टर्कीको च्यान्दुलर ओखरका विरुवा हुम्लामा ल्याइने

सिमकोट– थोरै समयमा फल फल्न सक्ने जातको ओखरको विरुवा टर्कीबाट हुम्लामा ल्याइने भएको छ । ओखर खेतीको बढी सम्भाबना भएको क्षेत्रमा हुम्ला पर्ने भएको कारण उक्त ओखरलाई स्थानीय युवाहरुको पहलमा जिल्लामा ल्याउन लागिएको हो ।

बोट लगाएको दुई वर्षमा फल दिने भएपछि टर्कीको च्यान्दुलर जातको ओखर हुम्ला जिल्लामा पहिलो पटक ल्याउनका लागि अर्डर गरिएको कृषि प्राबिधिक समेत रहेका सिमकोट गाउँपालिका वडा नम्बर ५ निवासी सुन्दर रावतले बताए ।

पहिलो पटकका लागि पाँच हजार ओखरका विरुवाहरु ल्याइने उनले बताए । दश बोट ओखर लगाएपछि परागसेचनका लागि एक बोट फ्रायन्कुते लगाएर यसलाई सुरक्षित राख्न सकिनेछ ।

हलुका र मिठो स्वादको यो ओखरलाई एक रोपनी जमिनमा १५ देखि २० बोट लगाउन सकिन्छ । समुन्द्र सतह देखि एक हजार दुई सय मिटर अग्लो स्थानमा खेती गर्न सकिने यो ओखर यस अघि जुम्ला जिल्लामा सफल रुपमा खेती भएर फल दिन थालेको छ।

माघ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्