सम्झनामा तारादेवी

रवि भन्छन्,‘आमाले गाएको गीत कतै बज्याे भने नसकिउञ्जेल टक्क अडिएर सुन्छु’

राष्ट्रिय सभागृहको हलमा आवाज गुञ्जिरहेको छ,

उकाली ओरालीहरुमा, भञ्ज्याङ अनि चौतारीहरुमा
सुन्दर ती दहहरुमा, हिमालका विशाल छातीहरुमा
जहाँ जहाँ जान्छौ तिमी, म छायाँ बनि पछ्याइरहन्छु ।

स्टेजमा कार्यक्रम सञ्चालक दीपक समीर यता र उता गरिरहेका छन्। केही मानिस भ्वाइलिन, गीतार, तबला लगायत ‘इन्स्टुमेन्ट्स’को तार मिलाउँदै थिए। स्टेजको भित्तामा ठूलो पोस्टर छ। पोस्टरमा मन्द मुस्कानमा तारादेवी श्यामश्वेत देखिएकी थिइन्। आडैमा लेखिएको थियो, ‘सम्झनामा तारादेवी’

सभाहलको पाँचौ रोमा सेतो कोट लगाएर बसिरहेका थिए, ‘रवि श्रेष्ठ’ तारादेवीका कान्छो छोरा।

उद्घोषकले तारादेवीले नेपाली संगीत क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरिरहँदा रवि मोबाइलको क्यामरा झिक्न थाले, घरी उद्घोषक त घरी दर्शक दिर्घामा मोबाइल घुमाउन थाले।

 तारादेवी स्मृति फाउण्डेशनले आयोजना गरेको कार्यक्रम ‘सम्झनामा तारादेवी’ मा सयौँ दर्शकसँगै उनी पनि उपस्थित थिए। अरुको लागि ‘स्वरकिन्नरी तारादेवी’ पहिचान भएकी उनी रविकी आमा थिइन्।

उनले आमा गायिका हुन् भनेर चिनेको रेडियो नेपाल सुनेर हो। सभाहल बाहिर रविले आमाको सम्झना सुनाउँदै भने, ‘घरमा आमा नभएको बेलामा खोज्दा बाबाले रेडियो अन गरेर ‘यहाँ छ आमा’ भनेर बजाउनुहुन्थ्यो।’

आमाको आवाज उनले चिन्थे चिन्थेनन् उनलाई पनि याद छैन, तर सानो रेडियोमा भित्र भएकी आमालाई बाहिर निकाल्न उनले दाईसँग मिलेर रेडियो खोलेका थिए।

रेडियो भताभुङ्ग पारेपछि आमा भेटेनन् बरु बाबुको गाली नराम्ररी खाए किनकी खोलेको रेडियोलाई फेरि पहिलेकाे जस्ताे बनाउन उनीहरुलाई आएन अनि रेडियो बिग्रियो।

यसरी आमाको नाम र कामसँग परिचित भएका श्रेष्ठले कहिले पनि गीत गाएनन्।

‘मैले गीत गाउँदा स्वर राम्रो लागेन अनि मैले कहिले पनि गाइनँ’, श्रेष्ठले भने, ‘आमाले पनि कहिले पनि मलाई यो क्षेत्रमा आउन प्रोत्साहन गर्नु भएन।’

सात वर्षको उमेरदेखि गाउन सुरु गरेकी तारादेवीले रवि जन्मिदासम्म चर्चाको चुलिमा पुगिसकेकी थिइन्, संगीत पढेकी थिइन् तर आफ्ना सन्तानलाई उनले हौसला दिइनन्। किन ?

‘आमाले गीत गाउनेको टाउकोमा छत हुँदैन भन्नुहुन्थ्यो’, श्रेष्ठ भन्छन्, ‘मान्छेले मलाई यत्रो गायिकाको छोरा भएर एउटा गीत गाउन सिक्नुपर्छ नि भन्छन्। तर म उहाँहरुलाई जवाफ दिन्छु, ‘तपाई सही हुनुहुन्छ तर मेरो बाबा विमान चालक हुनुहुन्थ्यो। म बाबालाई पछ्याउँछु। छोराछोरीले बाबु र आमा मध्ये एक जनालाई त हो पछ्याउने।

रवि विमान चालक भए। ‘मान्छेलाई बुझाउन गाह्राे छ, मैले बाको बिडो थामेको छु।’

उनलाई आमाको पहिचान बाबाको भन्दा धेरै छ।

रवि भन्छन्, ‘आमालाई सम्झन मलाई स्मृति दिवस चाहिँदैन, म हरेक दिन उहाँलाई सम्झन्छु। तर उहाँ नभएपछि उहाँले गाएको गीत बजेको छ भने नसक्कुलजेल टक्क अडिएर सुन्छु।’

स्मृति दिवस आएपछि जब समाजमा आमाको धेरै खोजी हुन्छ तब उनी आमाका पुराना क्यासेट खोज्छन्। २०७२ साल माघ २ गते आमाको सम्झनाको लागि ‘तारादेवी स्मृति प्रतिष्ठान’ को सक्रियताले उनलाई पुराना क्यासेट खोज्न प्रेरणा दियो, जुन उनका बाबा शिवबहादुर श्रेष्ठले रेडियोमा बजेको बेलामा रेकर्ड गरेर बक्सामा संकलन गरेर राखेका थिए।

आमा गायिका भएको अर्को स्मरण पनि उनलाई छ,

‘नाँचघरमा आमाको लाइभ कार्यक्रम थियो। बुवा र म गयौँ। मैले यसो स्टेजमा हेरे, अनि सोधेँ–बुवा यो मेरो साँच्चिकै ममी हो की अरु नै हो ?’’
यसरी आमाको काम बुझेका रविले आमा गुमाएको १४ वर्ष भयो।

तर तारादेवी उकाली ओराली, डाँडा पाँखा र सबैको मनमा बसेकी छन्।

हुन त तारादेवीको जीवनमा पनि कयौँ उकाली ओरालीहरु आए। विशेषगरी २०४७ सालमा उनको रेडियो नेपालको जागिर खोसियो, त्यसको ४ वर्षपछि जेठो छोरालाई ‘ब्लड क्यान्सर’ भयो र उनी बिते।

त्यसपछि २०५५ सालमा उनको श्रीमानकाे हवाई दुर्घटनामा मृत्यु भयो। जीवनको कठिन समय पार गरेकी तारादेवीलाई पछि पार्किन्सनकाे व्यथाले च्याप्यो र उनी २०६२ माघ ९ गते संसारबाट बिदा भइन्।

तारादेवी बिदा भएको दश वर्षपछि तारादेवीको जन्म जयन्तीका दिन ‘तारादेवी फाउण्डेशन स्थापनाको प्रस्ताव राखियो र २०७२ माघ ९ गते संस्था दर्ता भइ पहिलो स्मृति कार्यक्रम भयो। यो संस्थाको संरक्षक भएर रवि आफै काम गरिरहेका छन्।

आज भएको स्मृति दिवसको कार्यक्रममा तारादेवीको पहिलो गुरु भैरवबहादुर थापा, तारादेवीले धेरै काम गरेका किरण खरेल अनि तारादेवीका धेरै गीतमा संगीत भरेका संगीतकार नातिकाजीलाई २५ हजार नगदसहित सम्मान गरियो। यसको आर्थिक भार रवि आफैले उठाए।

कार्यक्रम अवधिभर उनी एकै ठाउँमा थचक्क बसेनन्। दर्शकहरु, कार्यक्रममा आएका विशेष अतिथिहरुको भाव नियालेर बसे। घरी उनी स्टेजमा पुगे, घरी दर्शक दिर्घाको पुछारमा उभिए। सभाहलको गेटमा राखिएको आमाको फोटोसँग आफू पनि बसेर फोटो खिचाए, अरुलाई पनि खिच्न सहयोग गरे।

आमालाई सम्मान गर्दै कार्यक्रममा आएका हरेकलाई श्रद्धापूर्वक नमस्कार गर्छन्। आमालाई सबैको मनमा ब्यूँताउन चाहन्छन् रवि।  र जब जब माघ महिना आउँछ उनको यो  यात्रा निरन्तर रहिरहन्छ तारादेवी फाउण्डेशन मार्फत।

माघ ९, २०७६ मा प्रकाशित