चीनमा कोरोना भाइरसको संक्रमण

नयाँ कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २५, वुहानसहितका शहरमा यातायात बन्द

चीन महामारीको रुप लिएको नयाँ कोरोना भाइरसको संक्रमणबाट माथि उठ्नका लागि कठीन प्रयासमा छ ।

हुबेइ प्रान्तमा नयाँ कोरोना भाइरसको संक्रमण महामारीको रुपमा फैर्लिएको छ । हालसम्म २५ जनाको मृत्यु भएको चीनका अधिकारीले पुष्टि गरेका छन् ।

हुबेइको वुहानमा गएको डिसेम्बरमा पहिलो पटक देखिएको नयाँ कोरोना भाइरसको संक्रमण हाल चीनका विभिन्न क्षेत्रमा फैलिएको छ । यस्तै अमेरिका, दक्षिण कोरिया तथा थाइल्याण्डसहितका देशमा पनि संक्रमित व्यक्ति भेटिएका छन् ।

संक्रमण फैलिन नदिने प्रयासमा रहेको चीनले वुहान, इझोउ, चिबीसहितका केही शहरमा सार्वजनिक यातायात बन्द गरिएका छन् । चीनमा चन्द्रमास अनुसारको नयाँ वर्षको बिदा सुरु भएको छ ।

चिनियाँहरु नयाँ वर्षको बिदामा यात्राको तयारीमा रहेका बेला भाइरसको संक्रमणले विकराल रुप लिएको छ।

यसले गर्दा बेइजिङ तथा हङकङसहितका क्षेत्रमा नर्या वर्षका अवसरमा गरिने पारिवारिक जमघट रद्द गरिएका छन् । वुहानसहितका हुवेइ प्रान्तका शहरले सार्वजनिक यातायात बन्द गरेका छन् ।

चिनियाँ अधिकारीले शुक्रबार पुष्टि गरेका छन् कि नयाँ कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । यस्तै संक्रमित हुनेको संख्या ८३० पुगेको पुष्टि भएको सरकारी अधिकारीले बताएका छन् । संक्रमणका कारण ज्यान गुमाउनेमा अधिकांश हुवेइ प्रान्तका छन् ।

गएको डिसेम्बरमा वुहानबाटै नयाँ कोरोना भाइरसको संक्रमण सुरु भएको हो । झण्डै ९० लाख मानिसको बसोबास रहेको वुहानमा रहेका बासिन्दालाई त्यहाँबाट अन्यत्र नजान र बाहिर रहेकाहरुलाई तत्काल वुहान नफर्किन भनिएको छ ।

स्वासप्रस्वासमा समस्या हुने, उच्च ज्वरो आउनेसहितका समस्या देखिने नयाँ कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि हुने गरेको पाइएको छ ।

तत्कालका लागि नयाँ कोरोना भाइरसको नाम २०१९–एनकोभी राखिएको छ । हालसम्म कोरोना भाइरसको समूहमा ६ प्रकारका भाइरस थिए । अब सात प्रकारका भाइरस भएका छन् ।

माघ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू