माटो अभावमा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित

फाइल फोटो

पर्सा-नजिकिँदै गएको सरस्वती पूजाको लागि मूर्ति बनाउन माटोको अभाव भएपछि पर्साको पोखरीया नगरपालिका–९ का कालीगढ शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएकाले चिन्तामा परेका छन्।

पाँच वर्षदेखि मूर्ति बनाएर जीविकोपार्जन गर्दै आउनुभएका महतो माग अत्यधिक भए पनि मूर्ति बनाउने माटोको अभावले यसपालि धेरै मूर्ति बनाउन नसकिने भएकाले व्यापार घट्ने चिन्तामा परेका हुन। पर्याप्त माटो नहुँदा मागअनुसार मूर्ति बनाउन नसकिएको हो । महतोले भने, ‘एक त माटो पाइँदैन, अर्कोतिर माटो पाए पनि जग्गाधनीले प्रतिट्र्याक्टर करिब ६०० का दरले रकम लिएकाले यसपालि थोरै मूर्ति बनाइएको हो।’

विगत वर्षमा यो मौसममा मूर्ति बनाएरै लाखौँ रुपैयाँ आम्दानी गरे पनि यसपालि किसानले खेतमा समयमै गहुँ छरेकाले राम्रो र सोचेजस्तो माटो नपाउँदा यो अवस्था आएको परवानीपुरमा मूर्ति बनाइरहनुभएका शिवलखन महतोको गुनासो छ।

अहिले पर्साका विभिन्न ठाउँमा कालीगढले सडक छेउ, दलान, घरआँगनमा मूर्ति बनाउन कस्सिएका कालीगढको सङ्ख्या बढ्दै गएपछि यो व्यवसायले सोचेजस्तो आर्थिक लाभ दिन नसकेको जानकी टोलमा मूर्ति बनाइरहनुभएका रमेश पण्डितले बताए।

भावना र कलाको संयोजनले काँचो माटो र पराललाई मिसाएर ईश्वरको रुप दिएर व्यवसाय गर्दै आएका पुराना पुस्ताले यो व्यवसायप्रति आकर्षण देखाउन सकेका छैनन्।

युवापुस्ता वैदेशिक रोजगारमा जाने होडबाजीका कारण यो व्यवसाय प्रभावित हुँदै गएकोमा पछिल्लो पुस्ताले चिन्ता व्यक्त गरेका छन् । अहिलेका युवा माटो, पराल छुन घिन मान्ने भएकाले यो व्यवसायप्रति युवा पुस्ताको आकर्षण घट्न थालेको हो।

श्रीमद्भागवत गीताका अनुसार भगवान् श्रीकृष्णको जिब्रोको अग्रभागबाट माता सरस्वतीको उत्पत्ति भएको हो । सरस्वतीको सेतोवर्ण ज्योतिर्मय ब्रह्मको प्रतीक मानिन्छ।

सरस्वतीको आशिर्वाद बिना यो विद्या प्राप्त गर्न सकिँदैन भन्ने विश्वास छ। शास्त्रले भन्छ, माता सरस्वतीकै कृपाले कालिदास, महर्षि वाल्मीकी आदिलाई कविको उपाधि प्राप्त भएको भियो।

आउँदो माघ पञ्चमीको दिनअर्थात् बिहीबार श्रीपचञ्मी (सरस्वती पूजा) पर्ने भएकाले बुधबारसम्म सबै मूर्ति दिई सक्नुपर्ने छ। लामो समयदेखि हुस्सु र शीतलहरको कारण मौसमको खराबीले घाम उदाउन नसक्दा कालीगढलाई मूर्ति सुकाउन समस्या भएको छ। प्रविधिले विकास गर्दै गए पनि मूर्ति पूजाको आस्थामा भने कमी नआए पनि यो व्यवसायको भविष्य भने उज्जवल रहेको कालीगढको भनाइ छ।

विद्याको देवी सरस्वतीको मूर्ति बनाउने अधिकांश कालीगढ निरक्षर रहेको पाइएको छ। कतिपय कालीगढ मूर्ति बनाउने व्यवसायबाट भएको आम्दानीले आफ्नो छोराछोरीलाई पढाउने गर्दछन्।

धर्मशास्त्रमा आधा, गिरा, श्री, ईश्वर, भारती, ब्राम्ही, भाषा, महाश्वेता, वाक, वाणी, वागिरा, विद्यात्री, बागीश्वरी, वीणापाणी, शारदा, पुस्तकधारिणी, जगदव्यापीनी, हारिमहाविद्या र धिश्वरी यी नामले सरस्वतीको उच्चारण गरिन्छ। स्वर्ग, पृथ्वी र अन्तरिक्ष गरी सरस्वतीको तीन स्थान रहेको छ।

स्वर्गकी बाग्देवीको नाम भारती, पृथ्वीको बाग्देवीको नाम इला र अन्तरिक्षकी बाग्देवीको नाम सरस्वती रहेको छ।ऋग्वेदमा बाग्देवीको नाम सरस्वती भनेर उल्लेख गरिएको छ। ताल, स्वर, लय, राग, रागिनी आदिको प्रादुर्भाव सरस्वतीबाटै भएकाले सात प्रकारको स्वरले माता सरस्वतीको स्मरण गर्ने परम्परा रहिआएको छ।

बुद्धि, ज्ञान र विद्याका रुपमा सारा संसारमा आफ्नो कृपाले प्रकाश फैलाउने सरस्वतीलाई श्रीपञ्चमीको दिन विद्यार्थीले माता सरस्वतीको रुपमा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ। वीरेन्द्र कर्ण/रासस

माघ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्