आस्था राउत, नेपाल प्रहरी र अस्ट्रेलियन पुलिस

तस्बिर: गायिका आस्था राउतकाे फेसबुकबाट

करिब १० वर्षअघिको कुरो हो, यो ज्यानले अस्ट्रेलियाको भूमि टेकेको खासै धेरै समय भएको थिएन । शरीर जोश र उर्जाले भरिपूर्ण थियो । त्यसबेला, एक दिन कामबाट घर फर्किँदा ६० किमीको लिमिट भएको क्षेत्रमा ७० को हाराहारीमा गाडी कुदाउन पुगेछु । नियम मिचेर गाडी हाँक्ने बानी त मेरो थिएन तर कहिलेकाँही मानिसबाट गल्ती भइ नै हाल्छ ।

त्यस दिन अञ्जानमै भए पनि मैले गल्ती गरेको थिएँ अर्थात् तोकिएको गतिभन्दा तीव्र गतिमा गाडी हाँकेको थिएँ । संयोगले त्यतिखेर एक ट्राफिक प्रहरीले लुकेर मेरो गति मापन गरेका रहेछन् । अनि उनीसँग रहेको ‘राडार गन’ ले तीव्र गति भएको देख्नासाथ मेरो पछिपछि साइरन बजाएर गाडी रोक्ने निर्देशन दिइहाले ।

नेपालबाट प्रवास भर्खर झरेको यो बबुरोको मनमा प्रहरी भन्नासाथ ‘चोर र डाँका’लाई समात्ने अनि गल्ती गर्नेलाई त घोक्रेठ्याक लगाउँदै पुलिसको भ्यानमा हाल्नेहरु हुन् भन्ने किसिमको मानसिकताले जरो गाडेको थियो । त्यसमाथि अस्ट्रेलियाको पुलिसले मलाई साइरन बजाउँदै गाडी रोक्न लगाएपछि त एकछिन मुटुले ठाउँ छोड्लाजस्तै भयो । मनमा चाहिँ के गल्ती गरियो कुन्नि, अब यो पुलिसले मलाई पनि घोक्रेठ्याक लगाउँदै अनि डण्डा देखाएर भ्यानभित्र जाक्ने पो हो कि भन्ने डरले थरथर काम्न थाल्यो । डरले ङिच्च हुँदै गाडीलाई बाटोछेउमा रोकेँ अनि मेरो गाडीपछि पुलिसको गाडी रोकियो । त्यसको केही बेरपछि एक पुलिस मेरो गाडीको झ्यालमा आएर नम्र भाषामा बोल्दै भने, “अहिले तपाईँ र मबिच भएको संवादलाई श्रव्य र दृश्यमार्फत् मेरो छातीमा झुण्ड्याइएको क्यामेरामा कैद गरिरहेको छ । यो वार्तालाई अदालतमा प्रमाणका रूपमा पेश गर्न सकिनेछ ।”

यति भनिसकेपछि प्रहरीले फेरि सुमधुर स्वरमा मलाई सम्झाउँदै भने, “तपाईँलाई थाहा छ मैले किन तपाईँको गाडी रोकेँ भनेर ?”
थाहा नपाएजस्तो गरेर मैले सहज उत्तर दिएँ, “छैन ।”

उनले फेरि भने, “तपाईँको गाडीको रफ्तार मेरो राडार गनले ७० किलोमिटर प्रतिघण्टा मापन गरेको छ । यो ६० किमीप्रति घण्टाको क्षेत्र हो । तपाईँले लिमिटभन्दा बढी गतिमा गाडी हाँक्ने के त्यस्तो कारण आइपर्‍यो ?”

मैले हाँस्दै आफ्नो भूल स्वीकारेर भनेँ, “त्यस्तो त केही थिएन । अनि मैले जानीजानी त्यस्तो गरेको होइन ।”

त्यसपछि उनले मलाई सम्झाउँदै त्यो गल्ती गरेबापत् भोग्नुपर्ने सजायका बारेमा जानकारी दिँदै सोही अनुसार जरिवानाको रसिद दिएर आफ्नो बाटो सरासर लागे । म पनि त्यो जरिवानाको रसिद लिएर आफ्नो घरतिर लागेँ । गल्ती गरेपछि गल्ती स्वीकार्नु र जरिवाना भोग्नु मेरो दायित्व रह्यो भने प्रहरीले आफ्नो सीमा र कर्तव्यभित्र रहेर नम्रताका साथ मलाई सजायको भागिदार बनाए ।

कोम खत्री

अस्ट्रेलियामा प्रहरीसँग जम्काभेट भएको त्यो मेरो पहिलो घटना थियो । घटना पहिलो भए पनि यहाँ प्रहरीहरू नियम, पद्दति र आफ्नो अधिकारको सीमा र मर्यादाभित्र कसरी बसेका रहेछन् भनेर प्रष्टसँग देख्ने मौका त्यसबखत् मैले पाएको थिएँ । प्रहरीको बोली, वचन र कार्यशैलीले समग्र प्रहरी संगठनको छविलाई प्रतिबिम्बित गरेको हुन्छ । यहाँ प्रहरी हुँदैमा कसैलाई पनि कानूनले दिएको अधिकारभन्दा बाहिर गएर काम गर्ने छुट छैन । त्यसैले यहाँ प्रहरीप्रति आम मानिसले विश्वास र भरोसा गर्छन् अनि चाहिएको बेला एकआपसमा हातेमालो गरेर समग्र समुदायको हितका लागि काम गर्छन् । अपवादबाहेक यहाँ प्रहरी भनेका समुदायलाई कुनै पनि दुःख, कष्ट परेको बेलामा अघि बढ्ने र समुदायको हितका लागि काम गर्ने समुदायका सारथीका रूपमा लिइन्छ । प्रहरीले यहाँ मुख्यतया अपराधीहरूलाई समातेर कानूनको जिम्मा लगाउँछन् र कानूनले तोकेको कार्यभन्दा बाहिर गएमा उनीहरू पनि कानूनअनुसार दण्डित हुन्छन् ।

अर्काे घटनामा केही महिना अगाडि अस्ट्रेलियाका एक सेलिब्रिटी कलाकारले २९ वर्षीय एक प्रहरीलाई मुक्का हाने । ४६ वर्षीय ती कलाकारले त्यसो गर्नासाथ प्रहरीले उनलाई समात्यो अनि अर्काे दिन अदालतमा मुद्दा दर्ता ग¥यो । ड्यूटीमा रहेको प्रहरीलाई हमला गरेको अनि प्रहरीलाई आफ्नो काम गर्न निषेध गरेको आरोप लगायो ।

अदालतले ती कलाकारलाई दोषी सावित गर्दै जमानत अस्वीकार ग¥यो, सजायको भागिदार बनायो।

नेपालमा प्रहरीको छवि योभन्दा भिन्न छ । प्रहरीप्रति सर्वसाधारणको त्यति सकारात्मक धारणा पाईँदैन । मुस्कानसहितको सेवा दिने भनेर बेलाबेलामा प्रहरीले जनताप्रति देखाउने व्यवहारलाई सुधार्ने प्रयत्न गरे पनि त्यो पूर्णरुपमा कार्यान्वयन भएको छैन ।

चेन अफ कमाण्डका आधारमा चल्ने यो संगठनमा उपल्लो तहका कर्मचारीले तल्लो तहकालाई गर्ने व्यवहारको समेत बेलाबेलामा आलोचना हुँदै आएको छ । आम मानिसले प्रहरीलाई साथीका रूपमा भन्दा पनि चोर र गुण्डा समात्ने मानिसका रूपमा मात्र बुझ्ने गरेका छन् ।

कानून सबैका लागि बराबर हुनुपर्छ । सेलिब्रिटी हुँदैमा वा उच्च ओहोदामा आसिन हुँदैमा कानूनले फरक दृष्टि राख्न र फरक व्यवहार देखाउन सक्दैन । अझ कलाकार भएपछि उनीहरूका जिम्मेवारी र दायित्वको दायरा अझ फराकिलो हुने गर्दछ । सोहीअनुरूप आम मानिसले उनीहरूबाट असल आचरण र व्यवहारको अपेक्षा गर्ने गर्दछन् । कलाकार आस्था राउतबाट पनि विमानस्थलमा प्रहरीसामु त्यस्तै व्यवहारको अपेक्षा गर्नुलाई अन्यथा लिन सकिँदैन । तर प्रहरी अधिकारीको व्यवहार पनि नम्र हुनु पर्ने देखिन्छ ।

प्रधानमन्त्रीजस्तो पदमा बसेका व्यक्तिलाई माझी औँला देखाएर गाली गर्ने अनि मुख छाडेर गाली गर्दा पनि वाकस्वतन्त्रताको हवाला दिँदै प्रधानमन्त्रीले त्यस्ता घटनालाई सामान्य रूपमा लिएका यथेष्ट उदाहरण अस्ट्रेलियामा छन् । तर नेपालमा ठूला अपराधलाई छोडेर सामान्य रुपमा मिलाउन सकिने घटनालाई ठूलो बनाइएको जस्तो देखिएको छ आस्था राउतको सवालमा ।

३३ किलो सुन काण्डका फुटेजहरू गुपचुप राख्ने तर कलाकार आस्था राउतको क्लिप सार्वजनिक गर्न कानूनी प्रक्रिया अपनाइएको थियो या थिएन भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । अझ त्यस सिसिटिभी क्लिपभित्र रहेका अन्य मानिसहरूको परिचयलाई सुरक्षित राख्ने प्रयत्न गरिएको छ वा छैन भन्ने प्रश्न पनि विकसित समाजमा उत्तिकै महत्वपूर्ण हुने गर्दछ । यदि कुनै व्यक्तिले कानून तोडेको पाएमा प्रहरीले उनलाई तुरुन्तै नियन्त्रणमा लिएर अदालतमा पेश गरेर कारबाहीको मागसम्म गर्ने अधिकार राख्छ ।

अझ सत्तारूढ दलले आफ्ना कार्यकर्तालाई घरमा कस्तो व्यवहार गर्ने, कोसँग कसरी बोल्ने अनि ‘तँ’ सर्वनामलाई निषेध गर्ने उर्दी जारी गर्नुले सत्तारूढ दल दिनदिनै कठोर बन्दै गइरहेको स्पष्ट रूपमा देख्न सकिन्छ । ‘मुटु भएका सम्पादकहरू’ मार्फत् सरकारको प्रशंसा मात्र खोज्नु, सूचना प्रविधि विधेयकका नाममा सरकारलाई सामाजिक सञ्जालमा गाली गर्नेलाई समेत सजायको भागिदार बनाउनु पनि निरंकुशतातर्फको एउटा अध्याय रहेको पुष्टि हुन्छ ।

माघ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्