‘पहुँचवालाले मुआब्जा पाए, हामी डेढ वर्षदेखि सरकारी अड्डा धाउँदैछाैँ’

दाङ– हिँडेर जुत्ता फाटिसक्यो। झोला बोकेर पिठ्यूँ थाकिसक्यो। तर अझै उनले आँटेको काम पूरा भएको छैन।
झोला ज्ञापनपत्रको फोटोकपीले भरिएको छ। एउटा ज्ञापनपत्र देखाउँदै टुकबहादुर केसीले भने,‘यस्तो ज्ञापनपत्र वडा, गाउँपालिका, सीडीओ कार्यालय, हुलाकी सडक सबै ठाउँ पुर्याइसकेँ। हाम्रो समस्यामा ध्यानै दिएका छैनन्।’
आफ्नो र सिंगो गाउँलेको समस्या बोकेर गढवा गाउँपालिका वडा नं. ५ कक्रहवा निवासी केसी यसरी सरकारी अड्डा धाउन थालेको डेढ बर्ष भैसकेको छ। तर लमही–कोइलावास हुलाकी सडकले काटेको जग्गाको नाप नक्सासमेत गरिएको छैन। पहुँचवालाको ठाउँमा एक जना व्यक्तिले करोड रुपैयाँसम्म जग्गाको मुआब्जा बुझेकाे उनकाे गुनासाे छ।
तर पहुँच नहुने उनीजस्ता सर्वसाधारणकाे ठाउँमा जग्गाको लगत समेत लिइएको छैन। गाउँको समस्यालाई लिएर टुकबहादुर फाइल बोकेर अहिले पनि धाइरहेका छन्।
वडामा पुगे पनि, गाउँपालिकामा पुगे पनि, मालपोत, नापी कार्यालयमा जहाँ पुगे पनि सबैले हुलाकी सडक कार्यालय देखाउँछन्।
केसी नेपालगञ्ज पनि पुगे। त्यहाँ पुग्दा लगत संकलनका लागि नापी कार्यालयलाई परिपत्र गरिसकिएको जवाफ पाए। केसी फर्किए। तर लगत संकलन गर्न हुलाकी सडकको कर्मचारी पनि चाहिने भन्दै नापी कार्यालयले कर्मचारी खटाएनन्। अझै लगत लिइएको छैन।
सडक निर्माण कम्पनीले आफ्नो कार्यालय कक्रहवा गाउँमा राखेको छ। सडक बनाउन पनि त्यहीँबाट शुरु गरियाे। अहिले सडक कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगे पनि कक्रहवा गाउँका २० जना कित्ताधनीको जग्गाको मुआब्जा दिन लगत नलिइएको उनले बताए। कक्रहवा, जमुनीवास, कोइलावाससम्मका जग्गाधनीको लगत लिइएको छैन।
‘जहाँ बजार छ। जहाँ पहुँचवाला मानिसको बसोवास छ। त्यहाँ मात्रै लगत लिइयो’, उनले भने,‘बाटो बनेर सकिन लाग्दा पनि मुआब्जा दिनको लागि पहिलो चरणको काम समेत गरिएको छैन।’
नेपाल सरकारले हुलाकी सडकसँग जोडिएका जग्गाधनीलाई जग्गा अधिग्रहण गरेवापत ३५ करोड बजेट खर्च गरिसकेको छ। तर मुआब्जाको लागि प्रकृयामै नआएका जग्गाधनी समेत भेटिएका छन्।
लगत नलिइएको ठाउँको समेत लगत लिन हुलाकी सडक आयोजना कार्यालयले नापी कार्यालयलाई पत्र पठाएको छ। पत्र अनुसार लगत अझै नलिइएको पाइएको छ।
‘लगत लिनको लागि पत्र आएको छ। तर कहाँको लगत लिने हो स्पष्ट पार्न हुलाकी सडकको कर्मचारी आउनुपर्छ’, नापी कार्यालय लमहीका प्रमुख कृष्ण अधिकारीले भने, ‘स्थानीयहरु पटक–पटक यस विषयमा ध्यानाकर्षणका लागि हामीकहाँ आइरहनुभएको छ। हुलाकी सडकबाट कर्मचारी आए लगत्तै हामी लगत लिन पुग्छौँ।’