ट्रम्पलाई लागेको महाअभियोगमाथि सिनेटमा बहस सुरु, प्रक्रियालाई लिएर तीव्र विवाद

अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लागेको महाअभियोगमाथि बहस सुरु भएको छ । नेपाली समय अनुसार मंगलबार मध्यरातदेखि सिनेटमा बहस सुरु भएको हो ।
डेमोक्र्याट र रिपब्लिकनबिच सिनेटमा हुने बहसका नियमहरुलाई तीव्र विवाद जारी छ । तर बहस भने औपचारिक रुपमा सुरु भएको हो ।
सिनेटमा राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनको बहुमत छ । १०० सिटको सिनेटमा ५३ रिपब्लिकन सिनेटर छन् । सिनेटका मेजोरिटी लिडर रिपब्लिकन सिनेटर मिच म्याकनलले प्रमुख साक्षीहरुलाई बहसमा उपस्थित हुन बाध्य पार्ने निर्देशन जारी गर्ने बताएका छन् । डेमोक्र्याटले भने यसलाई राष्ट्रपति ट्रम्पको गल्ती ढाकछोप गर्ने प्रयास भनेका छन् ।
ट्रम्पमाथि महाअिभयोग लगाएको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभका तर्फबाट गठन भएको व्यवस्थापकहरुको समूहका नेता तथा डेमोक्र्याट नेता एमडम शिफले भने सिनेटमा हुने बहसका लागि प्रस्ताव गरिएको प्रक्रिया निष्पक्ष बहसको भावना विरुद्ध रहेको बताएका छन्।
अमेरिकाको इतिहासमा महाअभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् । उनीमाथि शक्तिको दुरुपयोग र संसदको कार्यमा अवरोध गरेको आरोप छ । ट्रम्पले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।
विपक्षी डेमोक्र्याटको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले गएको डिसेम्बरमा ट्रम्ममाथि औपचारिक रुपमा महाअभियोग लगाएको थियो ।