सभामुख पदका लागि अग्नि सापकोटाद्वारा उम्मेद्वारी दर्ता

काठमाडौँ – प्रतिनिधिसभाको सभामुखको लागि सत्तारुढ नेकपाका तर्फबाट नेता अग्नि सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार बिहान सापकोटाले उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सोमबार बैठकको अध्यक्षता गर्दै सभामुखको चुनाव १२ गते गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए । सोही अनुसार संसद सचिवालयले सार्वजनिक गरेका निर्वाचन कार्यतालिका अनुसार मंगलबार बिहान ११ देखि दिउँसो २ बजेसम्म मनोनयन गर्न सकिने संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए।

परेका उम्मेद्वारीको सूचि मंगलबार दिउँसो साढे दुई बजे सार्वजनिक गरिनेछ। तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणी प्रयासको आरोप लागेपछि गएको असोज १४ गते पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा पछि सभामुख पद रिक्त रहँदै आएको थियो।

सोमबार उपसभामु शिवमाया तुम्बाहाम्फेले समेत पदबाट राजीनामा दिएपछि सभामुख चयनको प्रक्रिया सुरु भएको हो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सभामुख पदमा उम्मेदवारी नदिने भएको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको मंगलबार बिहान बसेको बैठकले सभामुखमा नेकपाका उम्मेदवारलाई नै समर्थन गर्ने निर्णय गरेको हो ।

माघ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्