कैलालीमा क्षयरोग उपचार केन्द्रको स्थापना, बेल्जियमकी राजकुमारीले गरिन् उद्‌घाटन

धनगढी-कैलाली गोदावरी नगरपालिका-६ श्रीपुरमा क्षयरोग उपचार प्रेषण तथा अनुसन्धान केन्द्र स्थापना गरिएको छ।

केन्द्रको सोमबार वेल्जियमकी राजकुमारी एस्ट्रिड र संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संयुक्त रुपमा उद्‌घाटन गरेका छन्।

स्थानीय दानदाता र क्षयरोग अनुसन्धान केन्द्र दामियन फाउन्डेसनको आर्थिक सहयोगमा लक्ष्मीनारायण क्षयरोग उपचार प्रदेश व्यवस्थापन तथा अनुसन्धान केन्द्र स्थापना गरिएको हो।

अनुसन्धान केन्द्रका लागि दुईको भवन तयार पारी सञ्चालमा ल्याएको छ।भवनमा विभिन्न सामग्री सहित ५ करोड बढी खर्च भएको मानव संशोधन विकास प्रतिष्ठानका अध्यक्ष लक्ष्मीराज पन्तले जानकारी दिए।

उद्घाटन कार्यक्रमा मन्त्री ढकालले क्षयरोगीहरुका लागि सहजै उपचार पाउन सुदूरपश्चिम प्रदेशमा यस प्रकारको निःशुल्क क्षयरोग उपचार केन्द्र खोल्न पहल भएकोमा सहयोगीलाई धन्यबाद दिए।

‘सरकार जनतालाई कुनै पनि उपचारबाट बञ्चित नहुने गरी स्वास्थ्य संस्था स्थापना गर्ने गृहकार्यमा लागेको छ’ मन्त्री ढकालले भने-‘सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर क्षयरोग उच्च जोखिममा रहेकाले पहिलो चरणमा यस प्रकारको अस्पताल अगाडि सारिएको हो।’ उनले स्थानीयहरुको पहलमा भएको पवित्र कार्यले अरु प्रदेशको लागि पनि पाठ सिकाइ हुने विश्वास व्यक्त गरे।

वेल्जियमकी राजकुमारी एस्ट्रिड वेल्जियमको स्वास्थ्यसम्बन्धी काम गर्ने गैर सरकारी संस्था दामियन फाउन्डेसनको मानार्थ अध्यक्ष हुन्। दामियन फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग र मानव संसाधन विकास प्रतिष्ठानले भौतिक पूर्वाधारमा सहयोग रहेको दामियन फाउन्डेसन नेपालका प्रमुख डाक्टर शुशिल कोइरालाले बताए।

‘क्षयरोगीहरुको सहजै उपचार गर्ने उदेश्यका साथ अनुसन्धान केन्द्र स्थापना गरिएको छ’ उनले भने– ‘सरकार संग हातेमालो गरी अगाडि बढ्ने छौँ।’ सामाजिक कार्य गर्ने उदेश्यका साथ २०६६ सालमा धनगढी ईन्टरनेशलन कलेज निर्माण गर्ने योजना अगाडि बढाउँदै महायज्ञ सञ्चालन गरिएको थियो।

महायज्ञबाट एक करोड ८० लाख संकलन भएको थियो।इन्टरनेशनल कलेज स्थापना हुन नसकेपछि क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना गरिएको मानव संशोधन विकास प्रतिष्ठानका महासचिव पदमराज जोशीले जानकारी दिए।

प्रदेश स्तरीय क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना भएपछि क्षयरोगका विरामीलाई उपचारका लागि सहज हुने विश्वास गरिएको छ।धनगढीको लक्ष्मीनारायण मन्दिरले ३ विघा जमिन दान गरेपछि अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अगाडि बढेको महासचिव जोशीको भनाइ छ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिममा ३ हजार १ सय ६९ जना क्षयरोगीहरुको संख्या रहेको छ।३५ बेड भएको अनुसन्धान केन्द्र विस्तार अन्य रोगीहरुको पनि सेवा विस्तार हुने छ। अनुसन्धान केन्द्रबाट क्षयरोगको उच्च जोखिममा रहेका बिरामीको उपचार हुने छ।

स्वास्थ्य निर्देशानालय डोटीका अनसार कैलाली कंचनपुर क्षयरोगको दृष्टिकोणले उच्च जोखिममा रहेका जिल्ला हुन्।अहिले अनुसन्धान केन्द्रमा ८ जना उपचार्थ रहेका छन्।

माघ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्