कोरोना भाइरसको संक्रमण

रहस्यमयी नयाँ कोरोना भाइरसको उद्धगमस्थल वुहानमा सार्वजनिक यातायात बन्द

नयाँ कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि चीनको वुहान शहरमा सार्वजनिक यातायात सेवा बन्द गरिएका छ ।

कोरोना समूहको नयाँ रहस्यमयी भाइरसको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित भएको वुहानमा अस्थायी रुपमा सार्वजनिक यातायात सेवा बन्द गरिएको स्थानीय अधिकारीले बताएका छन् । गएको डिसेम्बरमा वुहानबाटै नयाँ कोरोना भाइरसको संक्रमण सुरु भएको हो ।

झण्डै ९० लाख मानिसको बसोबास रहेको वुहानमा संक्रमण थप फैलिन नदिने प्रयास स्वरुप सार्वजनिक यातायातमा रोक लगाइएको हो । वुहानमा रहेका बासिन्दालाई त्यहाँबाट अन्यत्र नजान र बाहिर रहेकाहरुलाई तत्काल वुहान नफर्किन भनिएको छ ।

चीनमा हप्ता दिनपछि नयाँ वर्षको बिदा सुरु हुन्छ । सो बिदामा यात्रामा निस्कने योजनामा रहेकाहरुलाई सरकारी अधिकारीले तत्कालका लागि कतै नजान भनेको हो ।

स्वासप्रस्वासमा समस्या हुने, उच्च ज्वरो आउनेसहितका समस्या देखिने नयाँ कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि हुने गरेको पाइएको छ ।

वुहानसहित चीनका अरु क्षेत्रमा पनि यसको संक्रमण फैलिएको छ । अमेरिका, दक्षिण कोरिया, थाइल्याण्डसहितका देशमा पनि एक–दुई जनामा संक्रमण भेटिएको छ । यस्ता व्यक्ति वुहानबाटै गएका हुन् ।

अहिलेसम्म चीनमा ५०० जना भन्दा बढीमा नयाँ कोरोना भाइरसको संक्रमण फैलिएको सरकारी तथ्यांक छ । तर विज्ञले भने संक्रमित हुनेको संख्या त्यो भन्दा धेरै रहेको बताएका छन् । चीनमा हालसम्म यो भाइरसको संक्रमणका कारण १७ जनाको मृत्यु भइरसकेको छ ।

तत्कालका लागि नयाँ कोरोना भाइरसको नाम २०१९–एनकोभी राखिएको छ । हालसम्म कोरोना भाइरसको समूहमा ६ प्रकारका भाइरस थिए । अब सात प्रकारका भाइरस भएका छन् ।

यसैबिच बृहत छलफलपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँ कोरोना भाइरसको संक्रमणलाई तत्काल विश्वव्यापी आपतकालीन अवस्था घोषणा नगर्ने निर्णय गरेको छ ।

माघ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्