विराटनगरमा हक्की प्रतियोगिता हुने

विराटनगर – नेपाल हक्की संघको आयोजनामा जिपी कोइराला पुरुष हक्की प्रतियोगिताको दोश्रो संस्करण विराटनगरमा हुने भएको छ।

बिहीबार नेपाल हक्की संघले दिएको जानकारी अनुसार माघको २० गतेबाट विराटनगरमा प्रतियोगिता हुने भएको हो।

संघका सचिव रञ्जन थापाका अनुसार प्रतियोगितामा विभागीय टोली त्रिभूवन आर्मी क्लबसँगै ६ प्रदेशका टोलीको सहभागिता रहनेछ। उनले प्राविधिक कारण प्रदेश नम्बर ६ भने प्रतियोगितामा समावेश नहुने उल्लेख गरे।

राष्ट्रिय बाणिज्य बैंकको आर्थिक सहयोगमा हुने प्रतियोगितामा उपाधि विजेता टोलीले कम्तीमा ५० हजार रुपैयाँ हात पार्ने बताइएको छ। संघका सचिव थापाले भने, ‘गतवर्ष झापामा आयोजित पहिलो संस्करणमा उपाधि विजेताले ४० हजार रुपैयाँ प्राप्त गरेका थिए। यसपटक पुरस्कार राशीबारे अन्तिम निर्णय हुन बाँकी रहेको छ।’

२०७५ माघ–फागुनमा झापामा सम्पन्न प्रतियोगितामा गण्डकी प्रदेशले त्रिभूवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि चुमेको थियो। विराटनगरमा यसअघि २०४५ सालमा पाँचौँ राष्ट्रिय खेलकुद र २०७३ मा सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत हक्की प्रतियोगिता आयोजना भएको थियो।

माघ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्