गएको दशकमा प्राकृतिक विपत्तिका कारण सबैभन्दा धेरै आर्थिक नोक्सानी

प्राकृतिक विपत्तिका कारण भएको आर्थिक नोक्सानीका लागि गएको दशक इतिहासकै सबैभन्दा खराब देखिएको अध्ययन प्रतिवेदनले जनाएको छ । इन्सुरेन्स ब्रोकर एअनले गरेको अध्ययनको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो ।

सो प्रतिवेदन अनुसार गएको दशक (सन् २०१०–२०१९) त्यो भन्दा पहिलोको दशक (२०००–२००९) भन्दा प्राकृतिक विपत्तिका कारण हुने आर्थिक नोक्सानीका हिसाबले खराब देखिएको हो ।

हालै समाप्त भएको दशक अर्थात सन् २०१०–२०१९ को अवधिमा प्राकृतिक विपत्तिका कारण सबैभन्दा बढी आर्थिक नोक्सानी एसिया–प्यासफिक क्षेत्रमा भएको एअनले उल्लेख गरेको छ ।

प्राकृतिक विपत्तिका कारण सन् २०१०–२०१९ को अवधिमा कुल तीन ट्रिलियन अमेरिकी डलर बराबरको नोक्सानी भएकोमा एसिया–प्यासफिक क्षेत्रमा भएको नोक्सानीको हिस्सा ४४ प्रतिशत रहेको जनाइएको छ । भूकम्प, सुनामी तथा आँधीसहितका प्राकृतिक विपत्तिले ठूलो आर्थिक क्षति गरेका हुन् ।

थप सघन र विनाशकारी मौसमी गतिविधि, प्राकृतिक विपदको मार्गका जनसंख्याको ठूलो हिस्सा रहनु तथा विश्वव्यापी अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने आपूर्ति चक्रमा आएको प्रमुख अवरोधका कारण आर्थिक क्षतिमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०००–२००९ को दशकमा भन्दा हालै समाप्त भएको दशकमा एक ट्रिलियन अमेरिकी डलर भन्दा बढीको आर्थिक क्षति भएको हो ।
गएको वर्ष जमिन तथा समुद्रको तापक्रमका हिसाबले इतिहासकै सबैभन्दा तातो वर्ष हो । यसले गर्दा प्राकृतिक विपत्तिहरु थप बढ्ने देखिएको छ ।

दशकभरमा खराब मौसमी गतिविधिका कारण विश्वले ठूलो नोक्सानी भोग्नु परेको एअनको प्रतिवेदनमा उल्लेख छ । सन् २०१९ मा मात्रै विश्वभर प्राकृतिक विपत्तिका ४०९ घटना भएको र त्यसका कारण २३२ बिलियन अमेरिक डलर बराबरको आर्थिक नोक्सानीको सामना गर्नु परेको एअनको प्रतिवेदनमा उल्लेख गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

माघ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्