ट्रम्पमाथिको महाअभियोगबारे सिनेटमा बहस

‘महाअभियोगको बहस साक्षीको व्यापार होइन’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लागेको महाअभियोगमाथि संसदको माथिल्लो सदन सिनेटमा बहस सुरु भएको छ । बहस सुरु भएसँगै साक्षी उपस्थित गराउने सम्बन्धमा रिपब्लिकन र डेमोक्र्याटबिच विवाद भएको छ ।

डेमोक्र्याटहरु राष्ट्रपति ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई साक्षीका रुपमा सिनेटको बहसमा बोलाउनु पर्ने पक्षमा छन् ।

तर रिपब्लिकनहरुले त्यसका लागि पूर्वउपराष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई पनि सिनेटको बहसमा साक्षीका रुपमा बोलाइनु पर्ने बताएका छन् ।

डेमोक्र्याटले भने राष्ट्रपति ट्रम्पमाथिको महाअभियोगमा हन्टर बाइडेन कुनै पनि हिसाबले साक्षीमा रुपमा उपुयुक्त नरहेको भन्दै रिपब्लिकनको प्रस्ताव अस्वीकार गरेका छन् ।

अमेरिकाको इतिहासमा महाअभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् । उनीमाथि शक्तिको दुरुपयोग र संसदको कार्यमा अवरोध गरेको आरोप छ । ट्रम्पले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।

विपक्षी डेमोक्र्याटको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले गएको डिसेम्बरमा ट्रम्ममाथि औपचारिक रुपमा महाअभियोग लगाएको थियो ।

ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेको आरोप छ । ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार अभियोगमा छानबिन सुरु गरेको औपचारिक घोषणा गर्न दबाब दिएको आरोप छ । ट्रम्पले भने आफूले कुनै पनि लगत काम नगरेको दाबी गर्दै आएका छन् ।

डेमोक्र्याटहरु जोन बोल्टनबाट सिनेटको बहसको क्रममा सुन्न चाहन्छन्।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले युक्रेनमाथि दिएको भनिएको राजनीतिक दबाब ‘लागुऔषध सम्झौता’ अर्थात ‘डर्ग डिल’ जस्तै रहेको बताएका छन् । तर बोल्टनले सिनेटले साक्षीका रुपमा उपस्थित हुनका लागि निदेर्शन दिए मात्रै आफू यसबारे बोल्ने बताएका छन् ।
डेमोक्र्याटहरु बोल्टनलाई साक्षीका रुपमा बोलाउन चाहन्छन् ।

तर रिपब्लिकनहरु उनलाई रोक्ने प्रयासमा छन् । सोही प्रयास स्वरुप महाभियोगमा कुनै सम्बन्ध नरहेका हन्टर बाइडेनलाई पनि साक्षीका रुपमा बोलाइनु पर्ने प्रस्ताव रिपब्लिकनले गरेको डेमोक्र्याटको भनाई छ ।

सिनेटमा शीर्ष डेमोक्र्याट नेता चक शुमरले रिपब्लिकनको प्रस्ताव रोमाञ्चक फुटबलका लागि गरिने सम्झौता जस्तो रहेको बताएका छन् । उनले भनेका छन्, ‘महाभियोगमाथिको बहस साक्षीको व्यापार होइन ।’

सिनेटमा हुने बहस आउँदो हप्ता समाप्त हुने अपेक्षा छ । सिनेटमा राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनको बहुमत छ । १०० सिटको सिनेटमा ५३ रिपब्लिकन सिनेटर छन् । महाभियोग माथिल्लो सदनबाट पास हुनका लागि दुई तिहाइ मत चाहिन्छ । महाअभियोग पास भएमा ट्रम्प बर्खास्त हुने छन् । तर त्यो सम्भावना देखिँदैन ।

माघ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्