ट्रम्पको कानूनी टिम: तत्काल ट्रम्पलाई आरोपमुक्त गरियोस्

महाभियोगको सामाना गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कानूनी टिमले माग गरेको छ कि सिनेटले तत्काल ट्रम्पलाई आरोपमुक्त गरोस् ।
सिनेटमा हुने महाअभियोगमाथिको बहसको क्रममा राष्ट्रपति ट्रम्पको पक्षबाट वकालत गर्ने कानूनी टिमले तत्काल आरोप मुक्त गरिनु पर्ने माग गरेको हो ।
ट्रम्पको कानूनी टिमले सोमबार सिनेटमा पेश गरेको ब्रिफिङ्गमा राष्ट्रपतिमाथि लागेको महाअभियोग अमेरिकी संविधानको ‘खतरनाक विकृतिकरण’ रहेको उल्लेख गरिएको छ ।
यसैबिच सभामुख न्यान्सी पेलोसीले सिनेटमा हुने बहसका लागि गठन गरेको व्यवस्थापकहरुको समूहले पनि सिनेटमा आफ्नो ब्रिफिङ्ग पेश गरेको छ । व्यवस्थापकहरुको समूहले पेश गरेको ब्रिफिङ्गमा राष्ट्रपति ट्रम्प ‘आउँदो चुनावमा दखल गर्नका लागि भ्रष्ट गतिविधिमा संलग्न’ भएको उल्लेख छ ।
सिनेटमा ट्रम्पमाथिको महाअभियोगबारेको बहस सिनेटमा नेपाली समय अनुसार मंगलबार राति पौने १२ बजेदेखि सुरु हुनेछ ।
अमेरिकाको इतिहासमा महाअभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् । उनीमाथि शक्तिको दुरुपयोग र संसदको कार्यमा अवरोध गरेको आरोप छ ।
विपक्षी डेमोक्र्याटको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले गएको डिसेम्बरमा ट्रम्ममाथि औपचारिक रुपमा महाअभियोग लगाएको थियो ।