मुटु रोग विशेषज्ञ डा. यादव भट्टसँगको अन्तर्वार्ता

‘चिसोमा मुटुका नशा अप्रत्यासित रुपमा खुम्चिन्छन्, होसियार हुने कि!’

‘चिसोमा मुटुका नशा अप्रत्यासित रुपमा खुम्चिन्छन्, होसियार हुने कि!’

मानव शरीरको महत्वपूर्ण अङ्ग हो मुटु। शरीरका अङ्गहरु मध्ये मुटु संवेदनशील अङ्ग मानिन्छ। चिकित्सकहरुका अनुसार पछिल्लो समय मुटु रोगका बिरामीको संख्या बढ्दो क्रममा रहेको छ। समयमै यसको ख्याल राख्न नसकिएको खण्डमा ज्यानै जाने सम्भावनासमेत रहेको चिकित्सकहरु बताउँछन्।

अझ कतिपयले आफूलाई मुटु सम्बन्धी रोग लागेको थाहा पाउँदैनन्। थाहा पाएकाले पनि बेवास्ता गर्ने भएका कारण मानिसको स्वास्थ्यमा जटिल समस्याहरु देखिन थालेका छन्। त्यसैले बेलैमा रोगको पहिचान गरी उपचार गर्न जरुरी रहेको चिकित्सकहरुको भनाई छ।

यस्तो संवेदनशील अङ्गलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा नर्भिक अस्पतालका मुटु रोग विशेषज्ञ डा. यादव भट्टसँग गरिएको कुराकानीः

चिसो र मुटुको सम्बन्ध के छ?

चिसो र मुटुकाे भन्दा पनि चिसो र फोक्सोको सम्बन्ध धेरै हुन्छ। यो समयमा फाक्सोमा ‘इन्फेक्सन’ हुने, निमोनिया हुने, फ्लू हुने सम्भावना बढी हुन्छ। तर हामी फोक्सोतिर नजाऔँ।

चिसाे मौसममा मुटुमा भएका नशाहरु अप्रत्यासित रुपमा खुम्चिने सम्भावना बढी हुन्छ। यदि कुनै व्यक्तिको नशामा ‘ब्लकेज’ छ भने उक्त नशा झन् खुम्चिन्छ र छोटो हुँदै जान्छ। कहिलेकाहीँ सामान्य मानिसको नशा पनि खुम्चेर छाती दुख्ने समस्या हुन सक्छ।

मुटुका रोगी धेरै प्रकारका हुन्छन्। त्यसकारण हामी मुटुका रोगीमध्ये पनि नशाको समस्या भएकाहरुलाई चिसो हावा भएको ठाउँमा मर्निङ वाक नगर्न सल्लाह दिन्छौँ। त्यस्ता बिरामीले घाम लागेको वा तातो वातावरणमा हिड्नु होला वा बाहिर निस्किनु होला भनेर सुझाव दिँदै आएका छौँ।

यो मुटु सम्बन्धीको नशा रोगको बारेमा भयो।

त्यसबाहेक जाडोमा मुटुको मात्र नशा नभएर शरीरभरका नशा खुम्चिने भएकाले, मानिसहरुको गतिविधिहरु पनि कम हुने भएकाले वा पसिना कम आउने भएकाले शरीररमा नुन र पानीकाे मात्रा बढ्दै जान्छ। जसले गर्दा वर्षौदेखि नियन्त्रणमा रहेको रक्तचाप ह्वात्तै बढ्ने गर्छ। चिसो मौसममा यसरी रक्तचाप बढ्दा धेरै जसो मानिसहरुलाई ‘स्ट्रोक’ भएको पाइन्छ।

जाडो मौसममा धेरै मानिसहरुमा दैनिक गतिविधि कम हुने भएका कारण धेरै जसोमा ‘हर्ट फेलियर’ हुने सम्भावना बढी हुन्छ।

जाडो मौसममा लामो समयसम्म लाग्ने रुघा खोकीले मुटुमा कुनै असर गर्छ?

रुघाखोकी दुई प्रकारले निको पार्न सकिन्छ। औषधि नगरी १५ दिनमा र औषधि गरेर १४ दिनमा ठिक हुन्छ। त्यसैले रुघाखोकीको औषधी गर्नै पर्छ भन्ने छैन। तर रुघाखोकीबाट कुनै जटिलता आउन थाले, जस्तै इन्फेक्सन, निमानिया हुन थाल्यो भने चाहीँ चाँडै उपचार गराउनु पर्छ।

तर एउटा महत्वपूर्ण कुरा के छ भने फ्लूले मुटुको र छातीका बिरामीहरुमा कम्प्लिकेशन ल्याउन सक्छ। जसले गर्दा ‘हर्ट फेलियर’ भएर त्यस्ता बिरामीको ज्यानलाई खतरा हुने गर्छ। त्यसकारण जाडो सुरु हुनुभन्दा अगाडि हरेक वर्ष विश्व स्वास्थ्य संगठनले फ्लू भ्याक्सिन बनाउने गर्छ।

त्यो वर्षमा कुन–कुन भाइरसले फ्लू ल्याउँछ सक्छ भन्ने ‘स्ट्याण्डर’ अनुसार भ्याक्सिन बनाउँछ र त्यो भ्याक्सिन करिब सेप्टेम्बरतिर संसारभर नै रिलिज हुन्छ। त्यही अनुसार फ्लू भ्याक्सिन लगायो भने फ्लू भएर ‘कम्प्लिकेशन’ हुने सम्भावना कम हुन्छ। त्यसकारण हामी यो भ्याक्सिन लगाउन सबैलाई सल्लाह दिन्छौँ।

उसो त सामान्य मानिसहरुले पनि यो भ्याक्सिन लगाउन जरुरी छ। मुटुका बिरामीलाई यसको प्रयोगले उनीहरुको मृत्युदर नै कम गर्न सहयाेग पुगेकाे प्रमाणित भएको छ।

यो भ्याक्सिन कहाँ र कसरी लगाउन सकिन्छ?

यो एउटा सानो भ्याक्सिन हो। जुनसुकै अस्पतालमा पनि पाइन्छ। यो भ्याक्सिन लगाउँदा त्यही वर्षको हुनुपर्छ। अगाडिको भ्याक्सिन लगाएर काम हुँदैन।

चिसोमा मुटुका विरामीले व्यायम गर्नु कत्तिको उपयुक्त हुन्छ?

एकदम धेरै व्यायम गर्दा पनि त्यो कहिलेकाहीँ हानिकारक हुन्छ। धेरै मानिसलाई धेरै व्यायम गरेर हृदयघात हुने गर्छ। त्यसैले कुनै पनि मानिसले उमेर र लिङ्ग हेरेर व्यायम गर्नु राम्रो हुन्छ। धेरै ‘एग्रेसिभ एक्ससाइज’ एकैचोटी गर्दा पनि यसले नोक्सान पर्‍याउँछ। आफ्नो रोगको पहिचान गरेर व्यायम गर्न जरुरी हुन्छ। कसैले ‘हेभी’ व्यायम गर्नु हुँदैन भने कुनैले जुनसुकै व्यायम गर्दा पनि फरक पर्दैन।

कुन उमेर समूहमा मुटु रोग बढी देखिएको छ?

एशियन देशहरुमा युवाहरुमा मुटुको समस्या बढी देखिन थालेको छ। पश्चिमेली देशहरुका युवामा एकदमै कम छ। उनीहरुको देशमा ३० देखि ४५ वर्षका मानिसहरुमा हृदयघातको समस्या कम देखिन्छ।

नेपालको कुरा गर्ने हो, यो संख्या धेरै नै छ। ३० देखि ४५ वर्षका मानिसहरुमा हृदयघात धेरै देखिन्छ। यसको ठ्याक्कै यही कारण हो भनेर त भन्न सकिन्न। तर पनि व्यायमको कमी, अस्वस्थकर खानपिनका कारण भनेर अनुमान लगाउने गछौँ।

बदलिँदो मौसममा हामी मुटुको ख्याल कसरी राख्न सक्छौँ?

हरेक मौसममा मुटुको ख्याल राख्न जरुरी छ। हामीले जाडोको कुरा गरिहाल्यौँ। त्यसैगरि कहिलेकाहीँ पानी परेको समयमा जथाभावी भिज्ने गर्नु हुँदैन। त्यसैगरी गर्मीमा धेरै पसिना बग्ने हुँदा वा पानी कम भएर शरीरमा ‘डिहाइड्रेशन’ हुने हुँदा यस्ता कुरामा ध्यान पुर्‍याउन अत्यन्तै आवश्यक हुन्छ। मुटुलाई स्वस्थ राख्न यस्ता कुरालाई ‘म्यानेज’ गर्नुपर्छ।

मुटुका स्वस्थ राख्नका लागि के गर्नु पर्छ?

मुटु स्वस्थ राख्नका लागि स्वस्थकर खानपिनले महत्वपूर्ण भूमिका खेल्ने गर्छ। चिल्लो कम गर्नुपर्छ, नुनको प्रयोग कम गर्ने, जे पायो त्यही नखाने गर्ने हो भने मुटुलाई केही हदसम्म स्वस्थ राख्न सकिन्छ।

त्यस्तै गरी व्यायम गर्न जरुरी हुन्छ। र सबै भन्दा महत्पूर्ण कुरा धुम्रपान तथा मद्यपानको सवेन गर्न बन्द गर्नुपर्छ। अथवा अन्य कुनै रोग छ भने उक्त रोगहरुलाई नियन्त्रणमा राख्नका लागि सही तरीकाले सही समयमा औषधी सेवन गर्नुपर्छ।

माघ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्