवको मन्दिर र कुवा समेत बनाइएको थियो।

यो मन्दिरमा शिवरात्रिको दिनमा मेला समेत लाग्ने गरेको छ।

गोबरडिहा सतगौंवा परिवारको ऐतिहासिक धरोहर “बडका महल” ५५ झ्याले दरबारलाई लिने गरेका छन्। दरबारको डिजाईन कुनै इञ्जिनियरले नभइ जोखनप्रसादले आफ्नै स्वविवेकले तयार पारेको इतिहासबाट थाहा भयो।

‘महल निर्माणके लग भारतके तुल्सीपुर, उतरौला, विश्कोहर, बस्ती ओ गोरखपुरसे मुस्लिम कालीगढ आइल रहिंत’ प्रकाशन्मुख पुस्तकमा भनिएको छ–‘सिपार, निपूर्ण ओ लगनशील कालीगढ हुइलक ओरसे आकर्षक, सुन्दर कलात्मक ढाँचामे सिंगारके विशाल दरबारके रुपमे निर्माण हुइसेकलक हो।’

दाङको दरबारको अस्तित्व अहिले संकटमा


५५ झ्याले सिंहदरबारको नामले परिचित दाङको दरबारको अस्तित्व अहिले संकटमा छ।

पूर्व शिक्षा मन्त्री समेत बनेका दिवंगत पर्शुनारायण चौधरी सहित पाँच भाईको साझा अंशको रुपमा रहेको यो दरबार संरक्षणमा पारिवारिक सहमति नजुट्टा संकटमा परेको हो। दरबारलाई संग्राहलयको रुप दिन पाँच परिवारको विचमा सहमती नजुट्दा दरबार भग्नावशेषको रुपमा परिणत हुन पुगेको छ।

              दरबारको ढोकामा कुँदिएको आकृति हेर्दै देवेन्द्र चौधरी ।

सरकारले सहयोग गरेर संग्राहलयको रुप दिने बताएपनि पारिवारिक सहमति नजुट्दा पछि झन झन यो दरबारको अस्तित्व संकटमा छ।

‘हामी चाहन्छौं दरबार संरक्षण होस्। तर, सबै परिवारको विचमा सहमति जुटेको छैन्’दरबार संरक्षण अभियानमा जुटेका मनोज चौधरीले भने–‘दरबारसँग जोडिएका इतिहास संकलन गर्ने काम त गरिरहेका छौं। तर, भौतिक रुपमै दरबार संकटमा पर्न थालेकाले चिन्ता बढेको छ।’

सबै तस्बिरहरु- दशरथ घिमिरे/देश सञ्‍चार


माघ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू