‘सरकारको ध्यान ठूला विद्युत आयोजनामा’

काभ्रे – सरकारले अब ठूला क्षमताका जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिने भएको छ। १० वर्षमा १५ हजार विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न ठूला आयोजनालाई जोड दिइएको हो।

रामेछाप र काभ्रेको सीमानामा पर्ने जलासययुक्त सुनकोसी–२ र सुनकोसी–३ आयोजनास्थल भ्रमणका लागि आएका उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले मुलुकको औद्योगीकरण र व्यवसायीकरणका लागि आवश्यक विद्यु्त देशभित्रै उत्पादन गर्ने र बढी भएको छिमेकी मुलुकमा बिक्री गर्ने लक्ष्यसहित सरकारले ठूला आयोजनामा ध्यान केन्द्रित गरेको बताए।

उर्जा क्षेत्रलाई वर्तमान सरकारले मुलुक समृद्धिको महत्वपूर्ण आधार मानेको चर्चा गर्दै मन्त्री पुनले त्यसैअनुसार लगानी गरिने स्पष्ट गर्नुभयो । गरे।

अपर तामाकोसीदेखि सुनकोसी–१, सुनकोसी–२, सुनकोसी–३ र कोसी उच्चबाँधमा निर्माण हुने विशाल ड्याम भारतको कलकात्तासँग जोडेर पानीजहाज समेत चलाउन सकिने स्पष्ट गरे।

‘कोसीमा निर्माण भइरहेका र भविष्यमा निर्माण गर्न सकिने आयोजनाका कारण ठूलो ड्याम बन्छ । त्यसलाई भारतको कलत्तासँग जोडेर पानीजहाज ल्याउन सकिन्छ’, मन्त्री पुनले भने, ‘त्यसो भयो भने हामी समुन्दख्रमार्फत अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्छौं।’

सुनकोसी–२ र ३ को बहुआयामिक महत्व रहेको र ती आयोजना निर्माण हुँदा मुलुकलाई मात्र फाइदा पुग्ने नभई स्थानीयको जीवनस्तर माथि उठ्ने भएकाले सहयोग गर्न आग्रह गरे।

आयोजना निर्माण गर्दा सरकारले घर तथा खेतीयोग्य जमिन गुमाउने परिवारलाई उचित मुआब्जा दिने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने तथा उचित पुनर्बास गराइने प्रतिबद्धता पनि मन्त्री पुनले जनाए।

‘सरकार जनताको अभिभावको हो । जसरी बाबुआमाले छोराछोरीको संरक्षण गर्छन्, सरकारले पनि आफ्ना जनताको संरक्षण गर्छ’ उनले भने, ‘अन्यत्रै जसरी दिने गरिएको छ, सुनकोसी–२ र ३ बन्दा सरकारले त्यसरी नै उचित मुआब्जा दिन्छ, स्थानीयलाई रोजगारीमा प्राथमिकता हुन्छ ।’

माघ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्