‘सिद्धबाबा’लाई थुनामै राख्‍न उच्च अदालतको आदेश

मोरङ– बलात्कारका आरोपी ‘सिद्धबाबा’ कृष्णबहादुर गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न उच्च अदालत विराटनगरले बिहीबार आदेश दिएको छ।

जिल्ला अदालत सुनसरीले गत पुष १४ गते तीन लाख रुपैयाँ धरौटीमा छाड्न दिएको आदेशलाई बदर गर्दै उच्चले गिरीलाई जबरजस्ती करणी मुद्दामा थुनामा राख्न आदेश दिएको हो।

उच्च अदालतका रजिष्टार जितेन्द्रबाबु थपलियाले गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश भएको जानकारी दिए। यससँगै सुनसरी जिल्लाले दिएको थुनामुक्तको आदेश बदर भएको उनले बताए। उच्चका मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले गिरीलाई थुनामा राख्न आदेश भएको थपलियाको भनाइ छ।

सुनसरी जिल्ला अदालतले यसअघि थुनामुक्तको आदेश गरेसँगै सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए। अर्कोतर्फ गिरीले साधारण तारेखमा मुद्दाको पुर्पक्ष माग गर्दै निवेदन दिएका थिए।

गिरी भने उच्चमा सुनुवाई भइरहेको अवस्थामा दिउँसो नै सीमावर्ती क्षेत्र जोगबनी हुँदै भारतकाे राजधानी दिल्लीतर्फ हिँडिसकेका छन्। आफ्ना नीजि सुरक्षाकर्मीलाई सीमाबाटै फर्काएर गिरी केही समर्थकका साथमा ग १ च ८१५७ नम्बरको गाडीमा भारत लागेका हुन्।

उच्च अदालतका लागि भनेर सुनसरीस्थित चतरा आश्रमबाट बिहानै विराटनगर आएका गिरी सिधै जोगबनीतर्फ गएका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्ष लोकदर्शन थापाले दिउँसो करिब १ बजे सुरक्षाकर्मीलाई सीमामै छाडेर उनी भारततर्फ गएको पाइएको बताए। उच्चको निर्णय आउनुपूर्व निकटस्थ वकिलकै सल्लाहमा उनी त्यसतर्फ गएको बताइएको छ।

उनका अनुयायीहरुले स्वास्थ्य परिक्षणका लागि दिल्ली हिडेको बताउँदै गर्दा अदालतको निर्णयपूर्व भारत हिड्नुलाई अर्थपूर्ण रुपमा हेरिएको उनीहरु बताँउछन्।

सुनसरीको चतराधामस्थित आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक २९ वर्षीया महिला अनुयायीले दिएपछि गिरीलाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो।

त्यसलगत्तै मंसिर १२ गते उनी उपचारका लागि विराटनगरस्थित विराटनगर अस्पतालमा भर्ना भएका थिए। सो क्रममा ३८ दिनसम्म अस्पताल बसाईका क्रममा उनले छाती, मुटु, प्रोस्टेट र पत्थरीको समस्या रहेको बताएका थिए।

माघ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्