स्नातकोत्तर गरेका पण्डित माटोको मूर्ति बनाएर लाखौँ कमाउँछन्

स्नातकोत्तर गरेका पण्डित माटोको मूर्ति बनाएर लाखौँ कमाउँछन्

जनकपुरधाम – कलाकार उत्तिमलाल पण्डितको व्यस्तता पछिल्लो केही हप्तादेखि बढेको छ । सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकार पण्डितलाई मूर्ति बनाउने व्यस्तता बढेको हो ।

माघ १६ गते पर्ने विद्याकी देवी सरस्वती पूजाका लागि पण्डित विभिन्न कलात्मक मूर्ति बनाउन व्यस्त छन् । जनकपुरधाम उपमहानगरभित्र एक हजार मूर्तिको आवश्यकता रहेकाले अहिले उनीसहितका मूर्तिकारहरु दिन–रात एक गरेर मूर्ति बनाउनमा व्यस्त छन् । जनकपुरका १८ स्थानमा मूर्ति बनाउने काम भइरहेको छ ।

पण्डित बाध्यताले यो पेशामा आएका भने होइनन् । उच्च शिक्षा हाँसिल गरेका उनी पुर्ख्यौली संस्कृतिलाई अझ उचाईमा पुर्‍याउने लक्ष्यका साथ यो पेशामा लागेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० घर भएका पण्डितले रामस्वरुप रामसागर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तरसम्मको शिक्षा हाँसिल गरेका छन् । उनी सन् २००३ देखि २०१६ सम्ममा लघु उद्यम विकास कार्यक्रम नामक प्रोजेक्टमा जिल्ला संयोजकको रुपमा काम समेत गरे । तर अहिले उनी पूर्ण रुपमा मूर्ति बनाउने पेशामा लागेका छन् ।

बिहान ७ बजेदेखि रातिको ९ बजेसम्म उनि मूर्ति बनाउनमा व्यस्त हुन्छन् । दिनको लगभग १४–१५ घण्टा काम गर्ने मूर्तिकार पण्डित सरकारी जागिर खानुभन्दा पुर्ख्यौली पेशामा रमाएका छन् ।

उनी भन्छन्, ‘म कक्षा ५–६ कक्षामा पढ्दा बुबाई सहयोग गर्ने उद्देश्यले यस काममा लागेको थिए । यो हाम्रो पुर्ख्यौली पेशा हो र यो लोप हुन लागेकोले यसलाई निरन्र्तता दिन यस काममा लागेको छु ।’ उनी अगाडि भन्छन्, ‘पढे लेखेर मलाई हाम्रो परम्परा बचाउन अझ बढी सहज भएको छ । सामान्यतया मूर्ति बनाउनेहरु अनपढ हुन्छन् भन्ने सोच छ समाजमा । मास्टर्स गरेको सुनेपछि सामान बनाउन अर्डर दिन आउनेले अर्कै नजरले हेर्छन् ।’

उनी सुरुमा बुवालाई सहयोग गर्थे, अहिले आफैले सम्पूर्ण जिम्मेवारी लिएका छन् । पण्डित (कुम्हाल) जातिको पुर्ख्यौली पेशा माटाका विभिन्न कलात्मक वस्तु निर्माण गर्ने हो । लगभग २० वर्षदेखि विभिन्न किसिमका कलात्मक मूर्ति निर्माण गर्दै आएका उनलाई यस पेशामा लाग्न बुवाको सहयोगले उत्साहित गरेको हो । उनी सुरुमा प्रोजेक्ममा हुँदा पार्ट टाइममा मूर्ति बनाउने काम गर्थे भने अहिले पूरा समय मूर्ति बनाउनमै दिन्छन् ।

केटाकेटी हुँदादेखि नै बुुवाले मूर्ति बनाउन प्रयोग गरेका विभिन्न तौरतरिका नियाल्दै आएका पण्डित अहिले उक्त कलामा निपूर्ण भइसकेका छन् । उनले ७ जना कामदारसमेत राखेका छन । ७ जनालाई रोजगारीका साथै खाने व्यवस्थासमेत उनले नै गर्छन् । पण्डित भन्छन्, ‘यो कामबाट राम्रो आम्दानी भइरहेको छ । एक सिजनमा लगभग चार लाख कमाई हुन्छ । वर्षमा दुई सिजन हुन्छ यस्तो कामको चाप हुने गरी ।’

एउटा मूर्तिको बढीमा ३५ हजार र कममा ४ हजार रुपैयाँ पर्छ । मिथिलाञ्चलमा मनाइने प्रायः चाडपर्वमा माटोबाट निर्मित कलात्मक मूर्तिको प्रयोग हुन्छ । जसमध्ये विशेष गरी नागपूजा, विश्वकर्मा पूजा, दुर्गा पूजा (दसैँ) लगायतका चाडपर्वमा माटोले बनाइएका रंगविरंगका कलात्मक मूर्ति प्रयोग गरिन्छ ।

माघ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्