अप्पर सोलु हाइड्रोपावरको विद्युत प्रयोग नहुँदा लगानी डुब्ने खतरा

सांकेतिक तस्बिर

मोरङ-स्थानीय तहमा उत्पादन भएको विद्युत खरिद हुन नसक्दा सोलुखुम्वुस्थित सोलु दुधकुण्ड नगरपालिकाका स्थानीयको लगानी खेर जाने अवस्थामा पुगेको छ।

सोलुदुधकुण्ड नगरपालिकास्थित साल्मे बस्तीका स्थानीयले २३ दशमलव ५ मेघावाटको अप्पर सोलु हाइड्रोपावर कम्पनीको विद्युत प्रयोगमा नआउँदा लाखौं रुपैया डुब्ने खतरा भएको बताएकाछन्।

सोलु खोला र दुध खोलामा निर्माण भएको अप्पर सोलुको विद्युतलाई प्रसारणमा ल्याउन नसक्दा आफूहरुको मेहनत र आर्थिक रकम डुब्ने अवस्था सिर्जना भएको क्षति मुल्यांकनका संयोजक राजकुमार प्रधानले जानकारी दिए।

सो विषयमा जानकारी गराउन पीडित टोलीले आइतबार विराटनगरस्थित प्रादेशिक विद्युत प्राधिकरणको कार्यालयलाई ध्यानाकर्षण समेत गराएकाछन्। संयोजक प्रधानका अनुसार सो क्षेत्रमा निर्माण भई विद्युत उत्पादन गरिरहेको अप्परको प्रसारणलाई विद्युत प्राधिकरणले ग्रामीण विद्युतीय करण गर्न नसक्दा समस्या आएको हो।

अप्पर सोलुले आफ्नो पूर्ण परीक्षण प्रसारण गराइसकेको बताएका प्रधानले भने, ‘यसबाट उत्पादित विद्युत प्रयोग गर्नबाट साल्मेका करिब २ सय ३२ घरपरिवार अध्याँरोमूनि बस्न बाध्य भएकाछन्।’

पीडिततर्फको ध्यानकार्षण पत्र बुझेका नेपाल विद्युत प्राधिकरण प्रदेश एकका प्रमुख श्रीरामजंग पाण्डेले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन्।

विद्युत उत्पादन र प्रसारण जडानमा देखिएको समस्या हल गर्न प्रधिकरण तयार रहेको बताएका पाण्डले समस्या स्थानमा आफै पुगेर बुझ्ने र त्यहाँको ग्रामीण विद्युतीकरणको काम छिटो गराउन पहल गर्ने बताए।

हाइड्रोको निर्माण हुनेक्रममा कम्पनीसंग सम्झौता गर्दै स्थानीयले ३० हजार देखि ३ लाख रुपैयासम्मको प्रोमोटर शेयरमा लगानी गरेका थिए। विद्युत प्रसारणपछि आफूले गरेको लगानी उठ्नेमा विश्वस्त भएका स्थानीय युवध्वज कार्कीले विद्युत उत्पादन भएपनि त्यसको खपत हुन नसक्दा समस्या उत्पन्न भएको गुनासो गरे।

कार्कीले भने, ‘धेरै आशा राखेर लाखौ रकम लगानी गरेका छौ। तर प्राधिकरणले उत्पादित विद्युत खपत नगरिदिदाँ लगानी नै डुब्ने खतरा रहेको छ। विद्युत उत्पादन गरिरहेको भएपनि खरिद नहुदाँ समस्या भएको हो।’

अर्कोतर्फ, सोलु विद्युत कोरिडोर एवं सबस्टेशनका प्रमुख जनार्दन गौतम दुई गाँउ समुदायबीचको विवादले समस्या र तनावको स्थिती आएको बताँउछन्। समस्या हलका लागि आफू सो स्थान पुगेको बताएका प्रमुख गौतमले भने ‘तनावको स्थिति मथ्थर हुनका लागि १०÷१२ दिनका लागि हामी पछि हटेकाछौ। प्रक्रियागत रुपमा काम गरिरहेकाछौ। केही समयमा प्रसारणमा लाईन जडान हुनेछ।’

अप्पर सोलु हाइड्रोका कार्यकारी प्रमुख शशिसागर राजभण्डारीका अनुसार उत्पादित विद्युतलाई विस्तार गर्न नसक्दा लगानी गुम्ने अवस्थामा रहेको जानकारी दिए। हाल अप्पर सोलुसंगै अर्को ८२ मेघावाटको लोअर सोलु हाइड्रोको काम जारी रहेको छ।

विद्युत उत्पादनका लागि १० प्रतिशत काम बाँकी रहेको बताएका राजभण्डारीले पूर्ण स्वदेशी लगानीमा निर्माण भएको आयोजनाले विद्युत उत्पादन गर्न नपाउँदा लगानी डुब्ने जोखिम बढेको बताए।

दुवै आयोजना नेपाल सरकारको सुपर सिक्स प्रोजेक्ट अन्र्तगतका हुन्।स्थानीयको टोलीले २३ दशमलव ५ मेगावाटको आयोजनाबाट उत्पादित विद्युत यथाशीघ्र खपत गरिनुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई निःशुल्क विद्युत उपलब्ध गराउनुपर्ने लगायतका मागसहित राख्दै आएका छन्।

माघ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्