सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनसँग कुराकानी

के हो कोरोना भाइरस? के नेपाल पनि छ जोखिममा?

काठमाडौँ – हाल चीनमा महामारीको रुप लिएको नयाँ कोरोनो भाइरसको संक्रमण विभिन्न देशमा फैलिएको छ । नयाँ कोरोना भाइरसको संक्रमणकै कारण चीनमा ९ जनाको मृत्यु भएको छ ।

यस्तै ४ सय ४० जनामा संक्रमण फैलिएको चीनका सरकारी अधिकारीले पुष्टि गरेका छन् । तर संक्रमित हुनेको संख्या सरकारी तथ्यांक भन्दा अति धेरै रहेको अनुमान विज्ञले गरेका छन् । कोरोना समूहको नयाँ भाइरसको संक्रमण चीनसहित अमेरिका, दक्षिण कोरिया थाइल्याण्डमा पनि पुष्टि भएको छ ।

यस्तै अस्ट्रेलिया, जापान, नेपालसहितका देशमा चीनबाट आउने व्यक्तिहरुमा विमानस्थलमै परीक्षणको व्यवस्था गरिएको छ । कोरोना समूहको नयाँ भाइरसको संक्रमण फैलिएपछि नेपालमा त्यसको संक्रमणको अवस्था र जोखिमका सम्बन्धमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनसँग देश सञ्चारकी प्रतिभा चन्दले कुराकानी गरेकी छन् ।

कोरोना भाइरस भनेको के हो?

यो जनावरबाट सर्ने एक प्रकारको भाइरस हो। तर नयाँ भाइरस मानिसबाट मानिसमा सरेको पनि पुष्टि भएको छ चीनमा । अहिले संक्रमण फैलिएको भाइरस कोरोना समूहका अन्य भाइरसहरुसँग नमिल्ने भएकाले यसलाई २०१९ नोभेल कोरोना भाइरस नाम दिइएको छ। यसको बारेमा अहिलेसम्म पनि त्यति स्पष्ट हुन सकेको अवस्था छैन ।

कारण के हो?

अनुमान गरिए अनुसार जनावरबाट नै नयाँ भाइरसको सुरुवात भएको भनिए पनि यही जनावर भनेर पत्ता लागिसकेको छैन। अरु भाइरसमा यही जनावरबाट सर्छ भनेर भन्ने गरेका छौँ तर यो नयाँ भएकाले भन्न सकिन्न।

कस्ता लक्षण देखा पर्छन्?

कोरोना भाइरसको संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने जस्ता लक्षण देखिन सक्छन्।
यसको लक्षण फ्लूसँग मिल्दोजुल्दो हुने भएकाले रुघाखोकी लागेका व्यक्तिबाट हामी सतर्क हुनु पर्छ।

एकबाट अर्कोको सर्ने सम्भावना कति छ?

विश्व स्वास्थ्य संगठनले यसलाई २०१९ नोभेल कोरोना भाइरस नाम दिए पनि यसको बारेमा मानिसहरु अनविज्ञ नै छन्। हामीले पनि एक व्यक्तिबाट अर्कोमा कति चाँडो सर्छ भन्न सक्दैनौँ।

डा. शेरबहादुर पुन

यो सर्छ भनेर आधिकारीक रुपमा भनिएको छ। तर कति छिटो सर्छ वा कस्तो व्यक्तिलाई चाँडो सर्छ भन्ने थाहा भइसकेको छैन।
यो कुन भाइरस हो? कसरी सर्छ? यसले मानिसहरुमा कस्तो असर पार्छ? यसको ‘ओरिजिन’ के हो? रोगको प्रकृति कस्तो हुन्छ? भन्ने सबै कुराहरु पत्ता नलागेका कारण अन्दाजकै भरमा भनिएका छन्। नाम दिइसके पनि यो ‘मिस्टेरीयस्’ रोग हो।

नेपालमा यो भाइरसको जोखिक कत्तिको छ?

विश्व स्वास्थ्य संगठनले नै संसारभर सतर्कता अपनाउन जरुरी छ भनेको छ। संगठनले नै भनेकाले नेपालले पनि सतर्कता अपनाउन जरुरी छ। धेरै मानिसको आवतजावत हुने भएकाले पनि यहाँ सतर्कता अपनाउन आवश्यक छ।

चीनबाट नेपाल फर्केका केही युवामा यो भाइरस फैलिएको भन्ने हल्ला छ नि?

चीनबाट आएका ३–४ जना युवाहरुमा यो भाइरस देखा परेको भन्ने हल्ला फैलिएको हो। हल्लैहल्लामा बिस्तारै यो ३–४ बाट बढेर १०–१२ पुग्छ। यो कुरा मिडियाहरुले बुझ्न एकदमै जरुरी छ।

खासमा के हो भने एकजना विद्यार्थी चीनको वुहान सहरबाट नेपाल आएका थिए। उनलाई ज्वरो आउने र स्वास फेर्न गाह्रो भएकाले निगरानीमा राखिएको थियो। यो भाइरसको लक्षण हुन सक्ने भएकाले उनलाई निगरानीमा राखिएको हो। तर उनी निको भएर घर गइसकेका छन्।

यसबाट बच्ने उपाय के छन्?

यसको बारेमा धेरै कुरा पत्ता लाग्न बाँकी नै छ। तर पनि प्रत्येक व्यक्ति सजक हुन आवश्यक त छ नै। यसमा म के भन्छु भने यो रोग कुन जनावरबाट सर्छ, अहिलेसम्म पत्ता नलागेका कारण कुनै पनि व्यक्ति धेरै जनावरहरु भएको ठाउँमा नजानु नै उपयुक्त हुन्छ।

यसबाट जोगिनका लागि
– हात धुने
– जथाभावी हात नमिलाउने
– जे पायो त्यही नछुने
– जथाभावी छोएका हात आँखा, मुखमा नलाने
– रुघा, खोकी लागेका व्यक्तिको नजिक नजाने

माघ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू