वाग्मती प्रदेशमा भाेलि सार्वजनिक बिदा

काठमाडौँ– वाग्मती प्रदेश सरकारले शुक्रबार (माघ १० गते) प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ। तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सूचना जारी गर्दै प्रदेश सरकारको गत पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सो दिन सार्वजनिक बिदा दिइएको जनाएको छ।

प्रदेश सरकारले बिदा घोषणा गरेकाले प्रदेशभर छुट्टी हुने वाग्मती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले जानकारी दिए। काठमाडौँ उपत्यकाका हकमा भने केन्द्र सरकारको राजपत्रानुसार हुने उनले बताए।

गृह मन्त्रालयले गत वैशाखमा प्रकाशन गरेको राजपत्र अनुसार प्रदेश सरकारले बिदा दिँदा आफ्नो प्रदेशभित्रका केन्द्र मातहतका कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय, शिक्षालय, उद्योगधन्दा बन्द रहनेछन्।

केन्द्र सरकारले प्रदेश सरकारलाई बढीमा एक वर्षमा ६ दिन बिदा दिन पाउने अख्तियारी दिएको छ। सोही अख्तियारी अनुसार प्रदेश सरकारले आफ्नो प्रदेशका महत्वपूर्ण धार्मिक, जातीय र सांस्कृतिक चाडपर्व अदिमा आवश्यकता हेरी बढीमा ६ दिनसम्म बिदा दिन पाउने व्यवस्था छ। ६ दिनभन्दा बढी बिदामा भने केन्द्र मातहतका कार्यालयलाई गृह मन्त्रालयको निर्णय लागु हुनेछ।

राजपत्र अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लाका केन्द्र मातहतका कार्यालयलाई भने प्रदेश सरकारको बिदा लागू हुने छैन। उक्त राजपत्रको खण्ड ‘ग’मा काठमाडौँ उपत्यकाका तीन जिल्लामा प्रदेश सरकारले दिएको बिदा नेपाल सरकार, गृह मन्त्रालयको निर्णय अनुसार हुनेछ भनी उल्लेख गरिएको छ।

काठमाडौँमा बिदा हुन्छः कानुनमन्त्री

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले माघ १० गते प्रदेशका १३ वटै जिल्लाका सरकारी तथा सार्वजनिक निकायमा बिदा हुने बताएका हुन्। मन्त्री जम्कट्टेलले काठमाडौँ उपत्यका पनि वाग्मती प्रदेशकै हिस्सा भएकाले त्यहाँ बिदा नहुने भन्ने भनाइ गलत भएको स्पष्ट पारे।

उनले प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ल्होछार (ल्हासार) का अवसरमा यही शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने भनी गरेको निर्णय अनिवार्य लागू हुने बताए।

‘यो वा त्यो जिल्ला होइन, प्रदेशका १३ वटै जिल्लामा बिदा हुन्छ, उपत्यका (काठमाडौँ) पनि वाग्मती प्रदेशभित्रै पर्छ’, उनले भने।

माघ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्