अग्नि सापकोटाविरुद्ध काठमाडौँमा प्रदर्शन, सभामुख नबनाउन भन्दै नाराबाजी

काठमाडौँ – प्रतिनिधिसभाको सभामुख पदमा उम्मेद्वारी दिएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटाविरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ ।

कर्तव्य ज्यान मुद्दाको गम्भीर आरोप खेपिरहेका सापकोटालाई सभामुख बनाउन नहुने भन्दै विरोध प्रदर्शन भइरहेको हो । माइतीघरमा भइरहेको प्रदर्शनमा सापकोटाविरुद्ध नाराबाजी पनि भएको छ ।

हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामूख नबनाउ, पीडितलाई थप अपहेलित र अपमानित नगर, मानवअधिकार र कानुनी शासनको सम्मान गर जस्ता नारा सहभागीले लगाएका छन् ।

सशस्त्र आन्दोलन जारी रहेका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई माओवादी कार्यकताले अपहरण गरेर हत्या गरेका थिए ।

अपहरणमा परेको दुई महिनापछि काभ्रेकै तत्कालीन बूढाखानी गाविसको चारकिल्लामा गाडेको अवस्थामा लामाको शव फेला परेको थियो। घटनामा तत्कालीन माओवादीका नेताहरु सापकोटा, सूर्यमान दोङ, कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानको संलग्नता हरेको भन्दै लामाकी श्रीमती पूर्णीमायाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दिएकी थिइन्।

माघ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्