अदालतमा मुद्दाको सुनुवाइ चलिरहँदा ‘सिद्धबाबा’ गिरी भारततर्फ

मोरङ-जबरजस्ती करणीको मुद्दाको सुनुवाई चलिरहँदा ‘सिद्धबाबा’ कृष्णबहादुर गिरी भारततर्फ हिँडेका छन्।

बिहीबार विराटनगरस्थित उच्च अदालतमा बलात्कार आरोपी गिरीको सुनुवाई चलिरहँदा उनी भारततर्फ लागेका हुन्। विराटनगर सीमावर्ती नाका जोगबनीबाट नीजि सुरक्षाकर्मीलाई फर्काएर उनी बाहिरिएका हुन्।

उनी ग १ च ८१५७ नम्बरको गाडी चढेर भारततर्फ लागेको बताइएको छ। उनका एक अनुयायीका अनुसार केही निकट समर्थकलाई साथमा लिएर आश्रम रहेको सुनसरीको चतराबाट गिरी उच्च अदालतका लागि हिँडेका थिए।

यद्य‌पि उनी अदालत नपुगी दिउँसो १ बजे सिधै जोगबनीतर्फ लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले जानकारी दिए।

उनका निकटस्थका अनुसार स्वास्थ्य उपचारका लागि गिरी भारतको राजधानी दिल्लीतर्फ गएका हुन्। यसअघि गतसाता पनि उनी स्वास्थ्य उपचारका लागि दिल्ली पुगेको बताइएको छ। त्यसकै ‘फलोअप’का लागि गिरी पुनः त्यसतर्फ गएको अनुयायीको भनाइ छ।

मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद बगालेको इजलासमा पेसी चढेको मुद्दाको सुनुवाई बिहीबार जारी रहेका बेला उनी भारत जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ।

गत बिहीबार नै पेसी तोकिएको मुद्दाको सुनुवाई बलात्कार पीडित भनिएकी महिलाका कानुन व्यवसायीले हटाएपछि स्थगित भएको थियो।

गिरीमाथि आफ्नै अनुयायीलाई गत कार्तिक ४ गते बलात्कार गरेको आरोप रहेको छ। पीडित महिलाले उनीविरुद्ध किटानी जाहेरी दिएसँगै मंसिर १६ जिल्ला प्रहरी सुनसरीले गिरीलाई पक्राउ गरेको थियो।

सोही क्रममा जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासमा धरौटी वापतको तीन लाख रुपैयाँ बुझाएर पुस १४ गते उनी छुटेका थिए। त्यसपछि मुद्दा उच्चमा पुगेको थियो ।

माघ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्