एमसीसी फेल गराएर परराष्ट्रमन्त्रीले राजीनामा दिनुपर्छ: बिजुक्छें

नारायणमान बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लाई संसदले फेल गर्नुपर्ने बताएका छन्।

सत्तारुढ नेकपाभित्रै एमसीसीको चर्को विरोध भइरहेका बेला पाका कम्युनिष्ट नेता बिजुक्छेंले देख्दा आर्थिक सहयोग भए पनि एमसीसी परियोजनाभित्र अमेरिकाको सैन्य स्वार्थ लुकेकाले संसदले अनुमोदन गर्न नहुने जिकिर गरेका हुन्।

बिहीबार भक्तपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै बिजुक्छेंले संसदमा एमसिसी फेल गराएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहीँबाट राजीनामा घोषणा गरेर देशलाई निकास दिनु उत्तम हुने बताएका हुन्।

उनले भने, ‘एमसिसी अनुमोदन भयो भने देशलाई फाइदा गर्दैन। देश बचाउने एउटै उपाय भनेको संसदमा फेल गराएर त्यहीँ परराष्ट्रमन्त्रीले राजीनामा दिनु नै हो।’

बिजुक्छेंले अमेरिकाले बिजुलीको ट्रान्समिसन र सडकमा खर्च गर्न पैसा दिने भने पनि त्यो उसको चालबाजी मात्र भएको र सैनिक स्वार्थ पूरा गर्न सहयोगको घोषणा गरेको उनको दाबी थियो।

एमसीसीमा पाँच वर्षभित्र खर्च गर्ने गरी अमेरिकाले ५५ अर्ब सहयोग गर्ने र त्यसमा अमेरिकाले १४ अर्ब थप्ने प्रस्ताव छ। उक्त सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभामा दर्ता भएको छ।

बिजुक्छेंले अमेरिकाले पाँच वर्षमा दिने ५५ अर्ब देशका लागि ठूलो रकम नभएको दाबी गरे। ‘त्यति रकम त नेपालबाट अमेरिका पढ्न जाने विद्यार्थीले नै उसलाई बुझाउँछन्। त्यो लोभमा नपरौँ’, उनले भने।

उनले केपी ओली नेतृत्वको सरकारको दुई वर्षे कार्यकाल सन्तोषजनक नभएको समेत मूल्यांकन गरे।

प्रधानमन्त्रीले काम गर्ने कोसिस गरे पनि पर्याप्त नभएको बिजुक्छेंले उल्लेख गरे। ‘कोसिस गरिरहनुभएको छ। तर जसरी काम गर्नुपर्ने हो। त्यसरी काम गर्न सक्नुभएको छैन’, उनले भने।

माघ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू