प्रदेश-२ मा शतप्रतिशत मतदान, सर्वदलीय बैठकपछि मतगणना हुने

जनकपुरधाम- प्रदेश-२ मा राष्ट्रियसभाको निर्वाचनमा शतप्रतिशत मतदान भएको छ।

प्रदेश-२ मा विभिन्‍न चार समूहको लागि भएको निर्वाचनमा शतप्रतिशत मतदान भएको निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए। मतदान सम्पन्न भएपछि अहिले सर्वदलिय बैठक बसिरहेको छ।

सर्वदलिय बैठक सम्पन्न भएपछि मतगणना शुरु हुने निर्वाचन अधिकृत खतिवडाले जानकारी दिए।प्रदेश २ मा नेकपा–राजपा गठबन्धन र काँग्रेस–सामाजवादीको गठबन्धन चुनावी प्रतिस्पर्धामा रहेको छ।

निर्वाचनमा महिला समूह अन्तर्गत एक पदका लागि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली काँग्रेसको तर्फबाट नगिना यादव चुनावी प्रतिस्पर्धामा रहेकी छिन् भने दलित तर्फबाट नेपाल कम्युनिष्ट पार्टीका राधेश्याम पासवान र समाजवादी पार्टीका रामपृत पासवान प्रतिष्पर्धामा छन्।

त्यस्तै, अल्पसंख्यक समूह अन्तर्गत नेपाली काँग्रेसबाट भोला पञ्जियार र राजपाबाट शेखरकुमार सिंह प्रतिस्पर्धामा रहेका छन् भने अन्य समूहतर्फ दाजुभाई समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंह चुनावी मैदानमा छन्।

माघ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्