प्रदेश-१ मा ८० प्रतिशत मतदान, मतगणना आजै हुने

मोरङ-राष्ट्रियसभा सदस्यका लागि प्रदेश एकमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्‍न भएको छ।

राजधानी विराटनगरको वीरेन्द्र सभागृहमा बिहीबार विहानबाट सुरु भएको मतदान कार्य दिउँसो सम्पन्न भएको हो। सो क्रममा प्रदेश एकका स्थानीय तहका प्रमुख-उपप्रमुख तथा प्रदेश सांसदहरुले मत खसालेको निर्वाचन आयोगले जनाएको छ।

मतदानका क्रममा सभागृहको तल्लो तल्लामा अवस्थित मतदान केन्द्र ‘क’ मा प्रदेश सांसदहरुले मतदान गरेका छन्।

प्रदेश एकमा ९३ जना सांसद रहेकाछन्। त्यसैगरि, ९३ जना सांसद मध्ये नेकपाबाट ६७ जना, प्रतिपक्षी दल कांग्रेसबाट २१, समाजवादी पार्टी नेपालबाट ३, राजपा र संघीय लिम्बूवानबाट समान १ जनाले मतदानमा सहभागिता जनाएका थिए।

कांग्रेसका प्रदेश सभा सचेतक सूयर्माराज राईले मतदानका शान्त वातावरणमा सम्पन्न भएको र लोकतन्त्र रक्षाका लागि एकभएर मतदान प्रक्रियामा सहभागिता जनाएको बताए।

त्यसैगरी, मतदानमा प्रदेश एकका १ सय ३७ स्थानीय तहबाट प्रमुख तथा उपप्रमुख गरि कुल २ सय ७४ जनाले सभागृहको माथिल्लो तल्ला ‘ख’ मा मतदान गरेकाछन्।

झापा गौरादहका मेयर रोहित साहले लोकतन्त्र रक्षाका लागि मतदान गरेको बताए। आफूहरुको मतले राष्ट्रियसभाका उम्मेदवारलाई जिताउने विश्वास रहेको बताएका साहले काम गर्ने ब्यक्तिलाई चयन गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय सभा सदस्यकालागि प्रदेशएकबाट नेकपा, कांग्रेस र समाजवादी पार्टीका ९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेकपाको तर्फबाट दलिततर्फ पूर्वराज्यमन्त्री गोपी अछामी, महिलातर्फ इन्दिरादेवी गौतम र खुल्लातर्फ देवेन्द्र दाहालले उम्मेवारी छ ।

त्यसैगरि, कांग्रेसबाट महिलातर्फ मिना पुलामी, दलिततर्फबाट निरबहादुर विश्वकर्मा र खुल्लातर्फ राजेन्द्र घिमिरेले उम्मेदवारी रहेको छ। समाजवादी पार्टी नेपालबाट दलितमा ज्ञानकुमार परियार, महिलातर्फ सदिना खातुन र खुल्लामा भरतराज दाहालले उम्मेदवार प्रस्तुत गरेको छ।

प्रदेश एकमा यसअघि नेपाली कांग्रेसका सरिता प्रसाई, नेकपाका खेम नेपाली र हरिचरण शिवाकोटी रहेका थिए। गोलाप्रथामा दुईवर्षे कार्यकाल सम्पन्न भएसंगै बिहीबार निर्वाचन भएको हो।

माघ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्