एन्फाको क्‍यालेण्डरमा विराट गोल्डकप समावेश

काठमाडौं-अखिल नेपाल फुटबल संघ एन्फाले विराटनगरमा हुने विराट गोल्डकप फुटबल प्रतियोगितालाई क्यालेण्डरमा समावेश गरेको छ।

विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले एन्फाले गोल्डकपका लागि चैत्र २७ गतेदेखि बैशाख ६ गतेसम्मको समय निर्धारण गरेको जानकारी दिए।

विराटनगरमा सोमबार आयोजित एक कार्यक्रममा ट्रष्टका अध्यक्ष बानियाँसँगै विराटनगर महानगरका प्रमुख भीम पराजुलीले फुटबलका लागि महानगर हरसंभव सहयोग गर्ने बताए।

उनले भने, ‘महानगरमा हुने प्रतिष्ठीत फुटबल प्रतियोगिताका लागि फ्लड लाइट्स नै भनेर पर्खनु पर्र्दैन। आर्थिक रुपमा महानगर सहयोग गर्न सक्षम छ। अघि बढ्नुस हामी साथमा छौ।’

महानगरले गोल्डकपका लागि ११ लाख रुपैया बजेट विनियोजन गरेको बताएका प्रमुख पराजुलीले यसमा नपुग भएपनि महानगर रकम सहयोग गर्न तयार रहेको उल्लेख गरे।

ट्रष्टका महासचिव मनोज बस्नेतले एन्फाले प्रतियोगिताका लागि मिति तय गरेकोमा उत्साहित भएको बताए। उनले भने, ‘अब प्रतियोगिता गराउने जिम्मेवारी हाम्रो हो। फ्लड लाईट्सनै जडान नहुदाँको अवस्थामा समेत गोल्डकप गराउनतर्फ केन्द्रित हुनुपर्छ।’

प्रतियोगिता आयोजनास्थल सहिद मैदानमा फ्लड लाइटस्को विषयमा समाजिक विकास मन्त्रालय प्रदेश एकद्धारा गठित प्राविधिक समितिको अन्तिम निर्णयको पर्खाइमा निर्माणकर्ता रहेकाछन्। फ्लड लाईट्सका लागि विराटनगरको कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सनले जिम्मेवारी पाएको छ।

कन्स्ट्रक्सनका प्रमुख गणेश कार्कीका अनुसार ९० दिनभित्र मैदानको चौकुनामा मास्टसहित लाइट्स जडान हुनेछ। प्राविधिक समितिको बैठकको अन्तिम निर्णयको पखाईमा आफूहरु रहेको उनले बताए। यसअघि मास्ट र लाइट्सका लागि समितिले निर्णय गरेपनि फाउण्डेसनको बारे भने छलफल जारी राखेको थियो।

सुरुमा मैदानको चौकुनामा ओपन फाउण्डेसनबाट काम अघि बढाउने भनिएपनि भौतिक संरचनामा बढि क्षति हुने देखिएपछि, समितिले पाइल फाउण्डेसनबाट काम अघि बढाउने संकेत गरेको छ।

ओपन फाउण्डेसनमा २० बाइ २० को १० फिट गहिरो खन्नुपर्ने हुदाँ मैदानको उत्तरपूर्व र दक्षिणपश्चिमतर्फको प्याराफिटको केही भाग भत्किने भएपछि समितिले पाईल फाउण्डेसनमार्फत कार्य गर्ने योजनामा रहेको छ। जुन ३३ फिट गहिरो खाल्डोमा मास्ट जमिनबाट ३३ मिटरसम्मको उचाइमा रहनेछ।

निर्माण ब्यवसायी कार्कीका अनुसार मंगलबारबाटै काम सुरु गर्न दिएको खण्डमा चैत्रको तेश्रो सातासम्ममा फ्लड लाइट्स जडान गर्नेमा विश्वस्त छन्।

निर्माण हुने चार वटा मास्टमध्ये प्रत्येक एकमा २७ वटा गरि कुल १ सय ८ वटा बत्ती रहनेछन्। यसअघि प्रत्येक मास्टमा २४ वटा गरि कुल ९६ वटा बत्तीको प्रयोग हुने जनाइएको थियो।

माघ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्