नयाँ चिनियाँ भाइरसका कारण मृत्यु हुनेको संख्या ९

नयाँ कोरोना भाइरसले स्वरुप परिवर्तन गर्न सक्ने, संक्रमण थप फैलिने खतरा

चीनमा महामारीका रुपमा फैलिरहेको नयाँ कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ।

चीनको स्वास्थ्य संगठनले अहिलेसम्म नयाँ कोरोना भाइरसका कारण ९ जनाको ज्यान गएको र ४४० जनामा संक्रमण पुष्टि भएको जनाएको हो । संक्रमित हुनेको संख्या सरकारी तथ्यांक भन्दा निकै बढी हुन सक्ने विज्ञहरुले बताएका छन् ।

कोरोना समूहको नयाँ भाइरसको संक्रमण अझै बढ्न सक्ने चेतावनी चीनका स्वास्थ्य अधिकारीले दिएका छन् । यस्तै यो भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्न सक्ने भएकाले संक्रमण थप महामारी युक्त बन्ने खतरा रहेको स्वास्थ्य अधिकारीले बताएका हुन् ।

नयाँ कोरोना भाइरसको संक्रमण अहिले चीनका विभिन्न राज्यसहित अमेरिका, थाइल्याण्ड र दक्षिण कोरियामा पनि देखिएको छ ।

चीनका अधिकारीले स्वीकार गरेका छन् कि हाल चीन नयाँ कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका हिसाबमा संवेदनशील अवस्थामा छ ।

यसैबिच अमेरिकाले आफ्नो देशमा पनि नयाँ कोरोना भाइरसको संक्रमण एकजनामा पुष्टि भएको बताएको छ । चीनबाट सियाटल पुगेका व्यक्तिमा चीनबाट उत्पति भएको नयाँ कोरोना भाइरसको संक्रमण पुष्टि भएको अमेरिकाको रोग नियन्त्रण केन्द्रले जनाएको छ । संक्रमण पाइएका व्यक्तिको उपचार भइरहेको छ ।

नयाँ कोरोना भाइरसको संक्रमण सबैभन्दा पहिले गएको डिसेम्बरमा चीनको वुहानमा देखिएको थियो ।

अमेरिकामा उपचार भइरहेका संक्रमित व्यक्ति ३० वर्षको पेरिफेरिका छन् । उनी जनवरी १५ मा चीनबाट अमेरिका फर्किएका थिए । बिरामी भएपछि अस्पताल गएका उनको यात्रा विवरण र लक्षणका आधारमा स्वास्थ्यकर्मीले नयाँ कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै परीक्षण गरेका थिए । परीक्षणबाट उनमा नयाँ कोरोना भाइरसको संक्रमण पुष्टि भएको अमेरिकाको रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण आफ्नो देशमा नफैलियोस् भन्नका लागि विदेशी पर्यटकका लागि आफ्नो देशको सीमा अस्थायी रुपमा बन्द गरेको छ ।

चीनका अधिकारीले मंगलबार यो पुष्टि गरेका थिए कि नयाँ भाइरसको संक्रमण मानिसबाट मानिसमा पनि हुन्छ । यसअघि उनीहरुले मानिसबाट मानिसमा संक्रमण नहुने बताएका थिए ।

संक्रमित व्यक्तिबाट लिएको नमूना परीक्षण गरी चीनको स्वास्थ्य संगठनले सो भाइरस कोरोना भाइरस रहेको बताएको थियो । अहिलेसम्म कोरोना भाइरसको समूहमा विभिन्न ६ प्रकारका भाइरस छन् । नयाँ भाइरस आएसँगै सो समूहमा सात भाइरस भएका छन् । यो भाइरसका कारण रुघा लाग्ने, स्वासप्रस्वासमा समस्या हुने गर्छ ।

माघ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू