कालिन्चोक, ‘नेपालको स्वीट्जरल्याण्ड’ (तस्बिरहरु)

हिउँले ढाकिएको कालिन्चोक क्षेत्र। तस्बिर : प्रतिभा चन्द/देश सञ्चार

जङ्गलको बिचमा खाल्डाखुल्डीयुक्त साँघुरो बाटो। त्यही हिलाम्मे बाटोमा मुश्किलले गर्दै गुडिरहेको गाडी। गाडीमा भेडा–बाख्रा जसरी खाँदिएका युवा–युवती।

बाटोको छेउछाउमा सेताम्मे हिउँ। अनि त्यहि सेतो हिउँमाथि हिँडिरहेका मानिसहरुको भिड। यो दृश्य काठमाडौँको नजिकै रहेको पहाडी जिल्ला दोलखाको थियो।

पछिल्लो समय दोलखा पर्यटकीय हिसाबले चर्चामा आएको छ। दोलखाको कोलिन्चोकमा हिउँ खेल्न जानेहरुको घुइँचो थेगिनसक्नु थियो।

कोही हिउँमा उफ्रिँदै थिए। कोही हिउँका डल्ला एक अर्का माथि फ्याँकिरहेको थिए। कोही हिउँ मानव बनाएर फोटो खिच्दैथिए।

जति हेरे पनि कहिल्यै आँखा नथाक्ने सुन्दर ठाउँ, कालिन्चोक।

हिउँको बिचमा हिँडिरहँदा रुखबाट बर्रर खसिरहेको हिउँ। बिच बाटोमा हिउँले छपक्क छोपिएका गाडी तथा मोटरसाइकलहरु। अनि चेन चुडिँएर बनाइरहेका गाडीहरु। यी कुराहरुले यात्रुहरुलाई अझ थप रोमाञ्चक बनाइरहेको थियो।

त्यसैले त कालिन्चोक पुग्ने जो कोहीले पनि स्वर्गको अनुभुति गर्छ। नेपालमा पनि यति सुन्दर ठाउँ रहेछ भन्दै आनन्दको स्वास फेर्नेहरु थुप्रै भेटिन्छन्। कुरी पुग्दा त झन धेरैलाई लाग्छ, के यो साँच्चै नेपाल नै हो?

कुरी पुगेर फोटो खिचिरहेका धेरैको मुखबाट निस्किरहेको थियो,‘नेपालको स्वीट्जरल्याण्ड हो यो।’

सेतो हिउँले छोपिएका घर देख्दा कस्को पो मन नलोभिएला र?

पछिल्लो केही दिन यता लगातार भएको वर्षातसँगै पहाडी तथा हिमाली जिल्लाहरुमा हिउँ पर्‍यो। कालिन्चोकमा पनि उसै गरी बाक्लो हिउँ पर्‍यो। यहाँ हिउँ खेल्न पुग्नेहरुको घुइचो लागिरहेको छ। उपत्यकका विभिन्न ठाउँहरुमा हिउँ पर्ने गरेता पनि कालिन्चोकमा जस्तो बाक्लो हिउँ पर्ने ठाउँ कमै छन्।

त्यसैले चिसो सुरु भएसँगै कालिन्चोक एक व्यस्त पर्यटकीय स्थल बनेको छ भन्दा खासै फरक नपर्ला। कालिन्चोकसम्म पुग्नका लागि जति पाइला अगाडि बढिरहेका थिए। उति हिउँको चाङ्ग बढ्दै थियो। त्यति नै मानिसहरु ‘एक्साइटेड’ भइरहेका थिए।

हिँड्न सक्ने रमाइलो गर्दै हिँडिरहेका थिए भने हिँड्न नसक्ने गाडीमा कोचिएका थिए। बाटोमा बाक्लो हिउँ परेका कारण टायरमा फलामको चेन बाँधेका गाडी बाहेक अन्य गाडी वा मोटरसाइकल कुरीसम्म पुग्न सक्ने स्थिति थिएन। जसका कारण तीन घण्टाको उकालो अनि चिप्लो बाटो हिँड्नु गाडी चढेर कुरी पुग्नेहरुको जमात धेरै थियो।

हिउँमा गुडाउन सहज हुने भएकाले उक्त ठाउँमा चल्ने गाडीका पछाडि पट्टीका टायरमा फलामको चेन बाँधिएको थियो। जसले गर्दा हिउँमा गाडी चिप्लिने सम्भावना न्यून हुन्छ।

गाडी देउरालीबाट कुरीसम्म पुग्छ। देउरालीबाट ११ किलोमिटरको दूरीमा रहेको कुरीसम्म पुग्नका लागि प्रत्येक व्यक्तिले १५ सयका दरले भाडा तिर्नु पर्दछ। पैदल यात्रा गर्नेहरु करिब ३ घण्टामा पुग्ने गर्छन्।

उसो त पर्यटकीय हिसाबले कालिन्चोक फस्टाउँदै गइरहेको छ। हिउँमा गाडी कुदाउँन त्यति सहज कुरा होइन। तर ११ किलोमिटरको दूरीमा पुग्नका लागि प्रति व्यक्ति १५ सय उठाउनु कत्तिको उचित हो?

बाटोमा बेबारिसे फ्याँकिएका चाउचाउ, बिस्कट तथा खाली बोतललाई व्यवस्थापन गर्न जरुरी देखिन्छ।

यस्ता कुराले गर्दा घुम्न गएका कुनै पनि पर्यटकको मन अमिलो नहोस्। उनीहरु दुःखी नहुन्। घर फर्किदा खुशी भएर फर्किन सकुन्।

माघ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू