धरौटीमा छुटेका पाँचजना विप्लव कार्यकर्ता अदालत परिषरबाटै पक्राउ

दाङ – झण्डै दुई महिना अघि दाङको राजपुरबाट पक्राउ परेका २१ जनामध्ये पाँचजनालाई पुनः दाङ देउखुरी जिल्ला अदालत परिषरबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले दाङका रामबहादुर थापा, यामलाल कटुवाल, ईन्द्रबहादुर वली, रोल्पाका हितप्रसाद रोका र अमृत घर्ती मगरलाई अदालत परिषरबाट पक्राउ गरेको हो । पाँचै जनाले १५÷१५ हजार रकम धरौटी बुझाएर छुट्ने तयारीमा रहेका थिए ।

दाङ प्रहरीले गएको असोज ३० गते राजपुर गाउँपालिका ४ मगराइना खोलामा बैठक सम्पन्न गरेर सुतेको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ परेको दुई महिनापछि पुस ७ गते दाङ देउखुरी जिल्ला अदालतले प्रतिव्यक्ति १५ हजार धरौटी रकम बुझाएर छोड्न आदेश दिएको थियो ।

गएको पुस ७ गते दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले २१ जना विप्लव समूहका नेताहरुलाई जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । अदालतको आदेश अनुसार धरौटीमा छुट्ने तयारी गरेका नेताहरुलाई प्रहरीले पुनः पक्राउको तयारी गरेपछि धरौटी रकम बुझाएका थिएनन् ।

दाङ प्रहरीले नेत्र विक्रम चन्द विप्लव समूहका मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द वीरजंगसहित समूहका २१ जना उच्च तहका नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये चारजना कपिलबस्तुबाट छुटेका छन् भने तीनजना रोल्पा र दुईजनालाई प्यूठान पठाइएको छ । बाँकी ६ जना घोराही कारागारमा रहेका छन् ।

दाङ प्रहरीले हतियार, बिस्फोटक पदार्थ, नगद रुपैयाँ र पार्टीका महत्वपूर्ण दस्ताबेज बरामद गरेको थियो । वीरजंगसहित राप्ती ब्यूरो इञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन समेत पक्राउ परेका थिए ।

माघ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्