दामनको होटेलमा बेहोस भेटिएका आठजना भारतीय पर्यटकको मृत्यु

तस्बिरः सामाजिक सञ्जालबाट

काठमाडौँ – मकवानपुरको दामनस्थित एक रिसोर्टमा बेहोस भएर उपचारका लागि काठमाडौँ ल्याइएका आठ जना भारतीय पर्यटकको मृत्यु भएको छ ।

दामनबाट हेलिकप्टरमा ल्याइएका उनीहरुको काठमाडौँको ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका उनीहरु मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका थिए ।

झ्याल नभएको कोठामा ग्यास हिटर बालेर सुतेका उनीहरू निसास्सिएर बेहोस भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

१५ जनाको समूहमा गएका भारतीय पयर्टकहरु ६ जना एउटा र ८ जना अर्को कोठामा सुतेका थिए । एउटै कोठामा सुतेका ८ जना मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका थिए ।

उनीहरुलाई तत्कालै हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याइएको थियो । तर उनीहरुको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा दुई बालिका, दुई बालक, दुई महिला तथा दुई पुरुष छन् ।

माघ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू