दामनमा

हिटर ताप्ताताप्दै बेहोस भएको आशंका, ८ भारतीयको शव टिचिङ अस्पतालमा

काठमाडौँ-मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टको एउटै कोठामा बेहोस भेटिएपछि उपचारका क्रममा मृत्यु भएका सबै ८ भारतीयको शव पोस्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ।

काठमाडौं प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले मृतकका आफन्त र नेपालस्थित भारतीय दुतावासलाई घटनाबारे जानकारी गराइएको बताए।  मृत्यु भएका सबै भारतको केरलाका हुन्। उनिहरु सबैको सनाखत भएको छ।

मृत्यु हुनेमा ३४ वर्षीय रन्जित कुमार पी, ३४ वर्षीया इन्द्र लक्ष्मी, ३८ वर्षीय प्रविणकृष्ण नायर, ३५ वर्षीया शाख्य ससी, पाँच वर्षीय अभिनव सोराङ्य नायर, २ वर्षीय वैसनव रन्जित, ९ वर्षीया श्री भद्र र ७ वर्षीया अर्चा प्रविण रहेका छन्।

मंगलबार बिहान एउटै कोठामा बहोस भेटिएपछि उपचारका लागि सबैलाई राजधानीको ह्याम्स अस्पतालमा ल्याइएको थियो। तर सबैको मृत्यु भएको हो। काठमाडौँ प्रहरी परिसर प्रवक्ता होबिन्द्र बोगटीले कोठामा बालिएको  ग्याँस हिटरका कारण उनीहरुको म‌ृत्यु भएको हुन सक्ने जानकारी दिए।

मकवानपुर प्रहरी प्रवक्ता ललनप्रसाद कुर्मीले मृतकहरुबीचको नाता सम्बन्धबारे यकिन हुन नसकेको बताए। तर उनिहरु नातेदार र छिमेकी हुन सक्ने उनले बताए।  प्रहरी निरीक्षक कुर्मीका अनुसार सोमबार मात्र १५ जना भारतीयको टोली पोखराबाट दामन आउने क्रममा पानोराम रिसोर्टमा बसेका थिए।

पालुङ इलाका प्रहरी कार्यालयका प्रमुख विकाश तामाङका अनुसार १५ जनाले रिसोर्टमा ४ वटा कोठा बुक गरेका थिए।

‘दुई वटा रुम एट्याचजस्तो भएकाले ८ जना त्यहाँ बसे। बाँकी सात जना अरु दुई कोठामा। तर मंगलबार आठै जना एउटै कोठामा बेहोस अवस्थामा भेटिएकाले हिटर ताप्दाताप्दै बेहोस भएको हुन सक्ने आशंका गर्न सकिन्छ। बिहान ढोका खोल्दा पनि ग्याँस गन्हाइरहेको थियो’, तामाङले भने। वेटरले चिया पुर्‍याउन जाँदा कोठाभित्र कोही नबोलेपछि अन्य कोठामा बसेका भारतीयलाई खबर गरेका थिए।

त्यसपछि बेहोस भएका ८ भारतीयसहित सबै १५ भारतीयलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

केरला गर्मी ठाउँ मानिन्छ दामन भने निकै चिसो। काठमाडौँ प्रवक्ता बोगटीले पोष्टमार्टम रिपोर्टपछि कारण खुल्न सक्ने बताए।

 

 

माघ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्